बालबालिकाको दाँतको स्वास्थमाथि गम्भीर विमर्श गर्ने ‘गहभरि आँसु’ मा अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु कार्कीलगायतको अभिनय छ ।
What you should know
काठमाडौँ — सुप्रसिद्ध बाल गीतकार, साहित्यकार रामबाबु सुवेदी लिखित बालगीत ‘गहभरि आँसु’ (डीप टियर्स) मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
कार्यक्रममा रामबाबु सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, पत्रकार/लेखक दीपक सापकोटा, डा. बुद्धिमान श्रेष्ठ, डा. रवीन्द्रमान श्रेष्ठ, प्रा.डा सन्ध्या श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु कार्की, कवि रेणु अधिकारी, साउन्ड इन्जिनियर प्रकाश खरेलले संयुक्त रूपमा ‘गहभरि आँसु’ सार्वजनिक गरेका थिए ।
बालबालिकाको दाँतको स्वास्थमाथि गम्भीर विमर्श गर्ने ‘गहभरि आँसु’ लोकार्पणमा कान्तिपुर डेन्टल कलेजमा ‘डेन्टल हेल्थ’ पढिरहेका विद्यार्थी, डाक्टर र शिक्षकले पनि दाँतका समस्यामाथि आफ्ना विचार प्रस्तुत गरे ।
‘गहभरि आँसु’ मा अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु कार्कीलगायतको अभिनय छ ।
अभिनेत्री सुरक्षा पन्तले ‘गहभरि आँसु’ बालगीतमा आफ्नो अभिनय अनुभव सुनाइन् । ‘बालबालिकाका स–साना खुसी र दुःखलाई नजिकैबाट अनुभूत गर्न पाएँ,’ उनले भनिन् ।
धनप्रसाद सुवेदीले बालबालिकाका विषयमाथि धेरै फिल्म बन्नुपर्ने र तिनले बालबालिकाको समस्या पहिचान गर्नुपर्ने विचार व्यक्त गरे । ‘यस्ता फिल्मले बालबालिकाको दुःख बुझ्न सहयोग गर्नेछ,’ उनले भने ।
पत्रकार दीपक सापकोटाले बालबालिकाका समस्या बुझेर, तिनको स्वास्थ्यमाथि बहस–विमर्श हुनुले स्वस्थ्य समाज निर्माण गर्न सहयोग गर्ने बताए । ‘यो गीति फिल्मले बालबालिकालाई आफ्नो स्वास्थ्यमाथि सोच्न, आफू कसरी निरोगी रहने ? त्यो ख्याल गर्न र स्वास्थ्य कसरी ठिकठाक राख्ने भन्ने विषयमा गम्भीर हुन प्रेरित गर्छ,’ सापकोटाले भने ।
किताब चरो नेपालद्वारा सञ्चालित बालगीत परियोजनाअन्तर्गत कान्तिपुर डेन्टल कलेजको सहकार्यमा निर्माण भएको गीति–फिल्म ‘गहभरि आँसु’ लाई गायिका बबिना भट्टराई र सुप्रिमा थापाले गाएकी हुन् भने निर्देशक आचार्य गोपालले निर्देशन गरेका हुन् ।
‘बालबालिकालाई प्रेम गरे मात्रै सुन्दर समाज निर्माण हुनेछ, त्यसैले म उनीहरूकै विषयमा गीत लेख्न रुचाउँछु,’ रामबाबु सुवेदीले भने ।
बालबालिकाका विषयमा यसअघि नै डकुमेन्ट्री, सर्ट–फिल्म निर्देशन गरिसकेका निर्देशक आचार्य गोपाल भन्छन्, ‘बालबालिका माथि लगानी गरे मात्रै र तिनका समस्या पहिचान गरेर काम गरे मात्रै उनीहरूलाई पनि समाजप्रति उत्तरदायी हुन सिकाउँछ, फिल्ममार्फत् उनीहरूकै दुःख–व्यथा देखाउने प्रयत्न गरेका छौं ।’
