बुटवलको ‘भाइरल भैलो’

भैलो कार्यक्रमका संयोजक रेशमबाबु खनालले तीन साता लगाएर सदस्यलाई गीत, बाजाको ताल र नृत्य गर्ने तरिका सिकाएको बताए । कलाकार पारङ्गत भएपछि भैलो कार्यक्रम लिएर विभिन्न स्थानमा पुगेको उनले सुनाए ।

कार्तिक १९, २०८२

दीपेन्द्र बडुवाल

Butwal's 'viral Bhailo'

बुटवल — बुटवल–११, देवीनगरस्थित चौतारीमा गत कार्तिक १५ गते एकादशीको साँझ ६ बजे अर्घाखाँची हंसपुर सम्पर्क समाज रूपन्देहीका कलाकार भैलो खेल्न आउने तय थियो । कलाकार आउनुपूर्व देवीनगर चौतारी र आसपास दर्शक भरिसकेका थिए ।

चौतारा, सडक र आसपासका खाली ठाउँ भरिभराउ भएपछि भैलो अवलोकनका लागि स्थानीय नवीन औद्योगिक माध्यमिक विद्यालय र घरका छतमा दर्शक चढेका थिए । दर्शकको भीड छिचोलेर भैलो खेल्नका लागि छुट्याइएको मैदानसम्म पुग्न कलाकारलाई सकस भएको भयो ।

स्थानीयका अनुसार त्यस दिन प्रत्यक्ष रूपमा परम्परागत देउसी/भैलो अवलोकनका लागि १० हजारभन्दा बढी सर्वसाधरण उपस्थित थिए । त्यहाँ प्रदर्शन हुनुपूर्व नै अर्घाखाँची हंसपुर–रूपन्देही सम्पर्क समाजको भैलो सामाजिक सञ्जालमार्फत भाइरल भइसकेको थियो । जिल्लामात्र होइन, मुलुकभरि बुटवलको भाइरल भैलोको चर्चा थियो । त्यसैले देवीनगरको भैलो अवलोकनका लागि गाडी रिजर्व गरेर सर्वसाधारण ओइरिएका थिए । 

देवीनगरमात्र होइन, यसपालि तिहारमा सम्पर्क समाजका कलाकारले कहाँ भैलो खेल्छन् भनेर सोधीखोजी गरिएको देखिन्थ्यो । कलाकारले व्यक्तिको घरभन्दा गाउँ सहरका प्रमुख चोक छनोट गरेर आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रम भैलो भए पनि उनीहरूको प्रस्तुति रंगमञ्चमा नाटक प्रस्तुत गरेजस्तो लाग्थ्यो ।

भैलो कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष रेशमबाबु खनालले तीन साता लगाएर सदस्यलाई नृत्य, बाजाको ताल र नृत्य गर्ने तरिका सिकाएको बताए । कलाकार पारङ्गत भएपछि भैलो कार्यक्रम लिएर विभिन्न स्थानमा पुगेको उनले सुनाए । संस्कृति जगेर्ना गर्ने उद्देश्यले समाजले गत वर्षदेखि देउसी भैलो कार्यक्रम गर्न थालेको हो । ‘पैसा कमाउने उद्देश्यले देउसी खेलेका होइनौं,’ उनले भने, ‘हाम्रो संस्कार, अर्घाखाँचीको पहिचान झल्काउने र नेपालीपन दर्शाउने गीत, नृत्यका साथ देउसी खेलेका हौं ।’

कलाकार जम्मा गरेर नृत्य सिकाउन र उनीहरूलाई दिनरात व्यवस्थापन गरेर कार्यक्रम सफल बनाउने काम सहज नभए पनि संस्कृति पुस्तान्तरण गर्नुपर्छ भन्ने सोचले अभियानमा जुटेको उनले बताए । नृत्य र वाद्यवादनमा गरेर ११ जना कलाकार खटिएको उनले बताए । परम्परागत वेषभूषा झल्किने पोसाकमा मादलुको तालमा नृत्यु गरेका कारण कलाकार लोकप्रिय बनेका थिए । 

व्यवस्थापनको पाटो सहज तुल्याउन समाजका हरेक सदस्यले भूमिका खेलेको खनालले बताए । यस वर्ष सामाजिक सञ्जालमा आफ्नो भैलो भाइरल भएको देख्दा झनै खुसी लागेको उनको भनाइ छ । ‘हामीलाई प्रत्यक्ष अवलोकन गर्न गाडी रिजर्भ गरेर आउनेबाहेक विश्वभरिका नेपालीले सामाजिक सञ्जालमा हाम्रो भैलो हेरेर प्रतिक्रिया दिएपछि झन् हौसला बढ्यो,’ उनले भने, ‘यसले संस्कृतिको जगेर्नाका लागि काम गर्न हौसला मिलेको छ, आगामी वर्ष पृथक् ढंगले देउसी पस्कने छौं ।’ Butwal's 'viral Bhailo'देवीनगर चोकमा गत कार्तिक १५ गते आयोजित देउसीभैलो कार्यक्रम । 

यस वर्ष तयारीमा जुटिरहेका बेला जेन–जी आन्दोलन भएकाले सोचेअनुरूप तयारी गर्न नसकिएको उनको भनाइ छ । ‘एकादशीको दिनसम्म हाम्रो नृत्य मन पराएर धेरै जना हेर्न आउनुहुन्छ भन्ने आंकलन गरेका थियौं, त्यहीअनुसार डिस्प्ले लगाएर देखाउने इच्छा थियो,’ उनले भने, ‘तर भीड देख्दा डर पनि लाग्यो, सम्हाल्नै सकिंदैन कि जस्तो भयो । केही समस्या पो आइपर्छ कि भनेर व्यवस्थापन त्यहीअनुसार गर्न सकिएन ।’

