अन्तर्राष्ट्रियस्तरको प्रतिनिधित्वका लागि आफ्नो फिल्म ‘गुन्यो चोलो’ नै उपयुक्त भन्दै यसकी निर्देशकले निष्पक्ष छानबिनका लागि विभिन्न संघसंस्था गुहारेकी छन् ।
काठमाडौँ — बिहीबार फिल्म वृत्तमा रोचक घटना भयो । विश्व प्रतिष्ठित फिल्म अवार्ड 'अस्कर'का लागि नेपालको तर्फबाट मिलन चाम्सद्वारा निर्देशित ‘अञ्जिला’ छनोट भयो ।
अस्करका लागि फिल्म छनोट गर्ने समितिको यो निर्णय सार्वजनिक गरेपश्चात् सामाजिक सञ्जालमा छनोट समिति र निर्णयको चर्को विरोध भएको छ ।
‘गुन्यो चोलो : द ड्रेस’की निर्देशक समुन्द्र भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म नेहरी यस किसिमको निर्णय लिएको भन्दै समितिको चर्को आलोचना गरिन् । ‘आफैं फिल्मको मिडिया कोर्डिनेटर भएर आफैं निर्णायकमा बस्नु कतिको उपयुक्त ? प्रश्न गर्दै समुन्द्रले फेसबुकमा लेखेकी छन्, 'अमेरिकामा बसेर फिल्म नहेरी कसरी निर्णय दिन सकिन्छ ? अचम्मको कुरा त फिल्म हलमा हेरेर निर्णय हुने हो कि कोठाभित्र बसेर, अझै मेरो ल्यापटपमै हेरेर । लाजमर्दो ।'
‘अञ्जिला’को कथा र वस्तु राम्रो भए पनि अन्तर्राष्ट्रियस्तरको प्रतिनिधित्वका लागि आफ्नो फिल्म ‘गुन्यो चोलो’ नै उपयुक्त हो भनेर निष्पक्ष छानबिनका लागि उनले विभिन्न संघसंस्था गुहारेकी छन् ।
समुन्द्र मात्रै होइन, ‘राजागञ्ज’ निर्देशक दीपक रौनियार समेत नियतवश छनोट सिमितिले फिल्मकर्मीलाई आवेदनबारे जानकारी नदिई यस किसिमको निर्णय गर्नु शंकास्पद ठान्छन् । सामाजिक सञ्जाल फेसबुकमा समितिमाथि प्रश्न गर्दै रौनियारले आवेदनबारे आफू र निर्माण पक्षको कसैलाई जानकारी नभएको र समितिले पनि आफूकहाँ पहुँच नपुर्याएको भन्दै स्ट्याटस लेखेका छन् ।
‘नेपालले अभूतपूर्व समय सामना गरिरहँदा नेपालको अस्कर समितिले भने अञ्जिलालाई एकेडेमी अवार्डमा प्रतिनिधित्त्व गर्न चुपचाप छनोट गरेछ । खासमा समितिले त इमेल, सामाजिक सञ्जाल वा व्यक्तिगत रुपमा फिल्मकर्मीसँग पहुँच बनाउँदै आवेदन खुल्ला गर्न गर्छ । तर, यो वर्ष न त मैले न मेरो फिल्मको निर्माण टोलीले नै यसबारे थाहा पायो,’ दीपकले लेखेका छन्, 'मैले बल्ल थाहा पाएँ, आवेदन भदौ ११ मै खुलाएको रहेछ, त्यो पनि भदौ २० सम्म अन्तिम दर्ता गरिसक्नुपर्ने मितिसहित । त्यो भनेको मात्र ९ दिन हो । मलाई थाहा छैन, आवेदनको खबर कता थियो । तर, यति छोटो समय, त्यसमाथि आवेदनबारे खबर नगर्नु त शंकास्पद देखिन्छ । यसको अर्थ त उनीहरु अरु फिल्मले आवेदन देओस् भन्ने नै चाहँदैन थिए ।'
अहिले थुप्रै फिल्मकर्मीले समितिमाति प्रश्न उठाउँदै यो निर्णयप्रति आपत्ति जनाएका छन् । कतिले त यो समिति नै खारेज हुनुपर्ने माग राखेका छन् ।
आखिर चाम्सको फिल्म छनोट हुँदा किन अन्य फिल्मकर्मीले अस्कर छनोट समितिको विरोध गरिरहेका छन् त ? के वास्तवमै ‘अञ्जिला’भन्दा ‘गुन्यो चोलो’ नै नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्मका लागि सिफारिस गर्न उपयुक्त थियो ? त्यो फिल्म हेर्ने दर्शक, समीक्षक र छनोट समितिलाई नै थाहा होला । तर, यहाँ प्रश्न फिल्म छनोट गर्ने समितिका सदस्यमाथि उठेको छ । अर्को त आवेदन खुल्ला गराइएको जानकारी उपर सबैको नजर पुगेको छ ।
खासमा यसअघि समितिले इमेल, सामाजिक सञ्जाल र समाचारमार्फत आवेदन खुल्ला गराउने गर्थ्यो, २० देखि एक महिनाको समय अवधि तोकेर । त्यसमा पनि अक्टोबर १ देखि सेप्टेम्बर ३० सम्म, अर्थात् एक वर्षभित्रमा सार्वजनिक प्रदर्शनीमा आएका फिल्मले सहभागी जनाउन पाउँथे । सम्भावना बोकेका फिल्मलाई त समितिले सम्बन्धित फिल्मको निर्देशकदेखि निर्माण समूहसम्मलाई आवेदनको जानकारी गराउँदै सहभागी हुन प्रेरित गर्थ्यो । तर, यो पटक अस्कर आवेदनको जानकारी नै आफ्नो पहुँचमा नपुगेको निर्देशक रौनियारको दाबी छ ।
