‘फिलिम पनि खेल्ने, हिरो पनि बन्ने, गाउने पनि, प्रोगाममा हिँड्ने’ भनेका अशोक दर्जी ‘मनबिनाको धन’ चलचित्रबाट हिरो बने । चलचित्र कात्तिक २१ देखि देशभर प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — ‘फिलिम पनि खेल्ने, हिरो पनि बन्ने, गाउने पनि, प्रोगाममा हिँड्ने पनि’ सन् २०१८ मै बाल गायक अशोक दर्जीले आफूभित्रको हिरो बन्ने रहर ‘इन्द्रेणी’ कार्यक्रममा यसरी सुनाएका थिए । त्यतिबेला संगीतकार टंक बुढाथोकीले अशोकलाई हुर्काउने जिम्मा लिइसकेका थिए ।
अशोकको रहर सुन्नेबित्तिकै टंकलाई एक किसिमको जिम्मेवारी पलायो । छोराको चाहना पूरा गरिदिने इच्छा कुन बाबुलाई नहोला ! त्यतिबेलै हो, टंकले फिल्म बनाउने ठानिलिएको । अहिले टंकले अशोकको कथामा ‘मनबिनाको धन’ शीर्षकमा फिल्म बनाएका छन् । यो फिल्म कात्तिक २१ देखि देशभर प्रदर्शनमा आउँदैछ ।
संगीतमा एक किसिमको शिखर चुमिसकेपछि अब जाने कता त ? टंकको मनमा पनि लामो समयदेखि यो प्रश्न थियो । पार्श्व संगीतमा टंकले थुप्रै चर्चित गीत पस्के । ‘काली तिम्रो नजरैले’, ‘हवलदार सुन्तली’, ‘हिम्मतवाली’, ‘रुपै मोहनी’लगायतका दर्जनौं गीत फिल्मका लागि सिर्जना गरिरहँदा टंकको उठबस फिल्मकर्मीसँगै भयो । त्यही अनुभवले उनलाई फिल्म निर्माणको आइडियासमेत दियो । फिल्मकर्मीसँग त्यही संगतले पनि टंकमा फिल्म बनाउने हौसला थपियो ।
टंक गीतमार्फत निश्चित दर्शक/स्रोतामाझ पुगेकै थिए । फिल्मबाट धेरै दर्शकबीच पुग्न पाइने जोश पनि उनमा थपियो । ‘एउटै मात्रै वर्ग होइन । सामाजिक सेवामार्फत बच्चादेखि पाका पुस्तासम्म पुग्ने मेरो योजना थियो । त्यसैका लागि फिल्म गरें । गीतको त निश्चित वर्ग हुन्छ । कुनै बच्चाका लागि मनपर्ला, कुनै बूढाबूढीलाई मनपर्छ । तर फिल्म त पारिवारिक बन्यो भने सबै परिवारले हेर्न पाउँछ ।‘ टंकले यो फिल्म बनाउन २ वर्ष खर्चे । यसबीचमा खासै गीत बजारमा ल्याएनन् ।
टंकले फिल्म बनाउने कुरा गर्दा सुरुमा अशोकलाई ‘मनबिनाको धन’ बन्ला भन्ने लागेकै थिएन । तर, जब फिल्मको काम गम्भीर बन्दै गयो । तब, उनले विश्वास गर्दै आए । ‘त्यतिबेला मलाई मेरो सपना पूरा हुने भयो भन्ने उत्साह जाग्यो । यो त मेरो लागि एकदम ठूलो प्रोजेक्ट हो,’१५ वर्षीय अशोक सुनाउँछन्, ‘फिल्मको कहानी दर्शकले लेख्नु भएको हो, त्यसमा हिरो बन्न पाएको छु ।’
गीत गाउनमा सानैदेखि माहिर, अशोक । सडकमा गीत गाउँदै हिँड्दा अशोकभित्र अभिनय गर्ने रहर पनि पलाउँदै थियो । त्यही रहरलाई टंकले पूरा गरिदिँदा उनी दंग छन् । त्यसैले फिल्मको प्रचारका लागि दौडधूप गरिरहेका देखिन्छन् । फिल्म गरिसकेपछि अशोकले जानेका छन्, ‘अभिनय त गाह्रो पो रहेछ ।’
