नेपालका १० सहरमा आयोजना हुने कन्सर्टले स्थानीय कला र संगीतलाई प्राथमिकतामा राख्नेछ, जसले सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
काठमाडौँ — 'झुमा लिम्बु एण्ड दि रैथाने ब्यान्ड'ले भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा पहिलो कन्सर्ट गर्दैछ ।
फिल्म 'जारी २'को सहकार्यमा ब्यान्डले 'रैथाने घुमफिर कन्सर्ट २०८२' आयोजना गर्ने भएको हो । 'रैथाने घुमफिर' नेपालका १० सहरमा आयोजना हुनेछ । कन्सर्ट आयोजना हुने स्थानका स्थानीय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथामिकतामा राख्दै झुमाको समूहले प्रस्तुति दिनेछन् ।
यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीलगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर ब्यान्ड गुञ्जनेछ । गायिका झुमा यो यात्राले गाउँ र सहरको संगीतलाई जोड्ने धारणा राख्छिन् ।
'यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौं । रैथाने घुमफिरले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ,' काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झुमाले भनिन् ।
यो वर्ष नेपालकेन्द्रित भए पनि अर्को वर्षदेखि यात्रालाई डायसपोरामा पुर्याउने झुमाको योजना छ । एलओडीको कन्सर्टमा भने 'जारी २'को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्ने जनाइएको छ ।