यसअघि छनोट समितिको सदस्य बनिसकेका पटकथाकार एवं समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सिना सम्बन्धित फिल्मकर्मीलाई आवेदनबारे जानकारी नगराउनु गलत रहेको धारणा राख्छन् । ‘कमिटीको निर्णयमा मेरो भन्नु केही छैन । उनीहरुलाई जे ठिक लाग्यो त्यही गरे । फिल्मकर्मीहरुले म पनि मेरो फिल्म हाल्थें, तर आवेदनबारे थाहा पाइनँ भन्ने कुरा गरेका छन् भने त्यो त गलत भयो,’ तिमल्सिनाले भने, 'एउटा फिल्मकर्मीले आफ्नो फिल्मलाई सारा स्रोत साधन प्रयोग गरेर अस्करमा पठाउने सोच बनाएको छ, त्यसैका लागि समितिमा आवेदन दिन्छु भनेको भए उसको लडाइँ गर्ने हक हामीले खोस्न मिल्दैन । सूचना नपाएर ती फिल्मकर्मीले आफ्नो फिल्म आवेदन दिन पाएनन् भने त्यो त सिमिति असंवेदनशील भएको हो ।'
आवेदनका लागि तोकिएको समय पनि निकै छोटो भएको बताउँदै सामीप्य थप्छन्, '९ दिन भनेको एकदम कम समय हो ।' समिति असंवेदनशील बन्दा यो वर्ष अस्कर समितिको निर्णय विवादित बनेको उनी बताउँछन् । त्यसैले पनि उनीहरुको निर्णय र समिति सदस्यमाथि अहिले फिल्मकर्मीले आवाज उठाइरहेका छन् । समुन्द्रको समूहले त निर्णायक समूहमा रहेको सदस्यमाथि प्रश्न उठाएको छ ।
रंगपत्रकार जीवन पराजुली चाम्सको फिल्म ‘अञ्जिला’का ‘मिडिया कोर्डिनेटर’ हुन् । फिल्मको प्रचार सामग्रीदेखि, मिडियामा पुर्याउने विभिन्न भाष्य सिर्जनामा कोर्डिनेटरको सक्रिय सहभागिता रहन्छ । नेपालमा त कोर्डिनेटरले पत्रकार सम्मेलनमा पत्रकार डाक्नेदेखि फिल्म निर्माण पक्षसँग पत्रकारको समन्वय गरिदिने भूमिका गरिरहेका हुन्छन् । तर,पराजुली नै छनोट समितिमा छन् । आफै छनोट समितिमा भएको समितिले नै ‘अञ्जिला’ अस्करका लागि सिफारिस गर्छ भने त्यहाँ नैतिकताको प्रश्न नउठ्ने कुरै भएन !
‘शक्तिमा हुनु एकदम सुन्दर कुरा हो । तर, आफू मिडिया कोर्डिनेटर भएको फिल्मलाई समितिमा बसेर सिफारिस गर्नु त जायज भएन नि,’ गुन्यो चोलोका मुख्य अभिनेता नाजिर हुसेन भन्छन्, 'हामीलाई छनोट समितिका ६ जनाले नै फिल्म हेरेको प्रमाण चाहियो । ल्यापटपमा फिल्म हेरेर कसरी प्राविधिकदेखि अभिनयका मिहिन पक्ष हेरेर निर्णय लिन सकिन्छ । दीपक रौनियाजस्तो फिल्मकर्मीले आवेदनको खबर पाउँदैन भने त्यहाँ त पारदर्शिता भएन भन्ने हो । जुन फिल्म अस्करमा जाँदा पनि म खुसी हुन्छु, तर समितिलाई जवाफदेही बनाउन पनि म बोल्दै छु ।'
फिल्म छनोट गर्ने समितिमा मञ्जुकुमार श्रेष्ठ, लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन पराजुली र चिरञ्जीवी गुरागाईं सदस्य छन् । यसका अध्यक्ष हुन्, विमल पौडेल । सदस्यमध्येका गुराँगाईं अहिले अमेरिका छन् ।
निर्देशक समुन्द्र गुरागाईंले आफ्नो फिल्म नै नहेरी निर्णय लिएकोमा खेद प्रकट गर्छिन् । ‘मेरो फिल्म अमेरिकामा पनि चलेको छैन । २ वर्षअघि अमेरिका गएको उनले अञ्जिला र गुन्यो चोलो हेरेका छैनन् ।कुन मापदण्ड टेकेर चिरञ्जीवीले मेरो फिल्मको मुल्यांकन गरे त,’ उनी भन्छिन्, 'यो नेपाली फिल्म क्षेत्रकै लागि अपमान हो । हेर्दै नहेरेको फिल्मको भोट गर्नु त खेदकै विषय हो ।'
समितिका अध्यक्ष पौडेल भने आफूहरुले निष्पक्ष मूल्यांकन गरेको दाबी गर्छन् । ‘हाम्रो मापदण्ड छ, त्यहीभित्र रहेर हामीले निर्णय गरेका हौं । खासमा यो दुई फिल्ममा १९/२० भयो । दुईमा एउटा छान्दा अञ्जिला छान्यौं,' विवादबारे पौडेलले भने, 'अर्को फिल्म छानिँदा म पनि जानुपर्थ्यो भनेर विवाद भएको हो । उहाँको फिल्म पनि राम्रो छ । तर, मापदण्डमा रहेर निष्पक्ष छनोट गरेका हौं ।' अध्यक्ष पौडेलका अनुसार सिफारिसका लागि जम्मा २ फिल्मको मात्रै आवेदन आएको थियो ।
