नाटक कार्तिक १८ देखि मञ्चन हुँदैछ ।
काठमाडौँ — सोच्नुस्, तपाईंले जीवनमा निकै ठूलै गल्ती गर्नुभयो ! त्यो गल्तीले तपाईंलाई सधैं पिरोलिरहन्छ । छटपटी दिन्छ, आँशु दिन्छ । अनि पीडा दिन्छ । यदि प्रायश्चित गर्ने मौका भेटिए, तपाईं के गर्नुहुन्थ्यो ? आफ्नो गल्ती स्वीकारेर प्रायश्चित गर्नुहुन्थ्यो कि त्यही तड्पनमा जलिरहनु हुन्थ्यो ?
प्रायश्चितको यही मार्ग पच्छ्याएरै ८० जनाको नरसंहार गरेका एक हत्यारा कालन्तरमा महायोगी बन्छन् । बौद्ध धर्ममा महासिद्ध कहलिन्छन् । तिब्बतले भगवान्कै रूपमा पुज्दै आएको मिलारेपाले जवान हुँदा तन्त्रविद्यामार्फत एउटा गाउँ नै सखाप पारिदिए । बदलाको भावनामा अपराध गरेका थोप्गा क्षमायाचनाबाटै बौध धर्मका महान गुरु मिलारेपाका रूपमा चिनिए ।
लामो समय नेपालमा पनि समय बिताएका यिनै बौद्ध गुरु मिलारेपामाथि अहिले नाटक बनेको छ । कलाकार बुद्धि तामाङ र उमेश तामाङको निर्देशनमा बनेको ‘मिलारेपा’ शीर्षकको नाटक कार्तिक १८ देखि मण्डला थिएटरमा मञ्चन हुँदैछ ।
चाङ ड्योन हेरुकले लेखेको कथालाई रविन तामाङले नाटकमा रुपान्तरण गरेपछि नै थोप्गाको जीवन अहिले मञ्चमा जीवन्त बनेको छ । यो नाटकमा एक साधारण व्यक्ति कसरी महायोगी बन्छन्, कवि हुन्छन् ? भन्ने कथा प्रस्तुत छ । कैलाश पर्वत चढ्ने एक मात्र यस्तो पात्र जसले कुमार्गको बाटोहुँदै सुमार्ग पछ्याए । नाटकले मूलत थोप्गाजस्तो साधारण व्यक्ति कसरी असाधारण मिलारेपामा परिणत हुन्छन् ? भन्ने कथालाई केन्द्रमा राखेको छ ।
थोप्गा तिब्बतको सम्पन्न परिवारमै जन्मिएका हुन्छन् । तर, उनी ७ वर्षको हुँदा बुवाको निधन हुन्छ । बुवाले मर्नुअघि एउटा पत्र लेखेर संसार त्याग्छन् । थोप्गा १५ वर्षको नहुञ्जेल सबै सम्पति काका र काकीको नाममा जिम्मा दिने । तर, त्यो पत्रको मूल्य चुकाउनुपर्छ, थोप्गा, उनको बहिनी र आमाले । सबै सम्पत्ति हडपिसकेपछि काका काकीले थोप्गा, आमा र बहिनीलाई नोकर बनाएर राख्छन् । जुठो खानेकुरा खाँदै यी तीनले दु:खलाई १५ वर्षसम्म झेलिरहन्छन् । ‘थोप्गा १५ वर्ष पुगेपछि सबै सम्पत्ति फिर्ता गरिदिनु’ भन्ने पत्रमा उल्लेखित विषयलाई काकाकाकीले पालन गरिदेला भन्ने सोच्दै उनीहरुले दु:खलाई आँशुसँग पिउँछन् । तर, पत्र अनुसार केही हुँदैन ।
आफ्नै सम्पत्ति पनि फिर्ता पाउने आश हराएपछि आमाले थोप्गामाथि बदला भाव थोपरिदिन्छन् । त्यही बदलाको सुरमा तन्त्रविद्या सिक्दै थोप्गाले असिना पानीमार्फत गाउँ नै सोत्तर बनाइदिन्छन् । अब यस्तो हिंस्रक भावका थोप्गा कसरी महान बौध गुरु बन्छन् ? जान्न ‘मिलारेपा’ नै हेर्नुपर्ने हुन्छ ।
डाकिनीहरुको सुन्दर नृत्य, थोप्गाले पाएको दु:ख, बदला अनि उनको अध्यात्मिक यात्रालाई नाटकले मिहिन तरिकाले प्रस्तुत गर्ने कोसिस गरेको छ । कलाकारले लगाउने पहिरन, बोल्ने संवाददेखि पृष्ठभूमीमा बज्ने संगीतले दर्शकलाई मिलारेपाको समयतिरै पुर्याउँदै उनले सहेका पीडा अनि पाएको आत्मबोध, आत्मज्ञानलाई मञ्चमा उतार्ने प्रयास गरिएको छ । तर, मिलारेपाको जीवनमा घटेका सम्पूर्ण महत्त्वपूर्ण घट्ना समेट्ने क्रममा यो नाटक अन्तिमतिर अलि बढी लम्बिएको छ । हुन त कुनै व्यक्तिको सम्पूर्ण जीवनी मञ्चमा उतार्नु कठिन कार्य नै हो ।
तर, बुद्धि तामाङ, उमेश तामाङ र रविन तामाङले मिलारेपाको जीवनलाई मञ्चमा सक्दो सरल शैलीमा पस्कने प्रयास गरेका छन् । त्यसका लागि नाटकका सुन्दर तत्त्वहरुलाई प्रयोग गरेका छन् । त्यसैले पृष्ठभूमीमा हरबखत तिब्बत महसुस गराउने धुन गुञ्जिरहन्छ । जनावरको प्रप्सदेखि प्रोजेक्टरमार्फत डिजिटल दृश्यलाई मञ्चमा प्रयोग गरिएको छ । तर, संवादमा भने त्यो गहिराई, त्यो भेग र परिवेश अझ झल्किन्न । केही कलाकारले तिब्बतको लवज पक्रन खोज्दा प्रष्ट नेपाली बोलिदिन्छन् । त्यतिबेलाको क्रमभंगताले उक्त दृश्यले दिन सक्ने मिठास र आञ्चलिकता गुमाउँछ ।
उदाहरणका लागि नाटकको अन्त्यतिर मिलारेपा गुरुसामू अर्को ढोंगी गुरु आइपुग्छन् प्रतिस्पर्धा गर्न ! उक्त दृश्यमा ढोंगी गुरु बनेका कलाकारले बोल्ने संवाद, अनि त्यसलाई व्यक्त गर्ने शैलीमा मिलारेपाको युग झल्कँदैन । उनको भावभंगी र संवाद कहने शैलीमै त्यो मिठास भेटिँदैन । नाटकमा ढोंगी गुरुलाई विशेष महत्त्वका साथ स्थान दिइएको छ । उक्त पात्रसँगको दृश्यलाई नाटकमा छोट्याउन सकिने प्रशस्तै स्थान भेटिन्छन् । तर, मिलारेपासँगको उनको प्रतिस्पर्धा देखाउन लामो समय खर्चिएको छ । जसले गर्दा उक्त ढोंगी गुरुसँगको दृश्यले खासै नाटकमा दर्शकलाई जोडेर राख्दैन ।
संवादका सवालमा केही दृश्यमा कलाकारले तिब्बतको लवज समातेका छन् । त्यही भाषालाई पक्रेका पनि छन् । तर, संवाद बोलिरहँदा त्यसको निरन्तरा भेटिँदैन । तिब्बती लवजमा बोल्दै आएको कलाकारले प्रष्ट नेपाली बोलिदिँदा दर्शकको ध्यान पात्र र परिवेशबाट झ्वाट्ट छुटिदिन्छ । त्यसअर्थमा सवालमा कथाको भाव, परिस्थिति र उक्त समयलाई शब्दमा उतारिदिएका भए ‘मिलारेपा’को जीवन, अनि उनले बाँचेको समयले दिन सक्ने संदेश दर्शकबीच शसक्त तरिकाले संचार हुने थियो । आखिर संवाद पनि नाटकको मूल अस्त्र नै हो, दर्शकसँग जोडिरहन !
नाटकमा डिजिटल दृश्यलाई निकै कलात्मक शैलीमा प्रयोग गरिएको छ । मिलारेपाले बुद्धत्त्व प्राप्त गर्दाको दृश्यलाई डिजिटल दृश्य झनै शक्तिशाली बनाइदिएको छ । उक्त दृश्यमा न संवाद आवश्यक लाग्छ, न कुनै गतिविधी । प्रोजेक्टर मात्रै देखाइएको दृश्यबाटै दर्शकलाई थाहा हुन्छ कि मिलारेपाले बुद्धत्त्व पायो भन्ने । तर, डिजिटल दृश्यको प्रयोगमा केही ठाउँमा ध्वनि चर्को चाहिने बेलामा त्यसको गुञ्जन शून्यजस्तो सुनिएको छ । जस्तै, मिलारेपाले आफ्नो तन्त्रविद्या प्रयोग गर्दा आकाशबाट बर्सिएको पानी र असिनाको आवाजले हल गुञ्जायमान बन्यो भने मात्रै त उक्त दृश्यलाई दर्शकले पनि अनुभव गर्न पाउनेछन् ।
तर, कलाकारको अभिनयले यी पक्ष नाटकमा गौण लाग्छन् । जस्तै, मिलारेपा बनेका रुपेश लामा । काका काकीकोमा बस्दाको निर्दोषी होस् या तन्त्रविद्या सिकेपछिको बदला भाव, रुपेश लामाले डेढ घण्टा लामो यो नाटकभरि मिलारेपालाई दुरुस्तै बाँचिदिएका छन् । उनको अभिनयमा उक्त पात्रले अवलम्बन गर्दै जाने भाव मज्जाले झल्कन्छ । जस्तै, मिलारेपाको निर्दोष स्वभाव, महायोगी बनिसकेपछि उनको स्वरमा आएको त्यो परिपक्वता !
मिलारेपाको आमाको अभिनयमार्फत कलाकार रमिला मोक्तानले पनि आफूलाई बुलन्द ढंगले प्रस्तुत गरेकी छन् । मार्पा गुरु बनेका कलाकार हुन् या तन्त्रविद्या सिकाउने चरित्रमा पुष्कर कार्की कलाकारको अभिनयले नै दर्शकलाई १५ औं शताब्दीतिर पुर्याइदिन्छ ।