अशोकले कान्तिपुर फिल्म एकेडेमीमा अभिनयको वर्कसप लिएका हुन् । स्क्रिप्टको काम सकेपछि उनले अभिनयको कक्षा लिएका हुन् । फिल्ममा अभिनय गर्न उनले विद्यालयबाट छुट्टी लिएका थिए । छायांकनका दौरान अशोकलाई पेटको समस्या भयो । तर, बिरामी हुँदा पनि आफूले अभिनय गरेको अशोक बताउँछन् । ‘औषधि खाँदै भए पनि सुटिङ गरे,’ मुसुक्क हाँस्दै अशोकले सुनाए ।
अशोक त्यही बालगायक हुन् जो ‘मनबिनाको धन’ बोलको गीतबाट अत्यधिक चर्चामा आएका थिए । यो गीत गाउनुअघि उनी सडकमा गाउँदै हिँड्थे । झापा दमकका उनले घरपरिवारको आर्थिक अवस्थाले पढ्न पाएनन् । त्यसैले सडक, होटलमा गाउन थाले । यसरी गाउँदै गरेको अवस्थामा अशोकलाई २०७३ माघ २५ मा रूपक सापकोटाले भेटे, झापाबाटै फेसबुक लाइभ गरिदिए। त्यसमा अशोकले आफ्नो विपन्न परिवारको अवस्थाबारे पनि बोलेका थिए । त्यही चर्चाकै बीच संगीतकार बुढाथोकीले उनलाई काठमाडौं ल्याएर गीत रेकर्ड गराए । झापामा अशोकको घर बनाइदिने अभियान चलाए । अनि आफूसँगै राखेर अशोकलाई पढाउने जिम्मा लिए । यसबीच अशोकको चर्चा सेलाउँदै गयो । युट्युबमा अरु नै ‘भाइरल’ बन्न थाले ।
अहिले फेरि अचानक हलक्क बढेको त्यही अशोक फिल्मको प्रचारका लागि अन्तर्वार्ता दिन कुदिरहेका छन् । त्यसअर्थमा फिल्मले अशोकको बाल्यकाल, सडक मात्रै नभएर वर्तमानमा उनी के गर्दैछन् ? भन्ने पक्षलाई देखाउने नीता सुनाउँछिन् । फिल्मको चर्चा चुलिरहँदा अहिले फेरि टंकलाई आफ्नो स्वार्थका लागि अशोकलाई प्रयोग गर्दै आइरहेको र यो फिल्म पनि त्यसैको नतिजा रहेको भन्ने आरोप लगाउन थालेका छन् । तर, अशोक आफैं भने यो आरोपको प्रतिकार गर्छन् । ‘चाहनुभएको भए उहाँले फिल्म चलाउन एआरलाई नै अगाडि राख्न सक्नुहुन्थ्यो । तर उहाँले मलाई प्राथमिकतामा राख्नु भएको छ । बिग स्क्रिनमा मेरै फोटो छ,’अशोकले सुनाए,’घरमा उहाँले मलाई आफ्नै छोरालाई झैं राख्नु भएको छ । एआर र म एउटै बेडमा सुत्छौं । हामीले लगाउने लुगा एउटै हुन्छ । केही कुराको कमी छैन ।‘
अहिले अशोक ९ कक्षामा पढ्दैछन् । अहिलेको यो पलमा आफू रमाइरहेको उनी सुनाउँछन् । 'त्यतिबेला सडकमा गाउँदाको पल हेर्दा नर्भस अनुभव गर्छु । त्यो पललाई बिर्सन सक्दिनँ । अहिले यो पलमा रमाइरहेको छु,'अशोकले भने ।
फिल्ममा अभिनय गरेकी अभिनेत्री नीता ढुंगाना ‘मनबिनाको धन’ सामाजिक सेवाको उद्देश्यले बनेको बताउँछिन् । ‘यो सोसल कजमा बनेको फिल्म हो । यो टंक बुढाथोकी आफैंको कथा पनि हो । फिल्मबाट दर्शकले धेरै कुरा सिक्न पाउनुहुनेछ । धेरै सन्देश फिल्ममा छ,’नीताले भनिन् ।
फिल्ममा नीताको चरित्र निकै रहस्यमयी छ । त्यसैले ट्रेलरमा उति स्थान नीताले पाएकी छैनन् । ‘फिल्मको चरित्र नै मन परेर मैले यो फिल्म गरेकी हुँ,’नीताले भनिन् । नीता फिल्मलाई अशोकको ‘बायोपिक’ भन्न रुचाउँदिनन् । फिल्मले अशोकको विगत र वर्तमान समेटेको उनी बताउँछिन् । ‘फिल्ममा अशोकमा भएका क्षमता, गुण र अवगुण सबै कुरा यो फिल्ममा समावेश छ । खासमा यो अशोक दर्जीकै फिल्म हो,’नीताले सुनाइन् ।
