सुशीला कोइराला नाटकघरमा प्रस्तुत नाटकले ७० वर्षअघिको नेपाली समाज चित्रण गर्दै प्रजातन्त्रपछिका प्रगतिशील विचार, जातीय विभेद, अन्धविश्वास र लैंगिक असमानताजस्ता विषयलाई पात्रका संवाद र द्वन्द्वमार्फत जीवन्त तुल्याएको छ ।
What you should know
विराटनगर — विराटनगरको आरोहण गुरुकुलका रंगकर्मीहरुले हृदयचन्द्रसिंह प्रधानको चर्चित मनोसामाजिक उपन्यास ‘एक चिहान’ लाई रंगमञ्चमा उतारेका छन् । सुशीला कोइराला नाटकघरको मञ्चमा प्रस्तुत यो नाटकले सात दशक अघिको नेपाली समाजलाई चित्रण गरेको छ ।
माध्यमिक शिक्षा परिषद्को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरिएको ‘एक चिहान’ धेरै विद्यार्थीका लागि पाठ्यपुस्तकको पानामा मात्र सीमित कथा थियो । तर, युवा रंगकर्मी दीपेश भण्डारीको परिकल्पना र निर्देशनले यो उपन्यास अब नाटकमा रूपान्तरण भएको छ ।
गुरुकुलका नयाँ र पुराना कलाकारहरूलाई लिएर गरिएको कार्यशालापछि गरिएको पूर्वाभ्यासले नाटकलाई प्राकृतिक र प्रभावकारी बनाएको छ । यहाँ पात्रहरूले संवाद बोलेका छैनन्, समाजको आवाज बनिरहेका छन् ।
नाटकले दर्शकलाई सात दशकअघिको नेपाली समाजमा फर्काउँछ । प्रजातन्त्रपछिको प्रगतिशील विचार, जातीय विभेद र अन्धविश्वास, लैंगिक असमानता र नारीमाथिको दृष्टिकोण यी यस्ता तमाम विषयलाई नाटकले पात्रका हरेक क्रिया, संवाद र द्वन्द्वमार्फत जीवन्त तुल्याएको छ ।
नाटकमा समाजको त्यही मानसिकता प्रकट हुन्छ जहाँ प्रगतिशीलता बोलिन्छ तर परम्परागत जालले खुट्टा बाँध्छ । त्यसैले, दर्शकहरू आजको वास्तविकतालाई समेत नाटकको दृश्यमा खोज्न बाध्य हुन्छन् ।
नाटकका कलाकारहरूले उपन्यासका पात्रलाई स्वाभाविक जीवन दिएका छन् । अष्टनारायण (महेश पासवान) ले द्वन्द्व र आत्मसंघर्ष बोकेको पात्रका रूपमा गहिरो प्रभाव छाडेका छन् । लतमाया (संगीता यादव) ले संवेदनशीलता र विद्रोहबीचको संघर्षलाई जीवन्त बनाएकी छिन् ।
शिवनारायण (उद्धव सापकोटा) हाकुमाया (दीक्षा चौधरी) पुरानो समाजको मानसिकताका प्रतीक बनेका छन् । दुवैको अभिनय तारिफयोग्य छ ।
गौरव खतिवडा, उपासना राई, शिवराज भुजेल, प्रदीप दाहाल, अमिशा वाग्ले, दिव्यांका खड्का, सागर घिमिरे, निशान चौहान राईले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् ।
पात्रहरूले संवाद मात्र उच्चारण गरेका छैनन्, समाजको पीडा, विद्रोह र परिवर्तनको चाहना समेत व्यक्त गरेका छन् ।
विकास पराजुलीले सात दशकअघिको ग्रामीण जीवनलाई ज्यूँका त्यूँ उतारेका छन्, मञ्चमार्फत । माटोको गन्ध, झुपडीको रूप, भाँडाकुँडा र परम्परागत पोसाकले दर्शकलाई त्यो समय यात्रामा डोहोर्याउँछ ।
भरत कार्कीले भावनाका उतारचढावलाई रंगसँगै चलायमान गरेका छन् । पार्श्व आवाजमार्फत रमेशचन्द्र अधिकारीले कथावाचन र घटनाक्रमबीचको भावनात्मक पुल बनेर दर्शकलाई गहिरो दहमा डुबुल्की मार्न बाध्य पारेका छन् ।
नाटकले समाजको इतिहास, मानसिकता र संवेदनालाई मात्र पुनः जीवित तुल्याएको छैन, कलाकार र साहित्यबीचको पुल पनि बनेको छ ।
नाटक हेरेपछि लेखक सीमा आभासले भनिन्, ‘एक चिहान नाटकमार्फत कलाकारहरूले साहित्यिक स्वाद मात्रै पस्किएका छैनन्, समाजको इतिहास, मानसिकता र संवेदनाको जीवन्त चित्रण पनि गरेका छन् ।’
