तामाङ चलचित्र संघले मनायो '३० औं तामाङ चलचित्र प्रदर्शन दिवस'

वि.सं. २०५२ भदौ १६ मा पहिलोपटक तामाङ चलचित्र प्रदर्शन भएको दिनको सम्झनामा संघले हरेक वर्ष तामाङ चलचित्र प्रदर्शन दिवस मनाउँदै आएको छ ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Tamang Movie Association celebrated '30th Tamang Movie Exhibition Day'

What you should know

काठमाडौँ — तामाङ चलचित्र संघले ३० औं तामाङ चलचित्र प्रदर्शन दिवस मनाएको छ । काठमाडौंमा शनिबार विभिन्न स्रष्टा सम्मान र सांस्कृतिक कार्यक्रमसहित तामाङ चलचित्र दिवस मनाइएको हो ।

वि.सं. २०५२ भदौ १६ मा पहिलोपटक तामाङ चलचित्र प्रदर्शन भएको दिनको सम्झनामा संघले हरेक वर्ष तामाङ चलचित्र प्रदर्शन दिवस मनाउँदै आएको छ । 

कार्यक्रममा चलचित्र निर्माता, निर्देशक, नायक/नायिका, गायक/गायिका, संगीतकार, नृत्य निर्देशक, हास्य कलाकार, सामाजिक अभियन्तालगायत २२ विधामा टीएफआर सम्मान प्रदान गरिएको थियो । 

निर्माता कोपिला लामा, निर्देशक हुत्त सञ्जय लामा, नायक जय स्याङ्तान, नायिका संगीता लामा, अभिनेता राजकुमार स्याङ्तान, अभिनेत्री मायादेवी मोक्तान, गायक सौगात मोक्तान, गायिका लक्ष्मी स्याङ्तान, गीतकार कुमार स्याङ्बा, संगीतकार उत्तर लामा, हास्य कलाकार गोर्खा घिसिङ, खलनायक विकाश स्याङ्तान, छायांकन प्रकाश तामाङ, सम्पादन रोशन फ्युबा तामाङ, नृत्य निर्देशक बुद्ध लामा, द्वन्द्व निर्देशक शंकर महर्जन, सामाजिक अभियन्ता फुर्वा दोर्जे मोक्तान, पत्रकार हिरोज लोप्चन, संघका कार्यसमिति सदस्य मनिका सिङ्तान, प्रोडक्सन हाउस/ब्यानर जिम्बा फिल्म्स प्रोडक्सनलाई सम्मान गरिएको थियो । 

Tamang Movie Association celebrated '30th Tamang Movie Exhibition Day'टीएफआर सम्मान ग्रहण गर्दै पत्रकार हिरोज लोप्चन । 

कार्यक्रममा प्रमुख अतिथि काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाले तामाङ चलचित्र केवल मनोरञ्जन मात्र नभई समुदायको संस्कृति, भाषा र पहिचानलाई बचाउने आन्दोलन भएको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ चलचित्रलाई राष्ट्रिय चलचित्र उद्योगको अविभाज्य हिस्सा भएको बताए । तामाङ चलचित्रले नेपाली चलचित्रलाई विविधता दिएको भन्दै उनले यसलाई अझ प्राविधिक र बजारमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिए । 

त्यस्तै, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले नयाँ पुस्ताका कलाकारलाई अवसर दिनुपर्नेमा जोड दिए । संघका अध्यक्ष विनयक लोप्चनले तामाङ चलचित्र संघको यात्राबारे स्मरण गराएका थिए । 

कार्यक्रममा विश्व दोङ, लक्ष्मी स्याङ्तान, काजल तामाङ, संगीता दोङलगायत कलाकारले सांगीतिक र नाट्यमञ्च प्रस्तुति दिए । कार्यक्रममा झाँक्री, ताम्बाले अतिथिलाई स्वागत गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully