कौशी थिएटरमा मञ्चनरत 'कागताली'ले सम्बन्धका मिहीन आयाम केलाउँदै त्रासदी र हाँसोको मिश्रण प्रस्तुत गरेको छ।
What you should know
काठमाडौँ — पति घरभन्दा बाहिर रहेको मौका छोपेर शीतल(वासना तिमिल्सिना)ले घरमा सुरज (रुपेश लामा) लाई निम्तो दिएकी छिन् । सुरज शीतलका क्याम्पसकालीन मित्र ! लेख्दै गरेको किताबको पाण्डुलिपि च्यापेर सुरज शीतलको घर पुग्छन् । उनीहरूले आफू दुई मात्रै भएको बेलामा शीतलका पति विवश टुप्लुक्क आइपुग्लान् भन्ने चिताएकै हुँदैनन् ।
वैवाहिक वर्षगाँठको 'सरप्राइज' दिन घर फर्किएका विवश पत्नीलाई अर्को पुरुषसँग हेर्न सक्दैन् । गोर्खे खुकुरीले सुरजलाई छप्काउन खोज्छन् । त्यही प्रहार र प्रतिकारबीच विवश भुईंमा निष्प्राण लड्छन् । त्यतिकैमा उनै विवशले वर्षगाँठको उपलक्ष्यमा घरमा निम्ता दिएका पाहुना एक-एक गर्दै घरको घन्टी बजाउन आइपुग्छन् । कागताली यस्तो पर्छ; अब शीतल र सुरजले विवशलाई पर्खेको अभिनय गर्नुछ । अनुहारको डर लुकाएर पाहुनासँग हाँस्नुछ । र, बारम्बार यही कुरा दोहोर्यारहनु छ !
डेढ घण्टा लामो नाटक 'कागताली'को रमाइलो पक्ष नै यही हो कि यसले वियोगबीच पनि हाँस्न लगाइरहन्छ । कौशी थिएटरमा मञ्चनरत यो नाटकमा गम्भीर परिस्थितिले सिर्जना गरेका घटनाक्रममा दर्शकलाई सुरुदेखि अन्तिमसम्म हँसाइरहन्छ। 'ट्राजिकमेडी' विधाको यो नाटकले सम्बन्धका मिहीन आयाम केलाउँदै महिला सशक्तीकरणका जटिल सवाल उठाउँछ । नाटकमा केही त्यस्ता दृश्य पनि छन्, जहाँ दर्शक भावनाको गहिराइमा केही बेरलाई डुब्न त डुब्छन् । तर, छिनमै उत्पन्न हुने हाँस्य रसले त्यो भावबाट तैरिन मद्दत गर्छ । निर्देशक नवीनचन्द्र अर्यालले नाटकमार्फत नेपाली समाजको पाखण्डी स्वभाव, दबिएका महिला आवाज, विषाक्त पुरुषत्त्व अनि जटिल प्रेम प्रस्तुत गरिदिएका छन् ।
विवशमार्फत नाटकमा पुरुषत्त्वमाथि व्यंग्य गरिएको छ । विवशको प्रवेश निकै मायालु, प्रेमील शैलीमा हुन्छ । झट्ट हेर्दा लाग्छ, विवशले झैं दुनियामा अन्य पुरुषले पत्नीलाई प्रेम गर्नै सक्दैन ! उसले वैवाहिक वर्षगाँठ भुलेको छैन, पत्नीलाई मनपरेको घाँटीको हार किनिदिएकै छ । पत्नीलाई बोलीपिच्छे प्रेम प्रकट गरिरहन्छ । तर, जब पत्नीले पूजाको नाममा घरमा सुरजलाई निम्तो दिएको सत्य खुल्छ उभित्रको विषाक्त पुरुषत्त्वले त्यो सहन सक्दैन । त्यसैले परिस्थिति नबुझी सोझै शीतलमाथि हिंसा गर्न थाल्छ ।
नाटकमा अन्य त्यस्ता पुरुष पात्र पनि प्रस्तुत छन्, जो महिलाको महिमा गाउन बिर्सन्न । तर, देखावटी रूपमा मात्रै । कर्णेल पात्रले महिला स्वतन्त्रका कुरा उठाउँछ, तर आफ्नै पत्नीलाई घरमै सीमित गराइदिन्छ । अनि निर्धक्क भन्छ,'मेरो सफलताको पछाडि उसको ठूलो हात छ !' केही त्यस्ता पुरुष पात्र पनि मञ्चमा उभ्याइएको छ, जो आफूलाई रक्षक ठान्छ । जब शीतलका दुई साथी पूजा(युविना भट्टराई) र दीक्षा(आकृति बुढोथोकी) मध्यरातमा विवश खोज्न रेस्टुराँतर्फ अघि बढ्छ । प्रहरी इन्स्पेक्टर दिग्विजय(दिपेन्द्र शाही) र टेकजंग कुँवर(जीवन दाहाल) झट्ट उठेर उनीहरुको रक्षा गर्न पछिपछि दौडन्छन् । कारण कर्णेल दम्पती(अमृता काउचा र सुष्मा निरौला)ले नै उनीहरूका रक्षाका लागि त्यहाँ जान अह्राउँछन् । तर, दीक्षा र पूजा आफ्नो सुरक्षा आफैं गर्न सक्ने जवाफ फर्काइदिन्छन् । नाटकमा सुरजजस्तो चरित्रमार्फत सन्तुलन कायम गरिएको छ, सबै पुरुष पुरुषत्त्वले भरिएका छैनन् भन्ने देखाउन । सुरजमार्फत पुरुषभित्रको जोखिमता, नरमपना अनि निर्दोषीलाई देखाइएको छ ।
महिला सशक्तीकरणमा यो नाटक सशक्त छ । जस्तै, नाटकको प्रमुख पात्र शीतल । कक्षामा सधैँ अग्रस्थानमा आउने शीतल वैवाहिक बन्धनले बाँधिएकी छन् । उनका लागि विवशको घर जेलसरह हो । बिहेकै कारण काम त्यागेकी उनी स्वतन्त्रताको लडाइँमा छिन् । त्यसैले उनकै निर्णयले शीतललाई स्वतन्त्रतातर्फ अगाडि बढाउँछ । उक्त चरित्रमा आएको परिवर्तन, शीतलले लिने निर्णयले समाजमा भएका सशक्त महिलाको प्रतिनिधित्व हुन्छ । पूजा र दीक्षा अन्य उदाहरण हुन् । जो पितृसत्तात्मक समाजमा आफ्ना लागि बोल्न सक्छन्, समाजका मान्यता भत्काउँदै आफ्नो पहिचान बनाएका छन् ।
पूजा रेडियो नेपालमा काम गर्छिन् भने दीक्षा नर्स हुन् । नाटकमा पितृसत्तात्मक समाजको संरचनामा दबिएका महिलामाथि पनि व्यंग्य छ । कर्णेल पत्नी बिहेपछि घरमै थुनिइन्, आफ्नो स्वतन्त्रतालाई बिहेसँग सम्झौता गरिन् । बिहेभन्दा अघि काम गर्दै आएकी उनी सन्तान जन्मिएपछि घरकै जिम्मेवारीले थिचिइन् । पितृसत्तात्मक संरचनाले आफूलाई खुम्च्याएको विषयबारे उनी अनविज्ञ छिन् । उल्टै महिला सक्षमतामाथि धक नमानी बोल्छिन्, 'हामी महिलाहरूचाहिँ अझै धेरै सक्षम हुन जरुरी छ के ! समाजमा भइरहेका सत्यलाई छुट्याउन सक्न र आफ्ना कुराहरू प्रस्टसँग राख्ने हुनका लागि हामी छोरी मान्छेहरू एडुकेटेड र इन्डिपेन्डेन्ट हुन एकदमै जरुरी छ ।' यो संवादले कर्णेल पत्नीजस्ता महिलालाई पनि व्यंग्य गरेको छ ।
'कागताली'मा कर्णेल पत्नी मात्रै होइन, अन्य थुप्रै रोचक चरित्रहरू छन् । उनीहरूको भूमिकाले मूल कथामा कतै न कतै प्रभाव पारेको छ । जस्तै यहाँ फिल्म बनाउने एक पात्र छन्, टेकू । नाटकभरि व्यंग्यात्मक शैलीमा प्रस्तुत हुन्छन् उनी । उनले लगाउने पहिरनदेखि शीरको ह्याटले ठम्याउन सकिन्छ कि उनी फिल्मकर्मीभन्दा अरु हुनै सक्दैनन् । बोल्ने शैलीदेखि शरिरकै हाउभाउले उनी निकै फिल्मी देखिन्छन् । यो पात्रको उपस्थिति नै दर्शक हँसाउने तत्त्व हो । अर्का भइहाले, कर्णेल दम्पती । यी दुईको बोल्ने शैली, उनीहरूका विचारबाटै पनि सम्भ्रान्त वर्गले पक्रिरहेको पितृसत्ता पोखिन्छ । केक पुर्याउन आइपुग्ने पात्र उतिकै रमाइला छन् ।
जटिल प्रेम यो नाटकको केन्द्रमा छ । शीतल र सुरजबीच सुरुदेखि नै प्रेम देखाउन खोजिएको छ । दुईका आँखामा अझै पनि कलेज ताकाका प्रेमको अवशेष भेटिन्छन् । तर, त्यो प्रेम अव्यक्त छ । शीतलले कण्ठै पारेका सुरजका कवितामै पनि त्यो भाव प्रकट हुन्छ । उता सुरजलाई दीक्षाले पनि प्रेम गर्छिन् । प्रेम प्रस्ताव पनि राख्छिन् । तर, मूल कथामा यो प्रेमको खासै तालमेल देखिँदैन । उनीहरूका दृश्य हटाउँदा पनि 'कागताली' पूर्ण देखिन्छ । विवश र पूजाबीचमै पनि जटिल सम्बन्ध छ, त्यो पत्ता लगाउन भने नाटक नै हेर्नुस् ।
'कागताली'ले दिने नौलो स्वाद, यसमा प्रयोग कथा वाचन र संगीत हो । संगीत पनि मञ्चमा त्यसै प्रयोग हुँदैन । रेडियो बजाउँदा पृष्ठभूमिमा गीत गुञ्जन्छ । त्यही गीतले निश्चित दृश्यको भावलाई सञ्चार गरिदिन्छ । नाटकमा क्लासिकल गीतको प्रयोग छ, जसले त्यो घटनाको समयमा दर्शकलाई जोडिदिन्छ । त्यसअर्थमा यो नाटकमा प्रयोग गरिएको संगीतले पनि थुप्रै कुरा बोलिरहेको हुन्छ । केही दृश्यबाहेक अधिकांश समय गीत बज्नुको कारण त्यहाँ खुल्छ । त्यहाँ कि त रेडियो बज्दा गीत बज्छ कि त चरित्रहरूले गुनगुनाइरहँदा । नाटकको पहिलो दृश्यमै ओमविक्रम विष्टले गाएको 'म मौनतामा अल्झिरहेको…' संगीत पृष्ठभूमिमा बजिरहेको हुन्छ । जसै चरित्रले रेडियो बन्द गर्छ, तब उक्त संगीत बज्न रोकिन्छ ।
गीत मात्रै होइन यो नाटकमा प्रकाश उतिकै सशक्त रूपले प्रयोग भएको छ । प्रकाशले कुनै चरित्रले गर्न खोजेको कार्यलाई स्पष्टसँग ध्यान केन्द्रित गराइदिन्छ । जस्तै, जति-जति बेला सितल दिवसका लागि ढोका खोल्न ढोकामा पुग्छन्, प्रकाशले शीतल र उनको हाउभाउलाई देखाउँछ । त्यसरी नै भान्साकै मात्र दृश्य देखाउनु पर्दा, त्यहाँ प्रयोग गरिएको प्रकाशले भान्साकै गतिविधि मात्रै देखाउँछ ।
मञ्चमा भएका धेरै चरित्रका एक-एक गतिविधि प्रस्तुत गर्न पनि प्रकाशले नै त्यहाँ कथा वाचन गरिदिन्छ । जस्तै नाटकमा एउटा दृश्य छ, जहाँ तीन पुरुष बार्दली गएर चुरोट तानिरहेका हुन्छन् । त्यही समयमा भान्सामा महिलाहरू खानेकुरा बनाउन व्यस्त हुन्छन् । यता सुरजको छटपटी चलिरहन्छ । यी तीनै दृश्यलाई प्रकाशले सुन्दर ढंगले प्रस्तुत गरिदिएको छ । त्यही मञ्चमा निष्प्राण लडिरहेको विवश देखाउन रातो प्रकाशको प्रयोग छ । विवशको चरित्रले नाटकबीच कागको स्वरूप धारण गर्दै, सुरज र शीतलले गरिरहेको ढोंगी स्वभावमाथि ताली बजाइरहन्छ ।
कागमार्फत गरिएको व्यंग्य प्रयोगले भरिएको 'एब्सर्ड' दृश्य हो । कागले ढोंगी चरित्र मात्रै नभई, पाखण्डी समाजको वास्तविकतालाई व्यंग्य गर्दै ताली पिटिरहन्छ । यो नाटकको सबैभन्दा सशक्त दृश्य टर्चमार्फत प्रस्तुत गरिएको मनोविज्ञान हो । खासमा यो दृश्यमा प्रहरीको मनोविज्ञानलाई टर्चको प्रयोगमार्फत देखाइएको छ । विवशको घरमा देखिएका केही शंकास्पद दृश्यमा दिग्विजयको ध्यान पुगिसकेको हुन्छ ।
परिस्थिति सामान्य देखिए पनि प्रहरी पात्रले उक्त घरमा शंकाको गन्ध पाउनु स्वाभाविक भइहाल्यो । उसको दिमागमा चलेको दृश्य देखाउन नाटकमा टर्चको प्रयोगले देखाइन्छ । सबै पात्र कालो छायाँमा पर्दा उक्त पात्रले घरको कुनाकुनामा टर्च लाइट बाल्दै घटनाको प्रमाण खोज्छन् । यो दिग्विजयको मनोविज्ञान झल्काउने दृश्य हो ।
वियोग जीवनको सत्य हो । वियोगबीच पनि मुस्कुराइरहनु जीवन हो । त्यसअर्थमा 'कागताली'ले जीवन बुझाउँछ । साथै, पाखण्डीहरूलाई व्यंग्य गर्दै ताली पिटिरहन्छ ।