देउसी भैलो कार्यक्रमका लागि गत वर्ष आफूहरूलाई अन्य एक संस्थाले २ लाख रूपैयाँ दिएर नृत्य गरिदिन अनुरोध गरेकामा यस वर्ष आफैंले खेलेर ४ लाख नगद जम्मा भएको उनले बताए । ‘केही रकम समाजको खातामा जम्मा गर्ने र अन्य पैसा कलाकार, साउन्ड सिस्टम, गाडी व्यवस्थापनमा खर्च गरेका छौं,’ उनले भने, ‘कम्तीमा नेपालमा बसेर पढ्दै गरेका, काम गर्दै गरेका हामीले नेपाली संस्कार जोगाउन सके, नेपालको शान उँचो हुन्थ्यो भन्ने लागेर नै यो काम गरेका हौं ।’

यसपालि भैलोमा समूहका कलाकारले ‘शिरै शिरफूल, बहिनीज्यूले माग्छिन् हो, आ बसे माइती राजै म त जान्छु स्वामीको साथ’ भन्ने गीत गाएका थिए । साथै यही गीतमा गरिएको नृत्य धेरैले रुचाएको देखिन्छ । रेशमले बेलबासस्थित आफ्नो डीजीएस नृत्य कला केन्द्रमा कलाकार बोलाएर नृत्य सिकाएका थिए ।

‘भैलोमा नचाचेका भाइबहिनीलाई समेत खाजाखर्च दिएर भए पनि साथै लगेँ,’ उनले भने, ‘भविष्यमा उनीहरूमा संस्कृति जगेर्नाको भाव जागोस् भन्ने उद्देश्य हो ।’ खनाल आफैंले ‘जिन्दगीमा मलाई दुई कुराले ठग्यो, एउटा आफ्नो रूपैले हो अर्को माया’ले लगायतका गीतमा नृत्य गरेका थिए । उनीहरूले प्रस्तुत गरेका नृत्यका भिडियोलाई दर्शकले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सबैभन्दा धेरै टिकटकमा उनीहरूका नृत्य भाइरल छन् । सामाजिक सञ्जालमा देखेपछि बुटवल र आसपासबाट भैलो हेर्न पुग्ने धेरै थिए । 

समूहकी मुख्य कलाकार बुटवल–११, तीनकुनेकी सन्जना अधिकारीले यसपटकको देउसी कार्यक्रम सम्झनलायक बनेको बताइन् । अहिलेसम्म पनि आफूलाई भैलोको प्रस्तुतिलाई लिएर फोन गर्ने, बधाई दिने, भेटेर सँगै फोटो खिच्ने धेरै रहेको बताइन् । ‘मलाई एकदम खुसी लागेको छ,’ उनले भनिन्, ‘त्यो भीड, त्यति धेरै मान्छेमाझ प्रस्तृति राख्न पाउँदा, मौलिकता झल्काउन पाउँदाको क्षण स्मरणीय बनेको छ ।’ 

सन्जना कक्षा १२ उत्तीर्ण विद्यार्थी हुन् । उनका बुबा भारतमा रोजगारी गर्छन् । दाजु दुबईमा छन् । यता आमाले भने छोरीको नृत्य हेर्न जाने, उनलाई खाना पकाएर खुवाउने, राम्रो गर्नुपर्छ भनेर हौसला दिने काम गरिन् । ‘हामीले भैलोमा नृत्य गरेको बाहेकका गीतमा नाच्न मन लाग्दैन,’ उनले भनिन्, ‘हामीले देउसीभैलो मात्र खेलका रहेनछौं, समाजकै लागि उदाहरणीय काम गरेका रहेछौं जस्तो लाग्यो ।’ बाटोमा हिँड्दा, पसलमा जाँदा सर्वसाधारणले भैलोमा नाच्ने नानी भनेर प्रशसां गर्ने, आमालाई छिमेकी तथा आफन्तले छोरीको नाचले तिहार रमाइलो बन्यो भनेर सुनाउँदा आनन्द लागेको सन्जनाले सुनाइन् । 

यसपटक बुटवलका अनोज केसीले कलाकारकै समूहमा नृत्य गरेका थिए । उनी स्नातक चौथो वर्षमा अध्ययनरत छन् । गत वर्षदेखि यस समूहमा जोडिएर नृत्य सिक्न थालेको उनले बताए । ‘गाउँमा हजुरबुवाहरूले यस्तै नाचेको सम्झना थियो,’ उनले भने, ‘अहिले अग्रजले नै मारुनी लगायत संस्कृति जोगाउनुपर्छ है भन्ने प्रस्ताव गरेपछि नाचियो ।’ सुरुसुरुमा सिक्न समय लागेको सुनाउँदै उनले भने, ‘अहिले त जति नाचे पनि थकाइ लाग्दैन ।’ 

यसपटक देउसीभैलो कार्यक्रमपछि सामाजिक सञ्जाल टिकटकमा आफूलाई फलो गर्ने ह्वात्तै बढेको उनले सुनाए । ‘सामाजिक सञ्जालमा फ्यान बढ्नु राम्रो त हो नै,’ उनले भने, ‘आफूले संस्कृति जोगाउन भूमिका खेल्न पाउनु झन् खुसीको कुरा हो ।’ सर्वसाधारणको भीडमा भैलोका कलाकार मुख्य आकर्षणका रूपमा परिचित हुन पाउँदा गदगद लागेको उनले बताए । २०७२ सालदेखि गठित समाजले विभिन्न समयमा सहयोगका कार्यक्रम, अन्य कार्यक्रम गर्दै अघि बढिरहेको उपाध्यक्ष खनालले बताए ।

दीपेन्द्र

Link copied successfully