काठमाडौँ — गायक सज्जनराज वैद्य पहिलोपटक भारतमा कन्सर्टका लागि उपस्थित हुँदै छन् । अमेरिकाको न्युयोर्क बस्ने उनी आगामी नोभेम्बरमा पश्चिम बंगालको सिलिगुडी र सिक्किमको गान्तोकमा कार्यक्रम गर्दै छन् ।
सो कन्सर्टका लागि खुला गरिएको ‘अर्ली बर्ड टिकेट’ ४८ घण्टाभित्रै सबै बिक्री भएको आयोजक पोजेटिभ भाइब्स इन्टरटेन्मेन्ट (पीभीई) नेटवर्कले जनाएको छ ।
गायक वैद्यले सिलीगुडीको उत्सव रिसोर्टमा नोभेम्बर ८ मा प्रस्तुति दिँदै छन् भने नोभेम्बर १५ गान्तोकस्थित पल्जोर स्टेडियममा उनले गाउनेछन् । जुलाई २३ मा डिस्ट्रिक्ट बाई जोम्याटो एप तथा वेबमार्फत अर्ली बर्ड टिकटहरू बिक्री गरिएका थिए ।
‘अब दोस्रो चरणको टिकट अगस्ट ३० को साँझ ५ बजेदेखि उपलब्ध हुनेछ,’ पीभीई नेटवर्कले विज्ञप्तिमा भनेको छ, ‘यी टिकटहरू भातरमा डिस्ट्रिक्ट बाई जोम्याटो एप र नेपालमा खल्ती बाई आईएमईमार्फत किन्न सकिनेछ ।’
युवा पुस्तामा लोकप्रिय सज्जनका गीत विभिन्न अनलाइन प्लाटफर्ममा ८० करोडभन्दा धेरै स्ट्रिम भएका छन् । लामो समयदेखि नेपालमा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको पीभीई नेटवर्कले अब भारतमा पनि संस्था विस्तार गर्ने कम्पनीका संस्थापक बिकेश कायस्थले जानकारी दिएका छन् ।
‘लेट्स गेट लाउड इन्डिया २०२५’ नामक यस कार्यक्रमपश्चात भारतमा अन्य नेपाली कलाकारहरूलाई पनि उपस्थित गराउने आयोजकले जनाएका छन् । कम्पनीले ‘लेट्स गेट लाउड नेपाल’ अन्तर्गत झापा, रुपन्देही, काठमाडौँ, चितवन, भक्तपुर लगायत सहरमा कन्सर्ट गरेको थियो ।
