लोकगायिका आलेलाई 'सरु संगीत राष्ट्रिय पुरस्कार' 

आलेलाई स्व. सरु निरौलाको स्मृतिमा स्थापित पुरस्कार २५ हजार नगद राशिसहित प्रदान गरिनेछ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

'Saru Sangeet National Award' to folk singer Ale

काठमाडौँ — ललितपुरको टिकाथलीस्थित ‘लोकप्रिय सरु संगीत घर’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार लोकगायिका तथा कलाकार कविता आलेलाई प्रदान गर्ने भएको छ ।

लोक संगीतको क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहेकी आलेले मौलिक सिर्जनामार्फत विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गर्न लागिएको हो । यो पुरस्कार प्रतिष्ठित कलाकार तथा समाजसेवी स्व. सरु (सरस्वती) निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला र परिवारले स्थापना गरेका हुन् । गत वर्ष पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी यस वर्षदेखि औपचारिक रूपमा पुरस्कार वितरण थालिएको जेठा छोरा तथा संगीतकार डेनी निरौलाले जानकारी दिए ।

प्रतिभा छनोट समितिको संयोजक संगीतकार कोमल निरौला छन् भने सदस्यहरूमा वरिष्ठ संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई र साहित्यकार डा. रत्नमणि नेपाल रहेका छन् । डेनी निरौला नै समितिका सदस्यसचिव हुन् । 

२५ हजार नगद राशिसहितको पुरस्कार भदौ १४ गते शनिबार विशेष समारोहबीच प्रदान गरिनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully