जापानमा नेपाली संगीत महोत्सव हुने

महोत्सवमा स्वर, द एज र कबवेब-ले विशेष प्रस्तुति दिनेछन्।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Nepali music festival to be held in Japan

काठमाडौँ — जापानका चार ठूला शहर-टोकियो, ओसाका, फुकुओका र नागोयामा ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने भएको छ ।आगामी अगस्ट महिनामा ‘नेपाली संगीतलाई विश्वसँग जोड्ने’ मुख्य उद्देश्यसहित सुरु हुन लागेको यो महोत्सवले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्नेछ।

महोत्सवमा नेपालको चर्चित र लोकप्रिय संगीत समूहहरू-स्वर, द एज र कबवेब-ले विशेष प्रस्तुति दिनेछन्। परम्परागत नेपाली धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने स्वर ब्यान्डले आफ्ना चर्चित गीतहरू ‘अपरिभाषित’, ‘बादल सारी’, ‘म मरे पनि’ जस्ता गीतमार्फत दर्शकको मन जित्ने तयारी गरेको छ।

भावनात्मक ऊर्जा र सामाजिक सन्देश समेटिएका गीतमार्फत युवा पुस्तासँग गहिरो सम्बन्ध बनाउँदै आएको द एज ब्यान्डले यो महोत्सवलाई आफ्नो २५औँ वार्षिकोत्सवकै रूपमा विशेष बनाउँदैछ। नेपाली रक संगीतमा क्रान्ति ल्याएको कबवेब ब्यान्डको उपस्थिति पनि कार्यक्रमको विशेष आकर्षण मानिएको छ।

फेस्टिभल अगस्ट ३ मा टोकियोको बेल साले टाकाडानोबाबाबाट सुरु हुनेछ भने क्रमशः ओसाकाको नाम्बा ह्याच, फुकुओकाको जेप्प फुकुओका र नागोयाको डायमन्ड हल हुँदै अगाडि बढ्नेछ। प्रवासी नेपाली मात्र नभई जापानी संगीतप्रेमीहरूलाई समेत लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवले नेपाल-जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ।

कार्यक्रमको टिकट मेरोटिकटमार्फत अनलाइन उपलब्ध हुनेछ। अर्ली बर्ड, स्ट्यान्डर्ड, फ्यान पिट र भिआइपी प्याकेजसहितका टिकटहरू डिजिटल रूपमा बिक्रीमा ल्याइनेछन्, जसमा ठगी रोक्न विशेष प्रविधि समेत प्रयोग गरिनेछ। नेपाली, जापानी र अंग्रेजी गरी तीनवटै भाषामा प्रचार अभियान गरिनेछ ।

कान्तिपुर

Link copied successfully