मण्डलामा मोहनले आफ्ना सन्तानभन्दा पनि धेरै कम उमेरका युवाहरूसँग बसेर सन्तानका उमेरका शिक्षकबाट नाटक सिके । उनीहरूले मोहनलाई अंकल भन्थे । साथी मान्थे । खेल्दा वा अभ्यास गर्दा उनीहरू थाक्थे । मोहन थाक्दैन थिए ।
काठमाडौँ — ‘सपनाको आयु कति हुन्छ ?’ मण्डला थिएटरको १७औं ल्याबमा विद्यार्थी बनेर नाटक सिकिरहेका ५८ वर्षीय मोहन भण्डारीलाई देखेपछि रंगकर्मी अनुप न्यौपाने सोचमग्न भए ।
युवावयमै आफ्नो सपना आफूबाट छुट्ला कि भन्ने डर बेलाबखत साँचिरहेका बेला गत जेठमा आफ्नो विद्यार्थी बनेर भर्खरका युवायुवतीहरूको माझमा एकजना पाका व्यक्ति देखिए । उनले अरु विद्यार्थीहरूले झैं प्रेम र श्रद्धाका साथ नमस्कार गरे । त्यो दृश्यले अनुपलाई तरंगित बनायो । त्यो उमेरमा पनि सपना पूरा गर्न आएका मोहनलाई देख्दा उनले आफैंसँग साउती मारे, ‘म आफ्नै सपनामा बाँचिरहेको छु । कुनै ढिला भएको छैन ।’
मोहन हालै समापन भएको साहित्यकार सरुभक्तद्वारा लिखित नाटक ‘सिरुमारानी’मा दुई चरित्रमा देखिए । अनुप र सुमित्रा पेहिमले निर्देशन गरेको यो नाटक मण्डलाको ल्याब प्रोडक्सन हो । नाटकमा ऋषि र राजगुरुको भूमिका निर्वाह गरेपछि मोहनलाई धेरैले ध्यान दिए । कतिपयले त ऋषिको भूमिका मस्तिष्कमा राखेर हलबाहिर सोधे, ‘त्यो चरित्रका लागि पशुपतिबाट बाबा नै लिएर आएको हो ? त्यस्तै लाग्यो ।’
मोहन आफ्नो चरित्रलाई लिएर दिएको यो प्रतिक्रियाले खुसी भए । लाग्यो, ‘यो त मेरो सफलता हो ।’ मण्डलामा मोहनले आफ्ना सन्तानभन्दा पनि धेरै कम उमेरका युवाहरूसँग बसेर सन्तानका उमेरका शिक्षकबाट नाटक सिके । उनीहरूले मोहनलाई अंकल भन्थे । साथी मान्थे । खेल्दा वा अभ्यास गर्दा उनीहरू थाक्थे । मोहन थाक्दैन थिए । 'मलाई म जवान छुझैं लाग्थ्यो । ऐनामा हेरेपछि मात्र बुढो भएँ भन्ने अनुभूति हुन्थ्यो,’ मोहन भन्छन् ।
मोहन काठमाडौं तारकेश्वर-७ मा बस्छन् । घर बुटवल । सानोमा उनलाई अभिनय गर्न मन पर्थ्यो । नाटक गर्न मन पर्थ्यो । स्कुल पढ्दा स्टेजहरूमा मन लगाएर गरे पनि । त सपना पूरा गर्ने अवस्था थिएन । जन्मेको ६ महिनामै आमाले संसार छाडिन् । बाले सानीआमा ल्याए । पढ्ने उमेरमा भैंसी चराउन जानुपर्ने । तैपनि कक्षा १० सम्म पढे । ‘त्यसपछि एकदिन म घरबाट निस्किएँ । गाडीमा सहचालक बसेँ । त्यहीदिनदेखि मेरो गाडीलाइनको यात्रा सुरु भयो,’ मोहन सम्झन्छन् ।
सहचालक चालक हुँदै उनले बसपार्कमा गाडीको टिकट बिक्री गर्ने काम थाले । राप्ति अञ्चल यातायात व्यवसायी समितिमा इन्चार्ज भए । त्यही दौरान ह्यान्डिक्राफ्टको व्यवसाय सुरु गरे । जीवनसाथी आइन्, जीवनमा सन्तानहरू आए । उनीहरूको सपना पूरा गर्न पनि उनको कठोर मिहिनेत गरे ।
मोहनका दुई छोरा छन् । दुवैको घरबार बसिसक्यो । जेठा छोराबुहारी अमेरिकामा छन् । कान्छाको परिवार यूकेमा । ५०को खुड्किलो उक्लिएपछि मोहनले आफ्नो पेसा र व्यवसायबाट विश्राम लिए । सोचे– अब मैले आफ्नै सपना पूरा गर्नुपर्छ । २० वर्षअघि उनले काठमाडौं नाचघरमा नाटक हेरेका थिए । त्यतिबेला पनि लाग्थ्यो– म पनि यो स्टेजमा कुनै दिन उक्लिन पाए । त्यो दिन लामो समयसम्म आएन ।
गोपाल खड्का नामका एकजना साथीसँग क्यामेरा थियो । मोहन उनीसँग मिलेर सर्ट फिल्म र भिडियो बनाउन थाले । जे आउँछ बनाउँथे । जस्तो आउँछ खेल्थे । त्यही क्रममा केही टेलिसिरियलमा पनि खेले । गर्दै जाँदा नयाँ सम्बन्धहरूले नयाँ बाटो देखाउँदै गए । उनी ६ वटा फिल्ममा देखिए पनि । ‘छक्कापञ्जा ४’ मा दीपकराज गिरीको चरित्रले एकजना सरकारी कर्मचारीलाई थप्पड हान्ने दृश्य थियो । त्यो कर्मचारी फिल्ममा उनै मोहन थिए ।
उनलाई आफ्नो अभिनयमा निखार मन थियो । एकजना साथीले सुझाए, ‘मैले राष्ट्रिय नाचघरमा सिकेर आएको । तपाईं पनि त्यहीँ जानु न ।’ उनले रगकर्मी अनुप बरालको नाम धेरै पटक सुनेका थिए । ‘उहाँले सिकाउनुहुन्छ भनेर गएँ । त उहाँले छाडिसक्नुभएको रहेछ । हामीलाई राम भजन कामत सरले सिकाउनुभयो,’ मोहन सुनाउँछन् । त्यहाँ नाटक सिक्न जाँदाको पहिलो दिन एकजनाले भने, ‘तपाईंले ठीक गर्नुभयो । आफ्नो इच्छाचाहिँ पूरा गर्नुपर्छ है सर ।’
तर नाचघरको सिकाइले उनको इच्छा पूरा हुने देखिएन । ‘न समयमा पढाइन्थ्यो । न राम्रोसँग सिकाइन्थ्यो । त्यो त गर्नका लागि मात्र गरिएको जस्तो थियो । हाम्रा साथीहरूले त झगडा पनि गरे,’ उनी भन्छन् ।
त्यहाँ उनले एउटा नाटक पनि गरे । दर्शकहरूले तारिफ पनि गरे । तर मोहनको मन मानेको थिएन । त्यहाँ नाटक सिक्ने क्रममा उनले मण्डलामा भइरहेका नाटक पनि हेरिरहेका थिए । ‘यस्तो राम्रो नाटक कसरी गर्छन् होला ? म पनि यसैगरी स्टेजमा कहिले चढ्ने होला,’ यही कुरा सोचिरहन्थे । यही सोचाइले उनलाई मण्डला थिएटरको नयाँ ब्याचमा विद्यार्थीको रुपमा उभ्यायो । त्यतिबेला उनले छोराहरूसँग मण्डलामा नाटक सिक्न जाने कुरा गरे । जेठा छोराले भने, ‘सक्नुहुन्छ र तपाईंले ? अहिलेका बच्चाहरूले अंग्रेजीमा पढाउँछन् ।’ उनले निर्धक्कसँग भने, ‘म सक्छु ।’ सानो छोराले त खुसी हुँदै भने, ‘तपाईंले हाम्रो सपना पूरा गर्नुभयो । अब आफ्नो सपना पूरा गर्नु ।’ दुवै छोराले बाको खुसीमा परिवारको खुसी देखे । तर आफन्तहरले त के पत्याउनु । उनीहरू ठट्टा गर्थे । मजाक गर्थे ।
मण्डलामा नाटक सिक्न गएको पहिल दिन ल्याबका शिक्षक सोमनाथ खनाल र अनुप न्यौपाने त दंग परे । उनीहरूले खुसीका साथ मोहनलाई भने, ‘तपाईं यहाँ आउँदा हामीलाई गर्व लाग्यो ।’ ‘मैले एसएलसी दिँदा अनुप सर जन्मिनु पनि भएको रहेनछ । पछि उहाँले सुनाउनुभयो । कहिले अंकल कहिले सर भन्नुहुन्थ्यो । रमाइलो लाग्थ्यो,’ मोहन सुनाउँछन् ।
उनी कक्षामा १५ मिनेट अगाडि नै पुग्थे । एकपटक कक्षा चलिरहँदा उनीहरूलाई बाल्यअवस्थाको अभिनय गर्न लगाइएको थियो । मोहन बच्चा हुँदाको दिनतर्फत फर्किए । अभिनय गर्दा थगर्दै धरधरी रोए । अरु विद्यार्थी आएर सम्हाले । ‘त्यतिबेला मलाई आमाको याद आएछ,’ मोहन सुनाउँछन् ।
नाटक ‘सिरुमारानी’को रिहर्सल चलिरहेको थियो । सबै विद्यार्थीहरूले उनलाई हौस्याए, ‘अंकल तपाईंलाई बुढो राजाको भाग पर्छ ।’ तर मोहनको भागमा त्यो चरित्र परेन । ‘म दु:खी भइनँ । किनकि म विद्यार्थी हुँ । म यहाँ पढ्न आएको । भाग्यले मैले नाटक गर्न पाएँ भन्ने कुरामै खुसी थिएँ,’ उनी सुनाउँछन् । बरु अरु विद्यार्थीहरू आफूले चाहेको चरित्र नपाएको भन्दै रोए, असन्तुष्ट जनाए । उनले सम्झाए, ‘ राजा एकजना छन् । कति जनालाई दिने ? सिरुमारानी एकजना छिन् । कतिजनालाई दिने । पहिला के सोच भने हामी विद्यार्थी हुँ । यति गर्न पाउनु नै हाम्रो सौभाग्य हो ।’
नाटक मञ्चनको पहिलो दिन निर्देशक अनुपले भने, ‘आजदेखि यो तपाईंहरूको मञ्च हो ।’ मोहनको आँखा आँसुले भरियो । उनले कसैले नदेख्नेगरी पुछे । उनका नाटक हेर्न श्रीमती आइन् । खुसी भएर गइन् । आफन्तहरू आए, दंग परेर गए ।
नाटकमा आउँदा उनलाई धेरै कुरा पाएझैं लागेको छ । उनी आजकल पुस्तकहरू पढ्न थालेका छन् । हामीसँगको भेटमा मोहनले आफू विजय कुमार पाण्डेको ‘खुसी’ पढिरहेको सुनाएका थिए । उनको सूचीमा थप पुस्तकहरू पनि थिए ।
अब उनी बाँकी जीवन अभिनयमै बिताउन चाहन्छन् । सानै किन नहोस्, उनी आफ्नो लागि नाटकहरूमा भूमिका मागिरहेका हुन्छन् । अनुपलाई यी सबै कुरा नियालिरहँदा आजकल लागिरहेको नयाँ सोच पलाइरहेको छ । ‘उहाँको जस्तै मेरा बा आमाको पनि सपना थियो होला । हाम्रै कारण पूरा गर्न पाउनुभएन होला । अब घर जाँदा मलाई उहाँहरूको सपना सोध्न मन छ,’ अनुप भन्छन् ।
