बलिउड फिल्म ‘डायरी अफ मणिपुर’को छायांकन चितवनमा

फिल्म निर्देशक सनोज मिश्रले चितवनको भूगोल, हावापानीसँगै स्थानीय रहनसहन पनि मणिपुरसित मेल खाने भएकाले फिल्मका अधिकांश दृश्य यहाँ छायांकन गर्न लागिएको बताए ।

आश्विन २६, २०८२

दीपेन्द्र बडुवाल

Filming of Bollywood film 'Diary of Manipur' in Chitwan

What you should know

भैरहवा — भारतको मणिपुरसित मेल खाने भूगोल र नागरिक रहेको चितवनमा बलिउड फिल्म ‘डायरी अफ मणिपुर’ छायांकन हुने भएको छ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा भएको महाकुम्भ मेलाकी भाइरल गर्ल मोनालिसा मुख्य कलाकर रहेको फिल्मको ८० प्रतिशत छायांकन चितवन र पोखरामा गरिने निर्माण पक्षले जनाएको छ ।

मुख्य कलाकार र निर्देशकले आइतबार दिउँसो लुम्बिनी प्रेस क्लबको भैरहवास्थित भवनमा पत्रकार सम्मेलन गरेर फिल्मका बारेमा जानकारी दिएका हुन् । छायांकनका लागि फिल्मका निर्देशक र प्रमुख कलाकार गरेर १२ जनाको समूह चितवन लागेको छ । आइतबारबाट क्रमशः कलाकार, प्राविधिक गरेर १ सय जना भारतबाट आउन लागेको निर्माण टिमले जानकारी दियो । 

फिल्मका निर्देशक सनोज मिश्रले चितवनको भूगोल, हावापानीसँगै स्थानीय रहनसहन पनि मणिपुरसित मेल खाने भएकाले फिल्मका अधिकांश दृश्य छायांकन गर्न लागिएको बताए । उनका अनुसार २० दिनसम्म चितवनका समथर र पहाडी भू–भागमा छायांकन गरिएपछि बाँकी १० दिन पोखरामा छायांकन गरिनेछ । यस फिल्ममा ८० प्रतिशत हाराहारी नेपाली कलाकारलाई मौका दिइने उनले बताए । 

अहिलेसम्म १७ फिल्म निर्देशन गरिसकेका मिश्रका ‘गान्धीगिरी’ र ‘डायरी अफ वेस्ट बेङ्गल’ सफल चलचित्र हुन् । ‘मेरो ३२ वर्षे कलायात्रामा नेपाली र नेपालीको ठूलो सहयोग छ,’ फिल्मका प्रोड्युसर, लेखक र निर्देशक रहेका मिश्रले भने, ‘परम्परादेखि चिरपरिचित नेपालमा फिल्म छायांकन गर्न पाउँदा खुसी छु ।’ आफ्नो संघर्षकालमा नेपालका पशुपति कँडेलले १० हजार रुपैयाँ सहयोग गरेपछि लखनउबाट मुम्बई पुगेर बलिउड यात्रा तय गरेको उनले बताए । नेपालका महानायक राजेश हमाललगायत कलाकार आफ्ना मित्र रहेको उनको भनाइ थियो । 

उनका अनुसार आइतबार फिल्मकी मुख्य पात्र मोनालिसासँगै अमित राव र अभिसेन त्रिपाठी पनि आएका छन् । महाकुम्भ मेलामा रुद्राक्षको माला बिक्री गरेर भाइरल बनेकी १६ वर्षीया मोनालिसालाई पहिलोपटक आफूले नै फिल्ममा अभिनयको अवसर प्रदान गरेको मिश्रले बताए । फिल्मकी एक्टरेस मोनालिसाले नेपाल आउन पाउँदा हर्षित बनेको बताइन् । ‘नेपालमा आउनु र फिल्ममा भूमिका निर्वाह गर्नु मेरा लागि सपनाजस्तै हो,’ उनले भनिन्, ‘एक्टर बन्छु भन्ने सोचेकी थिइनँ, खुसीको वर्णन गर्न सक्दिनँ ।’

फिल्मका प्रमुख पात्र अमित राव बलिउड एक्टर राजकुमार रावका सहोदर दाजु हुन् । लामो समय थिएटर र रामलीलामा अभिनय गरेका उनले फिल्म खेल्ने आफ्नो बच्चैदेखिको सपना भएको बताए । ‘हामी परिवारै मिलेर फिल्म हेर्थ्यौं,’ उनले भने, ‘एक न एकदिन कलाकार भएर फिल्ममा अभिनय गर्छु भन्ने थियो । यसपटक मौका पाएकाले रामलीलामा अभिनय मिस भयो ।’ फिल्मका निर्देषक मिश्राले रामलीलाको अभिनयको क्लिप हेरेपछि फिल्ममा अवसर प्रदान गरेको बताए । 

फिल्मका अर्का प्रमुख पात्र अभिषेक त्रिपाठीले आफ्ना आमा–बुवाले पहिल्यै नेपाल आएर पशुपतिनाथको दर्शन गरेको जानकारी दिए । ‘मेरो पनि बच्चैदेखि नेपाल आएर पशुपतिनाथको दर्शन गर्ने धोको थियो,’ त्रिपाठीले भने, ‘यसपटक पशुपतिनाथको दर्शन गर्ने र फिल्ममा अभिनय गर्ने दुवै धोको पूरा हुने भो ।’ 

फिल्मको छायांकनले चितवन जस्तो पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा सहयोग पुग्ने निर्देशक मिश्रले बताए । फिल्मका केही भाग भारतको मणिपुर र दिल्लीमा छायांकन गरिने भए पनि मेन लोकेसन चाहिँ चितवन हुने उनले बताए ।

दीपेन्द्र बडुवाल

Link copied successfully