‘जेन–जी सहिद’को सम्मानमा सुसेलाको सांस्कृतिक कार्यक्रम

कार्यक्रममा प्रसिद्ध कवि भूपी शेरचनको ”शहीदहरूको सम्झनामा” कवितालाई सङ्गीतबद्ध गरी प्रस्तुत गरिएको थियो भने पिट सिगरको विश्वप्रसिद्ध गीत ”वी स्याल ओभरकम” पनि गाइएको थियो।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Susela's cultural program in honor of 'Jen-ji Martyr'

काठमाडौँ — सुसेला ब्याण्डले नियमित गर्दै आएको 'सुसेला काव्यशाला'को सातौं शृंखलामा जेन–जी सहिदको सम्मानमा साङ्गीतिक कार्यक्रम गरेको छ।

गत भदौ २३ र २४ गते जेन–जी युवा-विद्यार्थीहरूले गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा मारिएका सहिदहरूलाई सुसेलाले साङ्गीतिक कार्यक्रममार्फत् सम्झिएको हो । 

शनिबार (असोज ४) काठमाडौंको माइतीघरमा भएको कार्यक्रममा सुसेलाले सहिदहरूको सम्झनामा चारवटा गीत श्रद्धाञ्जलीस्वरुप प्रस्तुत गर्‍यो । कार्यक्रममा प्रसिद्ध कवि भूपी शेरचनको "शहीदहरूको सम्झनामा" कवितालाई सङ्गीतबद्ध गरी प्रस्तुत गरिएको थियो भने पिट सिगरको विश्वप्रसिद्ध गीत "वी स्याल ओभरकम" पनि गाइएको थियो।

आन्दोलनका पक्षमा लेखिएको कवि देव व्रतको "त्यो पुलिस–प्रशासन, त्यो न्यायालय" शीर्षकको गीत कलाकारहरूले प्रस्तुत गरे। त्यस्तै जेन–जी आन्दोलनका सहिदको सम्मानमा कवि विनोदविक्रम केसीले हालै लेखेको 'त्यो जुत्ता साथीको' गीत पनि गाइएको थियो।

गीतहरूलाई सुसेला ब्याण्डका अञ्जान बाबु, आरती विष्ट, सबीर कार्की, अविनाश शर्मा, बिराज ढुङ्गाना, श्रवण गौतम, सौरभ ढकाललगायतका कलाकारले प्रस्तुत गरेका थिए।

कार्यक्रममा 'स्टुडियो १८' का कलाकारहरूले जेनजी आन्दोलनको ऐक्यबद्धता र सहिदको सम्मानमा तयार गरेका चित्रहरूको पनि प्रदर्शनी गरिएको थियो। चित्रकला प्रदर्शनीको संयोजन कलाकार दीपमाला महर्जनले गरेकी थिइन् । 

जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा सरकारले गरेको दमन हुँदा भदौ २३ गते १९ युवाहरू सहीद भएका थिए । उनीहरू अधिकांशको छाती र टाउकोमा ताकीताकी गोली प्रहार भएको थियो । त्यसको प्रतिरोधमा भदौ २४ गते युवाहरूले गरेको विशाल प्रदर्शनीले सरकार परिवर्तन भएको थियो । आन्दोलनमा ७३ जनाले ज्यान गुमाइसकेका छन् ।

परिवर्तनका लागि युवाहरूले गरेको विद्रोहको माग तथा सहिदका सपना पूरा गराउन सुसेला समूह कलात्मक माध्यमबाट निरन्तर क्रियाशील रहने ब्याण्डले जनाएको छ।

कान्तिपुर

Link copied successfully