शरत्चन्द्र चटोपाध्यायको उपन्यासमा आधारित यो फिल्ममार्फत नै अभिनेत्री विद्या बालनले हिन्दी फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी थिइन्।
काठमाडौँ — विद्या बालन स्टारर हिन्दी फिल्म ‘परिनीता’ पुन: हलमा आएको छ । प्रदीप सरकार निर्देशित यो फिल्मको पहिलो प्रदर्शन सन् २००५ मा भएको थियो ।
प्रदर्शनको २० वर्ष पूरा भएको उपलक्ष्यमा फिल्म रि-रिलिज गरिएको हो।
शुक्रबारदेखि(२९ अगस्ट) फिल्म भारतमा पीभीआर इनक्स चेनका १७०० भन्दा बढी स्क्रिनहरूमा एक साताका लागि देखाउन लागिएको हो । भारतीय दर्शकले अबको एक सातासम्म फिल्मको एट-के भर्सनको मज्जा लिन पाउने भएका हुन् । नयाँ ट्रेलरसहित बाहिरिएको यो फिल्मको साउन्ड सिस्टममासमेत केही परिवर्तन गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
शरत्चन्द्र चटोपाध्यायको उपन्यासमा आधारित यो फिल्ममार्फत नै अभिनेत्री बालनले हिन्दी फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी थिइन्। भारतीय सिनेमाको हकमा भने यो उनको दोस्रो फिल्म हो। फिल्ममा बालनसँगै सैफ अलि खान, सञ्जय दत्त, रेखा, राइमा सेनलगायतका कलाकारको अभिनय रहेको छ।
यो रि-रिलिजसँगै सरकार निर्देशित ‘परिनीता’ एट के रेजोलुसनमा पुन:प्रदर्शित पहिलो भारतीय क्लासिक सिनेमा बन्न पुगेको छ।
