नवदुर्गा भवानीको यस भजनमार्फत विजयादशमी पर्वलाई अझ धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक बनाउन प्रयास गरिएको पोखरेलले बताए ।
काठमाडौँ — विजयादशमीको अवसर पारेर 'नवदुर्गा भवानी' भजन सार्वजनिक भएको छ । राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल, बागमती प्रदेश कमिटीका महासचिव टेकराज पोखरेलले भजन निकालेका हुन् ।
धना पोखरेलको शब्द रहेको भजनमा पोखरेलसहित रविन्द्र पोखरेल, हरिप्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौशिला पोखरेल र भक्तिराम पोखरेल लगायतको स्वर छ । भिडियोलाई विपिन अनुरागीले निर्देशन गरेका हुन् ।
'नवदुर्गा भवानीको यस भजनमार्फत विजयादशमी पर्वलाई अझ धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक बनाउने प्रयास गरेका छौं,' महासचिव पोखरेलले भने, 'भजनले नेपाली समाजमा विद्यमान लोक परम्परा र आस्थालाई जोड्दै देवी दुर्गाप्रति श्रद्धा र विश्वासलाई बलियो बनाउने अपेक्षा छ ।'
विजयादशमीपश्चात् कृष्णलीलाअन्तर्गत गोपिनी सम्बन्धबारे 'बन्सुरी हरायो मेरो खोजिदेऊ न' बोलमा अर्को भजन तयारीमा रहेको उनले बताए । अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका पहाडी जिल्ला तथा तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु क्षेत्रमा यस्ता लोकभजन गाउने परम्परा अझै जीवित छ ।
