'नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल' हुँदै 

नेपालको संस्कृति प्रवर्द्धन गर्न आयोजित फेस्टिभलमा ४० भन्दा बढी कार्यक्रम हुनेछ ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Through 'Nepal Art and Culture Festival'

What you should know

काठमाडौँ — नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५ (एनएसी फेस्ट) हुने भएको छ । भदौ २० देखि असोज ११ सम्म आयोजना हुने यो कार्यक्रमले नेपालको कला, खाना र सम्पदालाई प्रवर्द्धन गर्ने उदेश्य राखेको छ । 

काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा आयोजना हुने यो कार्यक्रमको केन्द्रविन्दुमा इन्द्रजात्रा हुनेछ । १२ भन्दा बढी संघ–संस्थासँगको सहकार्यमा २१ दिनसम्म चल्ने यो कार्यक्रममा ४० भन्दा बढी गतिविधि/कार्यक्रम समेटिने फेस्टिभल संयोजक एवं नेपाल आर्ट काउन्सिलकी क्युरेटर आयुषा श्रेष्ठले जनाइन् । स्थानीयले मनाउने पर्व इन्द्रजात्रा यही समयमा हुने हुँदा पर्यटक आकर्षित गर्ने उद्देश्यले फेस्टिभलले जात्राकै समयमा ‘एनएसी फेस्ट’ गर्ने भएको हो ।

‘नेपाल संस्कृति पर्यटनलाई प्रवर्द्धन गर्न हामीले यो कार्यक्रम आयोजना गर्दैछौं,’ आयुषाले भनिन् । नेपाल आर्ट काउन्सिलबाट फेस्टिभलको सुरुवात हुनेछ । कार्यक्रमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुने पनि आयुषाले जनाइन् । उनका अनुसार फेस्टिभल हुने शहरहरूमा त्यहाँ हुने सम्पदाको भ्रमणदेखि त्यहाँका खानाको ‘सेलिब्रेसन’लगायतका विभिन्न कार्यक्रम हुनेछन् । असोज ११ मा पाटन संग्रहालयमा कार्यक्रमको समापन हुनेछ ।

नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शम्सेर जबराले आफूहरूले एक वर्षअघि नै यो कार्यक्रमको परिकल्पना गरेको बताए । ‘पहिलो वर्ष सानो रूपमा सुरु गर्ने सोचेका थियौं । तर, पहिलो वर्षमै यो कार्यक्रम विशाल भयो । मानिसहरूको यस्तै विशाल सहभागितामा यो कार्यक्रमलाई झन् भव्यताका साथ मनाउँदै जानेछौं,’ अध्यक्ष जबराले बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको धरोहर, सम्पदालाई विश्वसामू चिनाउन यो कार्यक्रमसँग जोडिएको बताए । ‘हाम्रो संस्कृतिको संरक्षणसँगै हाम्रो धरोहर, सम्पदाको विशिष्टता र वैभवतालाई संसारभर चिनाउनुपर्छ भनेर जोडिएका हौं । यो पक्कै पनि सुरुवात हो,’ जोशीले भने, ‘यो कार्यक्रममा निजी संघ–संस्थाले पनि साथ दिनु भएको छ । विश्वमा नेपालको पर्यटनका रूपमा हिमाल मात्रै पुगेको छ । तर, संस्कृति, खाना र सम्पदामा हामी जति धनी भए पनि यी कुरा छायामा परेको देखिन्छ ।’

नेपालको संस्कृतिको वैभवतालाई प्रचार गर्ने, पर्यटकको संख्या बढाएर राष्ट्रिय आय आर्जनमा पनि योगदान बढाउने अपेक्षासहित बोर्डले ‘एनएसी’सँग सहकार्य गरेको अध्यक्ष जोशीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully