लोकगायक रायमाझीसँगै देउसी-भैलोमा झुमे पाल्पाली

लोकगायक नारायण रायमाझीले हाम्रो संस्कृति व्यावसायिक बन्न थालेपछि नै गीतसंगीत र मौलिक संस्कृति हराउँदै गएको बताए ।

कार्तिक २, २०८२

माधव अर्याल

Palpali dances to Deusi-Bhailo with folk singer Rayamajhi

What you should know

पाल्पा — वरिष्ठ लोकगायक नारायण रायमाझीले प्रत्यक्ष मौलिक देउसी–भैलो गाउँदा पाल्पाको तानसेनस्थित कैलाशनगरको सांस्कृतिक डबलीमा तालीको गडगडाहट आयो । सबैले भट्याउन थाले, ली अनि गुन्जियो सांस्कृतिक डबली । 

हे ठूलो आँगन माझैमा खेली

नाच पहिले बेली र चमेली 

हे उज्यालो छ जगतै सारा

घर बेटीको हँसिलो मुहार....

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पाल्पाले पछिल्लो समयमा युवापुस्ताले मौलिकपन बिर्संदै गएकाले वरिष्ठ लोकगायक रायमाझीलाई नै उपस्थित गराएर देउसी–भैलोबाट मौलिकता सम्झाउने प्रयास गरेको थियो । मौलिक देउसी भैलोमा घरबेटी अनि सुपोको पैसा, रोटी, बत्ती लगायत मौलिकपन सम्झाउने प्रयास गरिएको थियो । 

‘जुन बेलादेखि हाम्रो संस्कृति व्यावसायिक बन्न थाल्यो त्यसबेलादेखि नै हाम्रा गीत संगीत, मौलिक संस्कृति हराउँदै गए,’ गायक रायमाझीले भने, ‘आफ्नो पहिचान मेटिएपछि मौलिकता के हो भन्ने भावी पुस्ताले पछुतो मान्नेछ । त्यसैले हाम्रा मौलिकता जोगाउने प्रयास गर्नु जरुरी छ  ।’

Palpali dances to Deusi-Bhailo with folk singer Rayamajhi

पछिल्लो समय व्यावसायिक गीतसंगीतको नाममा देखिएको विकृतिले लोकगीतको नाममा मौलिकपन हराउँदै गएको उनको बुझाइ छ । सानो छँदा पाल्पाको सम्झना अहिले पनि ताजै रहेको बताउने उनले भने, ‘पछिल्लो पुस्तालाई मौलिकपन बुझाउन जरुरी छ । होइन भने पश्चिमा संस्कृतिको प्रभावले अबको पुस्ता मौलिकपन भुल्नेछ ।’

रायमाझीले आफ्ना मौलिक झ्याउरे, सोरठी, देउसी भैलो गीत गाएका थिए । सामूहिक र एकल गीत गाएका रायमाझीले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । ‘वरिष्ठ लोकगायकको गीत नै मौलिक छन्,’ लोक कलाकार पवन बस्यालले प्रतिक्रिया दिए, ‘हामीलाई जतिबेला पनि सुनिरहूँ हुन्छ अन्य दर्शकलाई झन् नहुने कुरै भएन ।’

Palpali dances to Deusi-Bhailo with folk singer Rayamajhi

तिहार सुरु भएसँगै पाल्पामा देउसी भैलो कार्यक्रम राखिन्छन् । तर डेक बजाउने, नाच्ने र पैसा उठाउने जस्ता विकृति बढी छन् । तर कतिपय मगरी समुदायका साथै विभिन्न सांस्कृतिक समूहले परम्परागत देउसी भैलो खेल्दै मौलिक भेषभूषा, मुखैले गाउने, मादल बजाउने गर्ने पनि छन् । ‘तर त्यस्ता समूह निकै थोरै छन्,’ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराईले भने, ‘त्यसैले नयाँ पुस्तालाई सिकाउन पनि पुराना पुस्तालाई नै ल्याउनुपर्ने जरुरी ठानियो ।’ 

प्रतिष्ठान पाल्पाले मौलिक देउसी भैलो जोगाउने हरेक वर्ष विभिन्न उपाय अपनाउने गरेको उनले बताए । तर पनि मौलिक देउसी भैलोमा आफैले भट्याएर मादल बजाउने खेली, देउसीभैलो, मारुनी गाउने प्रचलनलाई सम्झाउने प्रयास गर्नु जरुरी रहेको प्रतिष्ठानकी पूर्वअध्यक्ष रेखा विष्टले बताइन् । पछिल्लो पुस्तालाई परम्परागत संस्कृति सिकाउन जरुरी रहेको उनको सुझाव छ । ‘मौलिक संस्कृति जोगाउन स्थानीय सरकार, संघसंस्था, विभिन्न जातीय समुदायको अगुवाइ हुनुपर्छ,’ उनले भनिन्  । 

Palpali dances to Deusi-Bhailo with folk singer Rayamajhi

अब युवा पुस्तालाई पश्चिमा संस्कृति मात्र होइन मौलिकन सिकाउने पाकापुस्ताले नै भएको प्रष्ठिानका उपाध्यक्ष रुपेश कार्कीले बताए । तर यसतर्फ सबैभन्दा नजिकको सरकार स्थानीय तहले नै मौलिक भाका, भेषभूषा, विभिन्न साास्कृतिक पर्वलाई संरक्षण गर्नुपर्ने उनको सुझाव छ । 

श्रीनगर सांस्कृतिक डबलीमा राखेको कार्यक्रमले तिहार आएको अनुभव गराएको थियो । कार्यक्रममा दर्शकले डबली भरिएको थियो । मौलिक देउसी भैलो, नृत्य र एकल प्रस्तुतिले सबैलाई मोहित नै बनायो । लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर राना, पूर्व सांसद तथा संविधानसभा सदस्य सोमप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ लगायतले पर्यटन प्रवर्द्धनमा सघाउन डबली महत्वपूर्ण भएको बताउँदै डबलीको उचित प्रयोग गरी यहाँका कला संस्कृति र पर्यटनको विकास गर्न सकिने बताए । तानसेन आफैमा पर्यटकीयस्थल भएकाले यहाँको विकास र विस्तारका लागि डबली महत्वपूर्ण हुने तानसेन–५, का वडाध्यक्ष रामवहादुर रावलले बताए ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully