पोखरा एभेन्जर्सले 'नेपथ्य कन्सर्ट ' गर्दै

कार्तिक २१ गते पोखरा रंगशालाको फुटबल स्टेडियमामा कन्सर्ट आयोजना हुने ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Pokhara Avengers performing 'Nepathya Concert'

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा लोकप्रिय ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । 'क्रिकेटका लागि नेपथ्य'नारासहित कार्तिक २१ गते पोखरा रंगशालाको फुटबल स्टेडियमामा कन्सर्ट गर्ने भएको हो । 

क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गर्न लागिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जनाए । ‘कन्सर्ट प्रवेशका लागि टिकट राखिएको छैन,’ अध्यक्ष त्रिपाठीले भने, ‘पोखरा एभेन्जर्सको जर्सी किन्ने समर्थकहरूले कन्सर्टमा प्रवेश पाउनेछन् । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ ।’

कन्सर्टमा प्रवेशका लागि पोखराका समर्थकले नेपथ्यको वेबसाइटबाट जर्सी खरिद गर्न सक्नेछन् । पोखरा एभेन्जर्सको जर्सीको नियमित मूल्य १४ सय ९९ हो । तर, कन्सर्टका लागि जर्सी खरिद गर्न आउने सुरुका १ हजार जना समर्थकलाई टिमले ९९९ रुपैयाँमै जर्सी दिने निर्णय गरेको थियो। बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मै ती सबै जर्सी बिक्री भइसकेको आयोजकले जनाएको छ । 

‘पोखरा एभेन्जर्स र नेपथ्यप्रतिको माया र उत्साहले हामी उत्साहित भएका छौँ,’ पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने, ‘१३ घण्टामै १ हजार जर्सी बिक्री हुनु पोखराका क्रिकेट समर्थक र संगीतप्रेमी दुवैका लागि गर्वको विषय हो। क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ।’

अध्यक्ष त्रिपाठीका अनुसार कन्सर्टबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्ने उद्देश्य राखिएको छ । 

मंसिर १ गतेबाट सुरु हुने एनपीएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ । मंगलबार पोखरामा ट्रफी प्रदर्शन गर्ने क्रममा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले ५० वर्ष अगाडीको पोखरामा खेलकुदको लागि केही पूर्वाधार नभएको स्मरण गर्दै पोखरामा बनेको रंगशालाले खेलाडी र खेल प्रेमीमा ऊर्जा थपेको बताए । ‘नेपालको क्रिकेट जुन लेभलमा छ, त्यो गौरव गर्न लायक छ । अबको तयारी र खेलहरू विश्वकप जित्ने लक्ष्यसहित हुनुपर्छ । हाम्रो शुभकामना छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully