नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५ अन्तर्गत 'रुट्स एण्ड रिफ्लेक्सन' प्रदर्शनीमा १५० कलाकारका २०० भन्दा बढी चित्र राखिएका छन्।
What you should know
काठमाडौँ — 'नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५' (एनएसी फेस्ट) आजदेखि सुरु भएको छ । नेपाल आर्ट काउन्सिलमा 'रुट्स एण्ड रिफ्लेक्सन' शीर्षकमा चित्रकला प्रदर्शनी गर्दै एनएसी फेस्ट सुरु भएको हो ।
'रुट्स एण्ड रिफ्लेक्सन' शीर्षकमा भएको चित्रकलामा विशेष त नेपालको इन्द्रजात्रा, देवीदेवतादेखि नेपाली संस्कृति र सभ्यता झल्काउने किसिमका चित्रकला प्रस्तुत थिए । काउन्सिलको भुइँतल्लामा इन्द्रजात्रा चित्रित चित्रकला प्रस्तुत थिए । भित्ताभरी झुन्ड्याइएका चित्रकलामा कतै अबिर कतै मानिसहरु धीमे बाजा बजाउँदै गरेको देखिन्छ । विभिन्न मुखौटा लगाएर लाखे नाचेका चित्रकलादेखि जात्राहरु झल्काउने चित्र नै यहाँ देखिन्छन् । काठमाडौंका स्थानीयले मनाउने पर्व इन्द्रजात्रा यही समयमा सुरु हुने हुँदा पर्यटक आकर्षित गर्ने उद्देश्यले फेस्टिभलले नियोजित रुपमै इन्द्रजात्रालाई चित्रकलाको मुख्य केन्द्र बनाएको हो ।
दोस्रो तल्लाको चित्रकलामा भगवानहरुकै चित्रकला बढी छ । नेपालका विभिन्न देवी देवतालाई शान्तिसँग जोड्दै कलाकारले 'रुट्स एण्ड रिफ्लेक्सन'मा सरिक हुन आवेदनमा पठाइएका चित्रकला नै काउन्सिलले छनोट गर्दै प्रदर्शनीमा राखेको हो । दोस्रो तल्लाको प्रवेशद्वारबाटै देखिने गरेर लोकचित्रकारको चित्रकला प्रदर्शनीमा राखिएको थियो । उनको चित्रकलामा नेवार समुदायको परम्परागत प्रवेशद्वार देखिन्छ । चित्रकलाको रंगदेखि त्यसमा बुनिएका मिहिन चित्रहरुले प्रवेशद्वार दुरुस्तै काठमाडौंका हरेक घरमा देखिने द्वारजस्तै देखिन्छ । 'यो द्वारमा भगवानकै चित्र पनि देखिन्छ । यो तल्लामा भगवानका फरक स्वरुप अनि त्यसलाई पनि शान्तिसँग जोड्दै चित्रकला देख्न सक्नुहुन्छ,'दोस्रो तल्लामा भेटिएका अनिश जोशीले भने । फेस्टका उनी स्वयंसेवकसमेत हुन् । तेस्रो तल्लामा थांकादेखि मूर्तिकलासमेत प्रदर्शनीमा राखिएको थियो । भैरवको चित्रकलादेखि बुद्धका मूर्तिकलाले यो तल्ला भरिएको थियो ।
'रुट्स एण्ड रिफ्लेक्सन'का लागि फेस्टले आवेदन खुल्ला गरेको थियो । यसमा डेढ सय कलाकारका २ सयभन्दा बढी चित्रकला प्रदर्शनीका लागि छानिएका हुन् । यो प्रदर्शनी 'नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५' अन्तर्गत नै सुरु भएको हो । नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भदौ २० देखि सुरु भएको यो फेस्ट असोज ११ सम्म चल्नेछ ।
काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा आयोजना हुने यो कार्यक्रम १२ भन्दा बढी संघ–संस्थासँगको सहकार्यमा २१ दिनसम्म चल्नेछ । ४० भन्दा बढी गतिविधि/कार्यक्रम समेटिने यो फेस्टिभलका संयोजक हुन् नेपाल आर्ट काउन्सिलकी क्युरेटर आयुषा श्रेष्ठ । आयुषाका अनुसार नेपालको संस्कृति पर्यटनलाई प्रवर्द्धन गर्न यो फेस्टिभल सुरु गरिएको हो । बुधबार 'रुट्स एण्ड रिफ्लेक्सन'का चित्रकला हेर्न काउन्सिलमा दर्शकको भीड लागेको थियो ।
फेस्टिभल संयोजक आयुषाका अनुसार फेस्टिभल हुने शहरहरूमा त्यहाँ हुने सम्पदाको भ्रमणदेखि त्यहाँका खानाको ‘सेलिब्रेसन’लगायतका विभिन्न कार्यक्रम हुनेछन् । फेस्टिभलको समापन पाटन संग्रहालयमा हुनेछ ।
