तीन दिनसम्म चलेको २८ औं संस्करणमा १३ देशका प्रतिस्पर्धीले दुई गीतमाथि आफ्नो कौशल प्रदर्शन गरे।
काठमाडौँ — फिनिश गितारिस्ट आपो (द एन्गस) ले फिनल्यान्डमा भएको 'एयर गितार विश्व च्याम्पियनसिप्स' जितेका छन् । आपोले सन् २००० पछि आफ्नो देशका लागि जितेको यो पहिलो उपलब्धि हो ।
यो वर्षको 'एयर गितार विश्व च्याम्पियनसिप्स' भव्य रुपले सम्पन्न भयो । तीन दिनसम्म चलेको यो प्रतिस्पर्धामा १३ देशका प्रतिस्पर्धीहरू सहभागी थिए । च्याम्पियनसिपको २८ औं संस्करणमा प्रतिस्पर्धीले दुई गीतमाथि प्रदर्शन गरेका थिए ।
यो प्रदर्शनमा प्रतिस्पर्धीले हावामै गीतार निकालेर बजाएको अभिनय गर्छन् । यसमा प्रतिस्पर्धी जोशिएर गीतार बजाएको अभिनय गर्छन्, उनीहरु फरक पहिरनमा आफूलाई मञ्चमा प्रस्तुत गर्छन् । तर, मञ्चमा उनीहरुले वास्तविक वाद्यवादन भने बजाउन पाउँदैनन् । यो दुई घन्टाको विश्व च्याम्पियनसिप्समा गत वर्षका विजेतादेखि आठ राष्ट्रिय च्याम्पियनलगायतका थुप्रै शीर्ष प्रतिस्पर्धीहरुको सहभागिता थियो ।
यो प्रतिस्पर्धाको विजेतालाई पाँच सदस्यीय पर्फर्मिङ आर्ट्सका विशेषज्ञहरूको निर्णायकले मिलेर छान्छ। विजेतालाई पुरस्कारमा वास्तविक गीतार नै प्रदान गर्दै आइरहेको छ । यो प्रतियोगिता सन् १९९६ देखि हुँदै आएको हो । यो प्रतिस्पर्धाका आयोजकका अनुसार एयर गितार बजाएपछि 'संसारमा युद्ध समाप्त हुन्छ, जलवायु परिवर्तन रोकिन्छ र सबै नराम्रा कुराहरू गायब हुन्छन् ।'
