त्रिपालभित्र रहेकी उनलाई अचानक हिमाली खैरो भालुले आक्रमण गरेको हो । पालभित्र भालु पसेपछि उनी जोरसँग चिच्याएकी थिइन्
काठमाडौँ — पाकिस्तानकी चर्चित गायिका कुर्रतुलैन बलोच भालुको आक्रमणमा परी घाइते भएकी छिन् ।
बिहीबार राति उनी आफ्नो टोलीसँगै गिलगित–बलिस्तानको चर्चित दियोसाई नेशनल पार्कमा क्याम्पिङ गरिरहेकी थिइन् ।
त्रिपालभित्र रहेकी उनलाई अचानक हिमाली खैरो भालुले आक्रमण गरेको हो । त्रिपालभित्र भालु पसेपछि उनी जोरसँग चिच्याएकी थिइन् । त्यसपछि उनको टोलीका सदस्य, वाइल्डलाइफ अधिकारी र होटलका कर्मचारी तत्काल पाल भएको स्थानमा पुगेका थिए ।
वाइल्डलाइफ कर्मचारी र गिलगित–बलिस्तान सरकारले बीबीसी उर्दुसँग कुराकानी गर्दै गायिकाको हातमा चोट लागेको बताएका छन् । भालुको नङ्ग्राले कोतरिएको हुनसक्ने बताइएको छ ।
आक्रमणपछि भालु तत्काल भागेको बताइएको छ । घटनास्थलमा पुगेका अधिकारीले भनेका छन्, ‘कुर्रतुलैन निकै बहादुर हुनुहुँदो रहेछ । भालुलाई देखेर उहाँ बेहोश हुनुभएन ।’
२ सय किलोग्रामभन्दा बढी तौलको भोको भालु रहेको बताइएको छ । यदि भालुलाई देखेर कर्रतुलैन बेहोस भएको भए अवस्था अझ खराब हुनसक्ने वाइल्डलाइफका अधिकारीले बताएका छन् ।
