खेमराज सम्झिएर तुम्लिङटारमा सांगीतिक उत्सव

रचना रिमालले ‘बल्छी काँडै’, ‘ऐना दर्पणमा’ लगायत आधा दर्जन हिट गीत प्रस्तुत गर्दै दर्शकको मन जितिन् ।

कार्तिक २२, २०८२

दीपेन्द्र शाक्य

Music festival in Tumlingtar in memory of Khemraj

What you should know

संखुवासभा — खाँदबारी नगरपालिका–९, तुम्लिङटारको ऐतिहासिक शुक्रबारे हटिया परिसर शुक्रबार साँझ गीतसंगीतले गुञ्जायमान बन्यो । 'खेमराज स्मृति साँझ–२०८२' का अवसरमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकार एउटै मञ्चमा आउँदा सांगीतिक माहोल तातिएकाे थियाे ।

तुम्लिङटार स्पोर्टिङ क्लबको आयोजना रहेको कार्यक्रममा डेढ दर्जनभन्दा बढी चर्चित तथा स्थानीय कलाकारले मञ्च तताउँदा उपस्थित दर्शक उत्साहमा ताली, नाच र जयजयकारमा रमाएका देखिन्थे ।

कार्यक्रमको मुख्य आकर्षण थिइन् लोकप्रिय गायिका रचना रिमाल, जसले ‘बल्छी काँडै’, ‘ऐना दर्पणमा’ लगायत आधा दर्जन हिट गीत प्रस्तुत गर्दै दर्शकको मन जितिन् । उनको प्रस्तुति सुरू हुँदै कार्यक्रम स्थल ताली र हुटिङले गुञ्जियाे । लोकगायक कमलीकान्त भेटुवालले ‘झम्के गुलेली’ गाएर मञ्च झनै ताताए ।

साथमा स्थानीय प्रतिभाहरूको जोस र प्रस्तुति पनि कम थिएन । उमाङ लामा, सुरेन्द्र पुलामी, टीका मगर, विराट तामाङ, दखिन राई, अपन श्रेष्ठ, नविन दाहाल, सुनिता तामाङ, सुशान्त मगर, यमकुमार घिमिरे, पासाङ घिसिङ र मनिश गदाईली लगायतका कलाकारहरूले निरन्तर आकर्षक प्रस्तुति दिए ।

विशेषगरी, केयर एन्ड द लुङ्गा ब्यान्डको रकफ्युजन प्रस्तुति र विराट तामाङका जोसिला स्टेज एक्सप्रेसनले युवा दर्शकलाई झुमायो ।

साँझ ढल्दै जाँदा मञ्चको प्रकाश र ध्वनिले वातावरणलाई झनै जादुमय बनाएको थियो । दर्शकहरू मोबाइलका फ्ल्यास बालेर आफ्नो मनपर्ने कलाकारसँग गुनगुनाउँदै देखिन्थे ।

यो वर्षको कार्यक्रम मनकामना एकादशी मेलामा आयोजना गर्ने तयारी गरिएको थियो, तर लगातारको वर्षा र प्रतिकूल मौसमका कारण समय सारेर शुक्रबार आयोजना गरिएको हो । 

स्व. गायक खेमराज गुरुङले नेपाली संगीत, संस्कृति र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम आयोजना गरिने आयोजक क्लबका अध्यक्ष देवेन्द्र घिमिरेले बताए ।

दीपेन्द्र शाक्य

Link copied successfully