अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा १२ देशका ५० कलाकार

भारत, बंगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, यूके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकार नाट्य प्रस्तुतिका लागि नेपाल आइपुगेका थिए ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

50 artists from 12 countries at International Children's Drama Festival

What you should know

काठमाडौँ — १२ देशका कलाकार सम्मिलित ‘लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’को पाँचौ संस्करण सम्पन्न भएको छ । महोत्सवमा ५० कलाकार सहभागी थिए । 

महोत्सव निर्देशक एवं रंगकर्मी टंक चौलागाईले थरीथरीका फूलले बगैंचा सुन्दर देखिएझैं विभिन्न देशका कलाकार एकसाथ एकै मञ्चमा देखिएको बताए । ‘आ-आफ्ना देशका भेषभूषा, झन्डासहित एकसाथ एकैठाउँमा देखिँदा थरीथरीका फूल फुलेको बचैँचाजस्तो देखियो,’ उनले भने । 

महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, यूके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकार नाट्य प्रस्तुतिका लागि नेपाल आइपुगेका थिए । विभिन्न देशबाट सहभागी कलाकारले आफ्नै भाषा र संस्कृतिका नाटक प्रस्तुत गरेका हुन् । 

महोत्सवको पहिलो दिन (कात्तिक १७) मा इम्पेरियल वर्ल्ड स्कुल परिसरमा उद्घाटनसँगै चार नाटक देखाइए ।यूकेको ‘एब्स्ट्रयाक किड्स’को प्रस्तुति साना बालबालिका लक्षित थियो । महोत्सवमा यो नाटक पाँच पटक मञ्चन भयो । 

उद्घाटन समारोहमा प्रमुख अतिथि बुढानिलकण्ठ महानगरपालिककी उपमेयर अनिता लामा, संगीत नाट्य एकेडेमीका पूर्वउपकुलपति हरिहर शर्मा, प्राडा अभि सुवेदी, अतिथिहरु रङ्गकर्मी आकांक्षा कार्की, प्रभाकर न्यौपाने, राम केसी, मन्जु गिरी,  लगायत सहभागी थिए । 

दोस्रो दिन यूकेको प्रस्तुति ‘एब्स्ट्रेक शो ’लाई त दर्शकले अत्यधिक रुचाइदिए । त्यस्तै, इरानी प्रस्तुति ‘इम्प्याथी’ले प्रशंसा बटुल्यो ।

तेस्रो दिन श्रीलंकाको रेड एप्पल थिएटर इन्टरनेसनल ग्यादरिङको नाटक ‘चकलेट बिस्कुट’ मञ्चन भयो । जोय हाउस कलेक्टिभ नेपालबाट ‘माछाको रङ्गिन सपना’ मञ्चन भयो  । यी दुई नाटकलाई पनि उपस्थित दर्शक, बालबालिका र उनीहरुका अभिभावकले रुचाइदिए । 

महोत्सवको चौथो दिन नेपालबाट भ्याली भ्यु स्कुलको नाटक ‘इच्छा भर्सेज समय’ र चेक रिपब्लिकको नाटक मञ्चन भयो । महोत्सवको अन्तिम (पाँचौं) दिन भारत र स्लोभाकियाका नाटक मञ्चन भए । बालनाटकको अग्रणी संस्था लालाबालाले यो महोत्सवलाई हरेक वर्ष आयोजना गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully