५१ सय मिटर उचाइमा भजन छायांकन 

कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले यो स्थानले प्रचुर सम्भावना बोकेको छ ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Bhajan filming at a height of 5100 meters

What you should know

काठमाडौँ — हुम्लाको लाप्चा प्रवर्धनको उद्देश्यले छायांकन गरिएको भजन 'जय जय शंकर' सार्वजनिक गरिएको छ । 

गीतको भिडियो हुम्लाको लिमी उपत्यकाको लाप्चा (५१०० मिटर) मा खिचिएको हो । कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले यो स्थानले प्रचुर सम्भावना बोकेको छ ।

सुगम पोखरेलको स्वरमा महादेवप्रति समर्पित भक्ति भजन कांग्रेस महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा काठमाडौंमा लोकार्पण गरिएको हो । स्वर्गीय नातिकाजीको सङ्गीत रहेको पुरानो भजनको मोहित मुनालले पुनः संयोजन तथा नयाँ सङ्गीत संयोजन गरेका छन्। गीतमा थप शब्द विजय अधिकारीले दिएका छन् ।

भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय छ भने निर्देशन विजय अधिकारीले गरेका छन् । किरण थापाले कोरियोग्राफी गरेको यस भिडियोमा हरि हुमागाईँको छायाङ्कन निर्देशन तथा भरत रेग्मीको सम्पादन रहेको छ । 

पूर्व पर्यटनमन्त्री समेत रहेका जीवनबहादुर शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवर्द्धनमा ठुलो योगदान गर्ने बताए। उनले भने, 'यस भिडियोले हामी सबैलाई झकझक्याउनेछ । हाम्रा स्रोत प्रचुर छन् तर कानुनी संरचना बलियो भए देशलाई पाल्न सक्ने ठाउँ यही हो ।'

महामन्त्री थापाले गीतप्रति प्रशंसा व्यक्त गर्दै भने, 'सुगम पोखरेलको शक्तिशाली आवाज र बद्रीको अभिनयले गीतलाई जीवन्त बनाएको छ । कर्णालीमा दुःख मात्रै छ भन्ने होइन, यस्ता अनुपम स्थलहरू पनि छन् भन्ने सन्देश यसले दिएको छ। सरकारले जिम्मेवारी खेल्नुपर्ने ठाउँमा यो टिमले गरेको पहल प्रशंसनीय छ ।'

निर्देशक विजय अधिकारीले पुराणमा वर्णित लङ्काका राजा रावणले कैलाश पर्वत पुगेर गरेको साधनाको प्रसङ्ग स्मरण गर्दै भने, 'हामीले पनि लाप्चा पुगेर कैलाश र मानसरोवर प्रत्यक्ष देख्यौं र त्यही स्थानमा यो गीतलाई जीवित तुल्यायौं ।'

कान्तिपुर

Link copied successfully