राजधानीका थिएटरमा नाटकको संख्या बढ्दै गर्दा हलमा फिल्महरूको संख्या घटिरहेको छ, दर्शकलाई विविध विधाका नाटकले आकर्षित गर्दै।
काठमाडौँ — अहिले हलमा नेपाली फिल्मको खडेरी छ । झरीको समय फिल्म हेर्न को पो जालान् ? त्यसैले हलमा अहिले विदेशी फिल्मकै राज छ । जेठमा पाँच नेपाली फिल्म लगातार हप्तै पिच्छे प्रदर्शनमा आए पनि असारदेखि प्रदर्शन हुने फिल्मको संख्या ह्वात्तै घटेको छ ।
असारमा 'यो मन त मेरो नेपाली हो' मात्रै प्रदर्शनमा आएको थियो । साउनमा पनि 'सिटामोल' शीर्षकको एउटै फिल्म प्रदर्शनका लागि तयार छ ।
हलमा फिल्मको संख्या घटिरहँदा राजधानीका थिएटर भने नयाँ नाटकले भरिएको छ । टेकुस्थित कौशी थिएटरमा साउन ७ देखि 'कागताली' नाटक मञ्चनरत छ । नवीन चन्द्र अर्यालको निर्देशन रहेको यो नाटकमा साउन ३१ सम्म मच्चन हुनेछ । नाटकलाई सविन भट्टराई र विष्णु राईले मिलेर सह-निर्देशन गरेका हुन् । क्राइम, थ्रिलर, कमेडी विधाको यो नाटकमा बास्ना तिमिल्सिना, रुपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत काउचालगायतको अभिनय छ ।
मण्डला थिएटरमा साउन ९ देखि 'स्वर्णदेश' मञ्चनमा आएको छ । आकाश नेपालीले निर्देशन गरेको यो नाटकलाई सरिता कठायतले लेखेका हुन् । अमेरिका छिर्नेहरुको कठोर संघर्षको कथा यो नाटकमा समेटिएको छ । मण्डलामै मञ्चनरत अर्को नाटक 'चन्द्रेलाई कसले मार्यो ?' भने साउन १८ सम्म मञ्चनमा आउनेछ । यो नाटकमा लैंगिक तथा अल्पसैंख्यकका मुद्दा समावेश छ । आजैदेखि सर्वनाम थिएटरमा सर्वनामका प्रशिक्षार्थी समूह २१ व्याचको नाटक 'जब फूलले आकार लिन्छ' मञ्चनमा आउँदैछ । यो नाटक साउन १८ सम्म मञ्चन हुनेछ ।
कान्तिपुर थिएटरमा साउन ८ देखि 'शिरीषको फूल'मञ्चनरत छ । चर्चित कलाकार जीवन लुइँटेलको अभिनय रहेकै कारण शहरमा यो नाटकको चर्चा केही समयअघिदेखि नै चुलिएको थियो । रेखा थापाको प्रमुख भूमिकामा नाटक 'मीरा' मञ्चन गर्दै यो थिएटर संचालनमा आएको हो । पत्रिका घिमिरेको निर्देशनमा तयार भएको 'शिरीषको फूल'मा जीवनसँगै सनिषा भट्टराईको प्रमुख भूमिका छ । नाटक साउन २७ सम्ममा मञ्चनमा आउनेछ ।
