'कान्तरा'मा छरिएको कथा

आदिवासीका पहिचान, मासिँदै गएको संस्कृति र फेरिँदै आएको जीवन पद्धति देखाउन भने फिल्म चुकेको छैन ।

कार्तिक १३, २०८२

रीना मोक्तान

The story scattered in 'Kantara'

What you should know

काठमाडौँ — 'कान्तरा'को अन्तिम दृश्य निकै सशक्त छ । मुख्य अभिनेता, निर्देशक, पटकथाकार ऋषभ शेट्टीको शिवा पात्रले भूतकोला (कन्नडको देवी नाच) मा नर्तक गरिरहँदा बारम्बार वाहा…! भन्दै चर्को आवाजमा जमिन्दारलाई हकारिरहन्छन् ।

काँपिरहेको शरीर, देवताको अवतार अनि त्यसमाथि ऋषभको शक्तिशाली अभिनय ! फिल्मको अन्तिम २० मिनेटको दृश्यमा प्रयोग यही अभिनय, बेजोड संगीत र वाहा… को झंकार सन् २०२२ मा 'कान्तरा' हेरिसकेका सबैको मस्तिष्कमा यसरी घन्कियो कि त्यही अनुभव गर्न दर्शकले फिल्मको सिक्वेल पर्खिरहे ।

फेरि ऋषभले फिल्मको कथालाई यस्तो रहस्यमयी ठाउँमा पुर्‍याएर ‍समापन गराएका थिए, जहाँबाट खुलदुली मात्रै पैदा भइरहन्थ्यो । 

फिल्मको मुख्य पात्र शिवा भूतकोलापछि यसरी जंगलभित्र विलय बन्छन् कि त्यसपछि उनको नामोनिसान भेटिन्न । शिवाका छोरा पनि हुर्कँदै हुन्छन् । के शिवाका ‍छोरा भूतकोलाको नर्तक बन्लान् ? एकाएक हराएका शिवा फर्केर पो आउलान् कि ? 'कान्तरा'को सिक्वेल यही कारणले पनि दर्शकबीच बहुप्रतीक्षित बन्यो ।

कम बजेटमा बनेको कन्नड फिल्मले हिन्दी भाषाका फिल्मलाई पछार्दै चकित पार्ने व्यापार कुम्ल्याउँदा 'कान्तरा'को चर्चा नेपालभित्र पनि भित्रियो । जब यो फिल्मले हिन्दी भाषाको फिल्म चल्ने बक्स अफिसमा तहल्का पिट्यो, त्यसको प्रभाव नेपालको घरेलु बक्स अफिसमै देखियो । कन्नड परम्परामाथिको फिल्मले त्यतिबेला नपत्याउने तरिकाले नेपालबाट ठूलै रकम बटुल्यो । हलमा प्रदर्शनरत 'कान्तरा च्याप्टर वान'ले फेरि त्यही दृश्य दोहोर्‍याइरहेको छ । तिहारको छेकोमा प्रदर्शनमा आएका नेपाली फिल्मलाई ऋषभको 'कान्तरा: च्याप्टर वान'सँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे नै पर्‍यो ।

आखिर दैलोमै बनेका नेपाली फिल्मलाई छाडेर नेपालीले किन यतिबिघ्न 'कान्तरा च्याप्टर वान'लाई मन पराए त ? आखिर ऋषभको कथा वाचनमा त्यस्तो के तत्त्व थियो, जसले नेपाली दर्शकलाई यो फिल्म नहेरी नहुने बनाइदियो ? के यो फिल्म वास्तवमै राम्रो थियो त ?

यसपटक ऋषभले फिल्मको सुरुवातमै दर्शकलाई चकित बनाइदिन्छन् । सिक्वेल पर्खिरहेका दर्शकलाई प्रिक्वेलको 'सरप्राइज' ! दर्शक फिल्मको सिक्वेल पर्खिरहेका थिए । तर, ऋषभ यहाँ प्रिक्वेलको कथा पो सुनाउँछन् । अर्थात् सन् २०२२ को 'कान्तरा'पछिको कथा 'च्याप्टर वान'मा देखाइँदैन, त्योभन्दा अगाडिको कथालाई जोडिदिएका छन् । कान्तरा, भूतकोला अनि देवी शक्तिका मौलिक स्वाद मिसाउन भने भुलेका छैनन् । 

'कान्तरा: च्याप्टर वान'को कथा एउटा यस्तो जंगलको कथा हो, जहाँ साक्षात देवता वास गर्छन् । फिल्मको कथा त्यही विशाल जंगल कान्तरा अनि त्यहाँ बस्ने आदिवासीउपर घुम्छ । बाह्य शक्तिले छुन नसकेको कान्तरामा बस्ने आदिवासी देवताका दुई रुप पञ्जुर्ली र गुलिगा मान्छन् । र, ठान्छन् भगवानकै सुरक्षाले उनीहरु त्यो जमीनसँग, त्यो जंगलसँग आफ्नो सँस्कृतिसँग रम्न पाएका छन् । त्यही जंगलछेउको विशाल साम्राज्यको राजा राजेन्द्रले भने बाल्यकालमा त्यो दैवी शक्तिलाई नियालिसकेका हुन्छन् । त्यसैले उनैले साम्राज्यका चरोमुसोलाई कान्तरा प्रवेश गर्न रोक  लगाउँछन् ।

तर, समय बित्दै जाँदा राजगद्दीमा आसन्न नयाँ राजा कुलशेखरलाई भने बुवाले त्यही रोक लगाएको जंगलभित्रको रहस्य पत्ता लगाउने मोह बढ्छ । जसै कुलशेखरले कान्तरा प्रवेश गर्छ, तब आदिवासी, उनीहरुका विश्वास, संस्कृति र बस्दै आएको थलोमै समस्या उत्पन्न हुन्छ । आदिवासीहरुका अगुवा बर्मे (ऋषभ) ले उक्त समस्याको समाधान कसरी खोज्लान् ? 'कान्तरा: च्याप्टर वान' कथा यही प्रश्नको उत्तर हो । 

तर, यही कथा भन्दै जाँदा निर्देशकले एकै पटक थुप्रो विषय समेट्न खोजेका छन् । जस्तै एकातर्फ आदिवासी र उनीहरुका विश्वास छ । अर्कोतर्फ राजकीय परिवार र उनीहरुको शक्ति । त्यसमाथि भगवानको दुई स्वरुप पञ्जुर्ली, गुलिगाको मिथक, पृष्ठभूमि । तर, यी सबै विषयलाई पटकथामा मिसाउन नजान्दा विषयवस्तु जताभावी छरिएका छन् । त्यसैले कथाको मूल विषयतर्फ दर्शक घोत्लिनै पाउँदैनन् ।

यसअघि 'कान्तरा'मा जंगलमाथि कसको अधिकार भन्ने मूल प्रश्न थियो । तर, यो पटक प्रश्नसँगै थुप्रो विषय एकसाथ आउँछ । तर, पटकथाले यी सबै विषयलाई एकसाथ उन्न नजान्दा कथाको लय बिग्रन्छ । त्यसैले पञ्जुर्ली र गुलिगाको कथा लम्बेतान लाग्छ । भगवानको यी दुई स्वरुपलाई बुझाउन निर्देशकले धेरै समय खर्चेका पनि छन् । भारी विषयलाई सरल तरिकामा बुझाउनुको साटो झनै गह्रौं बनाइदिएका छन् । अर्को त फिल्ममा तन्त्रमन्त्रको विषय जबरजस्त जोडिएको छ । कथाको अवतरण गर्न गाह्रो भइसकेपछि निर्देशक शेट्टीले काला जादु जोडेर फिल्मलाई समापन गरेका छन् । खासमा, यो उपकथालाई पनि छोट्याइएको भए फिल्मले अन्तिमसम्मै दर्शकको ध्यान बाँध्ने थियो । 

यो फिल्म अलि बढी अतिरञ्जनातर्फ ढल्केको छ । निर्दशक कथाप्रति इमानदार देखिन्छन् । उनले आदिवासीको विश्वास र मिथकलाई दृश्यमा प्रस्तुत गर्न फिल्मका विभिन्न तत्त्वहरुमा मेहनत गरिएको देखिन्छ । तर, एकसाथ थप्रो विषय समेट्दा कति विषय त जबरजस्त जोडिएका छन् । जस्तै, आदिवासीले राजाको साम्राज्यमा प्रवेश गर्दाको दृश्यलाई अतिरञ्जनासहित देखाइएको छ । उक्त, दृश्यलाई छोट्याइएको भए पनि कथा अगाडि बढ्ने थियो । तर, मुख्य कलाकार नै आफै भएपछि निर्देशकले थुप्रो ठाउँमा उक्त पात्रलाई धेरै स्थान दिइएको छ ।

बाङ्ग्रा बजारमा भएको झैझगडा, राजाको बहिनी कनकवतीसँगको हिमचिम, आकर्षण । एक समय त यस्तो लाग्छ, कथा प्रकृति र आदिवासीको भन्दा पनि बेर्मेको मात्रै हो । उक्त पात्रलाई केन्द्रमा राख्दा, 'हिरो'का रुपमा स्थापित गराउन खोज्दा फिल्मको महत्त्वपूर्ण समय खेर गएको छ । 

रोचक विषय, आदिवासी विश्वास र उनीहरुका जीवन पद्दति फिल्ममा सुरुदेखि अन्तिमसम्म आइरहन्छ । कसरी आदिवासीलाई शक्तिले सीमानाकृत गराउन खोज्छ ? त्यो पक्षमा 'कान्तरा: च्याप्टर वान' खरो साबित भएको छ । शक्तिले जहिल्यै पिँधमा भएकालाई, आवाजविहिनलाई कसरी दबाउन खोज्छ ? उनीहरुको आवाज र अधिकार कसरी खोज्छ भन्ने विषयलाई फिल्मले गजब्बसँग देखाउँछ । शक्तिमा भएका कुलशेखराको प्रवेशसँगै विस्तारै आदिवासी संस्कृति मासिँदै जान्छ । त्यही जंगलमा रमाउँदै आएका आदिवासीले व्यापार गर्न थाल्छन् । उनीहरुको मौलिक पहिचान धरमराउँछ ।

आदिवासीका पहिचान, मासिँदै गएको संस्कृति र फेरिँदै आएको जीवन पद्धति देखाउन भने फिल्म चुकेको छैन । निर्देशकले कथाको अतिरञ्जनाभन्दा मूल मुद्दाको गहिराइ खोतलेको भए 'कान्तरा: च्याप्टर वान'ले 'कान्तरा'को त्यो मिठास फेरि दर्शकलाई सम्झाइदिने थियो । तर, यो पटक ऋषभको हातबाट कथाको त्यो सौन्दर्य, मिठास जोगाउने मौका गुमेको छ !

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully