संगीतको महासागर पछ्याउँदै गंगा

आइडलको यही यात्राले गंगालाई मञ्चमा खुल्न सिकायो । पहिलो पटक मञ्च छिर्न डराएकी उनका लागि पछि त मञ्च नै सबैभन्दा रमाइलो प्लाटफर्म बन्यो ।

भाद्र २०, २०८२

रीना मोक्तान

Ganga following the ocean of music

What you should know

काठमाडौँ — गाउँमा घाँसदाउरा गर्दा गंगा सोनामले कहिल्यै सोचिनन्, कुनै दिन 'नेपाल आइडल'को विजेत बन्छु भनेर । चण्डेश्वरी उच्च माध्यमिक विद्यालयबाट १२ सकेर बाँकी पढाइ पूरा गर्न सिन्धुपाल्चोकको इन्द्रावतीबाट काठमाडौं आउँदा अडिसन दिने दिमागमै थिएन ।

यसअघि गायनसम्बन्धी कुनै प्लाटफर्म जाने योजना बनाएकी थिइनन् । गाउँका पाखा, पखेरामा गुन्गुनाउने स्वरले कुनै दिन ठूलो मञ्चमा गाउनुपर्ला चिताएकै पनि थिइनन् । गायनसम्बन्धी कुनै औपचारिक कक्षा नलिएकी उनै गंगाले 'नेपाल आइडल सिजन ६' जित्दै दुनियालाई आफ्नो स्वरको प्रशंसक बनाइन् । 

खासमा काठमाडौं आउनु र आइडलको अडिसन सुरु हुनु नै गंगाका लागि आइडलसँग जोडिने संयोग बन्यो । उनी पढ्नलाई काठमाडौं आएकी थिइन् । तर, एकजना नजिकका गायक दाजु रामकुमार नेपालीले उनलाई आइडलमा सहभागी हुन हौस्याए । गंगाले उनकै सहयोगमा अडिसन दिइन् । 'डोली चढाई' बोलको देउडा गाएर आइडल प्रवेश गरेकी गंगाले यही गीत गाउँदै फिनालेमा आफ्नो जबरजस्त प्रस्तुति दिइन् ।

उनी आफ्नो जितलाई सम्पूर्ण सिन्धुपालञ्चोकवासीप्रति समर्पित गर्छिन् । 'मेरो जित सम्पूर्ण सिन्धुपालञ्चोकवासीको जित हो,' २० वर्षीया गंगाले सुनाइन्, 'जित्छु भन्ने दिमागमा अलिकति पनि थिएन । म विजेता हुनुमा सिन्धुपालञ्चोक वासीको हात छ । पालिकादेखि, नगरपालिकादेखि नेतादेखि सबैलाई धन्यवाद दिन चाहन्छु ।' 

आइडलको अडिसनमै पनि निर्णायकहरुलाई गंगाले आफ्नो स्वरको जादु चखाइन् । गंगाले देउडा गाइरहँदा इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले थप्पडी बजाउँदै हौसला थपिदिएका थिए । यही अडिसनसँगै सुरु भएको साढे तीन महिनाको आइडल यात्रा अब गंगाको जीवनमा नबिर्सने क्षण बनेर हृदयमा बसेको छ ।

साथीहरु कस्ता पर्लान् ? आइडलको यात्रा सुरु गर्नुअघि गंगालाई लागेको थियो । तर साथीहरु पनि उस्तै मिल्ने पाइन् । सबै साथी सहयोगी । गंगाका लागि आइडल दोस्रो परिवार बन्यो । आइडलको यही तीन महिने यात्रामा गंगाले गायनको कक्षा पाइन् । गीतका शब्दबारे जान्ने मौका पाइन्, नोटेसनबारे बुझिन् । संगीतबारे थुप्रै ज्ञान बटुल्दै यो यात्राले गंगालाई निखारिदियो ।

Ganga following the ocean of music

'यहाँ आइसकेपछि साथि, प्रतिस्पर्धी गुरुहरुबाट सिकेँ । अहिले खुसी छु, जे होस् पहिलाको भन्दा धेरै बद्लाव ममा आएको छ । निखारिएको छु,' आफूलाई नियाल्दै गंगाले भनिन् ।

आइडलमै गंगाले गुरु मीन गुरुङसँग संगीत सिकिन् । त्यही सिकाइ नै उनका लागि गायनको पहिलो कक्षा बन्यो । 'गुरुसँग नभेटुन्जेल मलाई मञ्चको महत्त्व थाहा थिएन । न शब्द थाहा थियो न नोटेसन । तर, गुरुसँग लिरिक्स र नोटेसन, स्केल कहाँ सिक्ने कसरी सिक्ने थाहा भयो । त्यो सबै गुरुले सिकाउनुभयो । स्केल सिकाउनु भयो,' उनले भनिन् । 

आफूले कहिलेदेखि गाउन थालियो, गंगालाई ठ्याक्कै थाहा छैन । परिवारले भनेअनुसार बच्चैदेखि गाउने गर्थिन् रे । तर, उनी आफैलाई गाउन सक्छु भन्ने आभास भएको कक्षा ६ मा हो । त्यतिबेला शान्ति श्री परियारको गीत आएको थियो– 'बोल माया' । त्यो गीत गंगालाई असाध्यै मनपर्ने । त्यतिबेला कक्षामा एक दिन गाइदिइन् । सुरुमा साथीहरुको सामूहमा गाएकी थिइन् । साथीहरुले शिक्षकका अगाडि गाउन लगाए, उनले फेरि गाइदिइन् । त्यसपछि विद्यालयको कार्यक्रममा गाइन् । ‘त्यहाँबाट गंगाले पनि गाउँदो रहेछ त भनेर सबैले भन्न थाल्नुभयो, राम्रो गाउँछ भनेर भन्नुभयो,' गंगा सम्झिन्छिन् । आफ्नो प्रतिभाले अरुले चिनिदिँदा नै गंगामा संगीतको प्रभाव बढ्न थालेको हो । 

आइडल विजेता बनिसकेपछि अब गंगालाई गंगाझैं संगीतमा बगिरहनुछ । थुप्रै विधालाई आफूसँगै समाहित गर्दै संगीतको महासागर पुग्नुछ । अहिले भने गंगाको ध्यान आइडलसँगको एक वर्षे सम्झौता पूरा गर्नुमै छ । आइडलबीच नै गंगाले आफूलाई आइडलसँग जोडिदिने रामकुमार नेपालीसँग मिलेर, 'बेलबटम' बोलको गीत गाइन् । उनीभित्रको स्वरलाई रामकुमारले त्यतिबेलै चिनिसकेको थियो । गंगाको यही नै पहिलो स्टुडियो रेकर्ड हो । अब गंगालाई यसरी नै संगीतको सुरमा रमाउनुछ । 

गाउनका लागि गंगाले परिवारबाटै प्रेरणा पाएकी हुन् । बुबा, आमा र दाइले उनलाई सधैं हौसला दिइरहे । ग्रान्ड फिनालेभन्दा अघि आयोजकले सार्वजनिक गरेको एक भिडियोमा गंगाका दाइले भनेका थिए, 'बहिनीले जितिदियोस् भन्ने मनमा छ ।' परिवारले कामना गरेझैं, आइडलको विजेता बनिन् गंगा ।

अहिले परिवारमा खुसीयाली छाएको छ । 'मेरो परिवारले मलाई एकदम हौसला दिनुभयो । उहाँहरुको त अहिले खुसीको सीमा छैन,' गंगा सुनाउँछिन् ।

अनि उपहार रकमको के गर्ने त ? रमाइलो प्रश्नको जवाफ गंगाले उसैगरी दिइन् । उपहार रकम उनी संगीत र घर-परिवारका लागि जोहो गर्न चाहन्छिन् । 'यो पैसा संगीतमा पनि लगानी गर्ने हो । घरकै लागि पनि जोहो गर्ने हो,' मुसुक्क हाँस्दै सुनाइन् । 

Ganga following the ocean of music

विजेता बनेसँगै गंगाको मन गह्रौं भएको छ । कारण, अब आइडलको माहोल सधैं उस्तै रहनेछैन । अडिसनमा आउँदा २३ जना प्रतिस्पर्धी थिए । होस्टेलमा बस्दा गंगालाई बिहे भोजमा आएजस्तो लाग्थ्यो । सधैं रमाइलो हुन्थ्यो, नाच्ने/गाउने हुन्थ्यो । फिनालेसम्म आउँदा पाँच जना मात्रै बाँकी भयो । त्यतिबेला पहिलो पटक उनको मन खल्लो बन्यो । हप्तैपिच्छे साथिहरु 'आउट' हुँदै गए । 'साथीहरु छुटिँदै जाँदा मन अमिलो हुन्थ्यो । तर, साथीहरुको प्रस्तुति अनि जजहरुको कमेन्टले रमाइलोसँगै हौसला मिल्थ्यो,' गंगा सुनाउँछिन्, 'आइडलको क्याम्पमा बसुन्जेल दोस्रो परिवार पाएँ । तर, अब त त्यो माहोल हुँदैन । धेरै खल्लो अनुभव भइरहेको छ ।'

गंगाले आफ्ना प्रतिस्पर्धीलाई सधैं साथीकै रुपमा हेरिन् । अन्तिम प्रतिस्पर्धीहरु बबिता थापा मगर, दर्शना गन्धारी, अभिनय खाती, मृनल मानन्धरसँग पनि दिदीबहिनीजस्तो सम्बन्ध कायम रह्यो । त्यसैले जित्नैपर्छ भन्ने होडबाजी कम रहेको उनी सुनाउँछिन् । 'हामी दिदीबहिनीजस्तै सम्बन्ध भयो । कहिले पनि उहाँ मेरो प्रतिस्पर्धी हो भन्ने लागेन । तर आफ्नो बेस्ट दिनुपर्छ भन्ने थियो । त्यही अनुरुपले मेहनत गरेँ,' आइडल जित्दाको अनुभव सुनाउँछिन्, 'विजेता घोषणा गर्दा म स्वतन्त्र भएर बसेको थिएँ । मभन्दा अगाडि ऊ जाने हो कि भनेर केही अनुभव भएकै थिएन । पाँच जनामा जो पुगे पनि राम्रो हुन्छ भन्ने थियो । जितिन्छ वा जितिँदैन भन्ने पक्ष कहिल्यै आएन । आइहाल्यो, अब जहाँसम्म पुगिन्छ त्यहीँ पुग्ने हो भनेर यहाँसम्म आइपुगेँ ।' 

आइडलको यही यात्राले गंगालाई मञ्चमा खुल्न सिकायो  । पहिलो पटक मञ्च छिर्न डराएकी उनका लागि पछि त मञ्च नै सबैभन्दा रमाइलो प्लाटफर्म बन्यो । रोचक कुरा त उनले जुन गीतबाट आइडलको मञ्च टेकेकी थिइन्, त्यही देउडा गीतमार्फत यात्रालाई टुङ्ग्याइन् ।‘सुरु जहाँबाट भएको थियो, अन्त्य पनि त्यहीँबाट गर्न चाहन्थे,' गंगाले सुनाइन् ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully