कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
गीत/संगीत

सज्जनराज वैद्य : युवाले मनपराउने स्वर, पछ्याउने धुन 

रीना मोक्तान

काठमाडौँ — त्यतिबेला उनी न्युयोर्कको ब्रुक्लिनमा बस्थे । एकदिन गीतार बजाउँदै गर्दा शब्दहरु फुर्‍यो, 'चिठ्ठीभित्र राखेर पठाउँदैछु मेरो माया म तिमीलाई नै… ।' रोमान्टिक गीत लेख्ने मुडमा थिए सज्जनराज वैद्य । 'हवाइजहाज' बोलको गीतले युवा दर्शकको मन/मस्तिष्क हुँडलिसकेको थियो । च्याट र ह्वाटस्यापमा माया आदनप्रदान गर्ने समयमा चिठ्ठीको जमानालाई कल्पँदै उनले यो गीत लेखे । दर्शकले असाध्यै रुचाइएको गीतमध्ये पर्छ, 'चिठ्ठीभित्र'।  

सज्जनराज वैद्य : युवाले मनपराउने स्वर, पछ्याउने धुन 

'परम्परागत शैलीमा आफ्नो प्रेमिकालाई भविष्यको बाचा गर्दै चिठ्ठी लेखेको कल्पना गरेर यो गीत लेखेको थिएँ । अब अहिले चिठ्ठीको जमाना हराइसक्यो,' सज्जनले आफ्नो अनुभव सुनाउँदै गर्दा पृष्ठभूमिमा यही गीत बज्यो ।

परिवारसँग समय बिताउन ७ वर्षपछि नेपाल आएका सज्जनसँग कात्तिक अन्तिम साता एउटा क्याफेमा गफिँदै छौं हामी। चर्चा गरिरहेकै गीत नेपथ्यमा बजेपछि सज्जन झस्किए । अप्ठ्यारो मान्न थाले । परिस्थितिलाई सामान्य बनाउन प्रश्न राखेँ, 'यसरी आफ्नो गीत बजेको सुन्दा कस्तो लाग्छ ?'

'असाध्यै लाज लाग्छ । के गर्ने/नगर्ने हुन्छ । आफूले त एउटा गीत लेखेको हुन्छ । तर अरुले त्यसलाई आफ्नै बनाएर बजाउँदा, सुन्दा खुशी लाग्छ । त्यसको अनुभव बेग्लै हुन्छ । यसरी झट्ट बज्दा आफूलाई अप्ठ्यारो पनि अनुभव हुन्छ,' मुस्कुराउँदै सज्जनले जवाफ दिए ।

तस्विर - दिपेन्द्र रोक्का

प्रवासमा बसेर गीत/संगीतमार्फत युवकयुवतीको मन जित्न सफल गायक हुन् सज्जन । युवकयुवतीलाई मनपर्ने स्वर अनि उनीहरूले पछ्याउने धुन हुन् सज्जन । उनका गीतहरूमा मायाका रंग पोतिएका हुन्छन् । विछोडका पीडा पोखिएका हुन्छन् । मायाका अनेकन भावनालाई समेट्दै गीत कोर्ने सज्जन गायनमा एउटा सुन्दर उपहार हुन् । आफ्नो आवाजको जादूले लाखौं दर्शक कमाएका उनले काठमाडौं आउनसाथ नयाँ गीत सार्वजनिक गरे।

अहिले युट्युबको ट्रेन्डिङमा रहेको 'नगन्य माया' बोलको गीतमा नसोचेको प्रतिक्रिया पाउँदा उनी निकै दंग छन् । 'हामीले यस्तो प्रतिक्रिया पाउला भनेर सोचेकै थिएनौं । म काठमाडौं उड्नुभन्दा अगाडि रेकर्ड गरिएको गीत हो यो । यता आएर रोहित शाक्यसँग बसेर गीत फाइनल गर्‍यौं । टिमसँग यो गीत रेकर्ड गर्ने निर्णय भएको एक हप्तामै तयार भयो गीत । म न्युयोर्क गएर भिडियो बनाएर फर्किएँ । टिमले बाँकी सबै काम सकायो,' सज्जन सुनाउँछन् ।

त्रिकोणात्मक प्रेम प्रस्तुत छ गीतमा । गीत सार्वजनिक भएसँगै सज्जनलाई लाग्न थालेको छ, 'त्रिकोणात्मक प्रेमको अनुभव त धेरैजनासँग रहेछ ।' आफूले लेखेको गीतमा अरुले आफ्नो कथा भेट्टाउँछन् । आफ्नो गीतमा दर्शक जोडिँदा उनलाई रमाइलो लाग्छ । 'नगन्य मायाको कमेन्टमा कतिले 'एक्स'को याद आयो भनेर लेख्नु भएको छ । कतिजनाले कमेन्टमै आफ्नो पुरानो प्रेमिकालाई सन्देश दिइरहेका हुन्छन् । त्यो देख्दा छक्क परिरहेको हुन्छु,' उनले भने ।

गीतको भिडियोमा सज्जन आफैं देखिएका छन् । क्यामेराको अगाडि अभिनय गर्न उनलाई त्यत्ति सहज लाग्दैन जति माइकमा गाउन । तर टिमको सिनेमेटोग्राफर नुर्बु लामाकै कारण 'क्यामेरा फेस' गर्न थालेका छन् ।

भ्युज राम्रो आयो भन्दैमा गीत राम्रो हुँदैन

भ्युजलाई गीत सफलताको मानक मान्न थालिएको छ आजकाल । धेरै भ्युज आयो भन्दैमा गीत राम्रो हुन्छ भन्ने लाग्दैन सज्जनलाई चाहिँ । 'नगन्य माया'ले सार्वजनिक भएको एक हप्तामै १० लाख बढी भ्युज प्राप्त गरिसकेको छ । 'चिठ्ठीभित्र', 'हवाइजहाज', 'मुस्कान', 'हतारिँदै बतासिँदै' मा करोडौं भ्युज पाएका छन् । सज्जनलाई भ्युज र गीतको स्तर दाँजेको पटक्कै चित्त बुझ्दैन ।

सन् २०१२ मा अमेरिका उडेसँगै संगीत क्षेत्रमा सज्जनले पाइला टेके । सांगितिक माहोलमा हुर्किएका सज्जनलाई ९/१० वर्षको हुँदै हजुरबुवाले गितार किनिदिएका थिए । जन्मदिनको उपहारमा पाएको गितार दाजुसँग बसेर सिके ।

महाबौद्धमा गेमका सिडी किन्न जाँदा पसलमा 'म्युजिक' भन्ने देखेरै म्युजिक सफ्टोवयर सिक्न थाले । बिग्रेको माइक्रोफोन बनाउँदै चलाए । डेब्यु गीत 'आज मात्र'लाई उनले काठमाडौं हुँदै लेखेका थिए । त्यतिबेला माइक्रोफोन किनेर गीत रेकर्ड गर्न पनि सकिन्न थियो ।

तर अमेरिका पुगेपछि उनले रेकर्डिङका सामग्री किनेर गीत रेकर्ड गरे । गीतले उनलाई युवा दर्शकबीच चिनायो । त्यसपछाडि सार्वजनिक भएको 'हवाइजहाज' अत्यधिक दर्शकबीच उनको आवाजलाई पुर्‍यायो । उनी आफैं पनि 'हवाईजहाज'लाई संगीतमा आफ्नो डेब्यु गीत मान्छन् ।

'हवाइजहाज' उनले आफ्नो आमाका लागि लेखेका थिए पहिला । अमेरिका पुगेको धेरै भइसकेको थिएन । यता आमा उदास थिइन् । उनी आमालाई 'जसरी पनि भेट्न आउँछु' भन्दै फकाउँथे । तर त्यही गीतलाई रोमान्टिक बनाउँदा राम्रो हुन्छ भन्ने सल्लाह पाइसकेपछि प्रेमी/प्रेमिकाको कथामा परिणत भयो ।

आफ्नो कथाबाट लेख्न सुरु गरिएको यो गीत अन्तमा प्रेममा टुंगिन पुग्यो । अन्य गीतहरू भन्दा यसमा अलि बढी मेहनत परेको सज्जन सुनाउँछन् । यो गीतले उनलाई छुट्टै परिचय दियो । दर्शकले उनलाई खोज्न थालेको पनि यही गीतबाट हो ।

यो गीत उनले आफ्नो कथाबाट सुरु गरेका थिए । सज्जन कहिले कल्पना गरेर त कहिले आफ्नै कथामा गीत कोरिरहेका हुन्छन् । 'हतारिँदै बतासिँदै' उनको साथीको कथा हो । लोक शैलीमा तयार भएको 'फुत्की जाने जोवन' कोभिडको समयमा सार्वजनिक भएको थियो । यो एकदिनमै तयार भएको गीत थियो ।

नेपाल हुँदा साथीहरूसँग घान्द्रुक, घोडेपानी ट्रेकिङमा गएका थिए सज्जन । बाटोमा भेटिने भट्टीमा उनीहरू थकान मेट्थे, चिया पिउँथे । भट्टीमा भेटिएका बुढापाकाले उनीहरूलाई अपूरा सपनाहरू सुनाएका थिए । त्यो कुरा उनको दिमाग घुमिरहेको थियो । त्यसदिन अफिस बिदा थियो । उनले गीतको लेखन र संगीत एकै दिनमा सके ।

'बिहान ९/३० मा लेख्न बसेको थिएँ। ५:३० तिर साथीलाई सुनाएँ । ९:३० मा लगभग सबै काम सक्यो । मिक्सिङ र मास्टरिङको काम थियो । कहिलेकाहीँ त्यसरी पनि गीत लेखिन्छ । त्यही भएर मलाई घरमा रेकर्ड गर्न मनपर्छ । गितार त्यही हुन्छ, समय सीमा हुँदैन । मलाई एक्लै बसेर गीतको काम गर्न मनलाग्छ । अरु हुँदा ध्यान विकेन्द्रित हुन्छ,' सज्जन सुनाउँछन् ।

'फुत्की जाने जोवन'को समयमा सज्जन आफ्नो करिअर परिवर्तन गर्दै थिए । बैंकमा काम गर्दै आएका उनी अहिले सफ्टवेयर इन्जिनियरिङको काम गर्दैछन् । उनी एकसाथ दुई करिअर अगाडि बढाउँदैछन् । बैंकमा ९-५ को काम गर्दा उनी खाली समय संगीतलाई दिन्थे । उनलाई संगीतमा पूरा समय दिनुपर्छ भन्ने लाग्दैन । उनी हरबखत गीतहरूकै बारेमा सोचिरहेका हुन्छन् ।

'मैले जे गरे पनि संगीत नै गर्ने हो । संगीत नै गर्छु भन्दा पनि २४ घण्टा नै गरिँदैन नि । खाली समय कतै व्यस्त हुनुपर्छ भन्ने लाग्छ । संगीत मेरो लागि महत्त्वपूर्ण कुरा हो,' उनले सुनाए, 'हो मलाई २४ घण्टा संगीत गर्न मन छ । तर नेपालमा त्यस्तो प्लेटफर्म नै छैन । नेपालमा गायक/गायिकालाई संगीतमै भर परेर जीवन गुजारा गर्न गाह्रो छ ।'

परिवारले संगीत पढ्न हौसला दिँदा पनि फाइनान्स पढे । 'मलाई चाहिँ एउटै मात्र करिअर गर्छुजस्तो लाग्दैन । आफूलाई जे मन लाग्छ त्यसमा गर्ने हो । मलाई 'टेक्ट'मा पनि मन छ,' उनी सुनाउँछन्, 'काम भनेको ९-५ बजेसम्म गरिएला । त्यसपछिको समयमा संगीत गर्छु । मलाई सबैभन्दा मनपर्ने कुरा नै संगीत हो । संगीत त कामजस्तो पनि लाग्दैन । म जतिबेला पनि म्युजिकबारे नै सोचिरहेको हुन्छु ।'

उनले 'उल्टा पाइला', पर्खाइ'को काम अफिसमा छुट्टि लिएर सकेका थिए । सज्जनलाई अब 'आर एण्ड बी', 'लोफाई' र हिपअपको विधामा पनि गीत निकाल्ने रहर छ ।

कोठामै रेकर्डिङ

सज्जनले अहिलेसम्म सार्वजनिक गरेका सबै गीत सुत्ने कोठामै रेकर्ड गरेका हुन् । स्टुडियोमा रेकर्ड गरेजस्तै हुँदैन घरमा । तर उनलाई कोठामै रेकर्डिङ गर्न मनपर्छ । सज्जन बस्ने ठाउँ परिवर्तन गरिरहन्छन् । अहिले कोलोराडो बस्छन् ।

फरक कोठामा गीत रेकर्डिङ सहज बन्दैन । तर उनी जोडजाम गरिहाल्छन् । 'नयाँ कोठामा कसरी राम्ररी रेकर्ड गर्न सकिन्छ भन्ने सोचेरै गरिरहेको हुन्छु । कहिले सोफामाथि माइक राखेर रेकर्डिङ गर्छु । मैले जति ठूलो आवाजमा रेकर्ड गरे पनि आवाज बाहिर नजाने किसिमको कोठा छ अहिलेको,' उनले भने ।

'पर्खाई'बोलको गीत त उनले साथीको दराज छेउमा पर्दा राखेर रेकर्ड गरेका थिए । उनी आफ्नो साथमा माइक्रोफोन बोकेरै हिँड्छन् । प्राविधिक रुपमा व्यवस्थित रेकर्डिङ गरिएका गीतहरू हुँदैन । अहिलेको प्रविधिले सुत्ने कोठामै गीत रेकर्ड गर्न सजिलो बनाइदिएको सज्जनको भनाई छ । उनले भोकल रेकर्ड गरिसकेपछि भिडियो र त्यसपछिका सबै काममा टिमले उनलाई सहयोग गर्छन् ।

फरक सहरमा छरिएका टिम

उनी गीत लेखिसकेपछि टिमलाई थिम सुनाउँछन् । थिम सुनिसकेपछि त्यसमाथि काम गर्ने/नगर्ने छलफल हुन्छ । त्यसपछि सबैजना आ-आफ्नो जिम्मेवारीतिर लाग्छन् । नुर्बु भिडियोको कन्सेप्ट लेख्छन् ।भिडियोमा बिम्वहरूको प्रयोग गर्न रुचाउँछन् नुर्बु । सौम्य शाहले सम्पादन गर्छन् । कैलाश सुवेदीले कला हेर्छन् । सरिफ श्रेष्ठले सबै कुराको व्यवस्थापन गरिदिन्छन् । राम्रो संगीत गरौं भन्ने उद्देश्यले अकस्मात जुटेको टिम हो यो ।

न्युयोर्क बस्दा नै नुर्बु र सरिफसँग सज्जनको भेट भएको थियो । सौम्य नुर्बुको मिल्ने साथी । त्यसपछि उनी सम्पादनमा जोडिन् । अन्य साथीमार्फत नै कैलाश जोडिए । टिमका सबै सदस्य फरक सहरमा छरिएका छन् । नुर्बु न्युयोर्क, सौम्य नेदरल्याण्ड, सज्जन र कैलाश कोलोराडो, सरिफ काठमाडौंमा बस्छन् । यी पाँच एकसाथ भेटेर कहिल्यै गीतको काम सुरु गरेका छैनन् । भिडियो कल र च्याटिङ मार्फत जोडिन्छन् ।

भिडियो सार्वजनिक गर्ने दिनमा सौम्य रातभर सुत्दैनन् । सम्पादनको कामले उनलाई सुत्न दिँदैन । 'आ-आफ्नो क्षेत्रमा खुबी बोकेको सदस्यहरू मेरो टिममा छन् । त्यसैले टिममा लिडर छैन । टिममा सबैको विचार मिल्नुपर्‍यो । सबैजना कामप्रति गम्भीर सदस्य छन् । हामी आ-आफ्नो पक्षमा आफैं लिडर भइरहेका हुन्छौं,' सज्जनले भने, 'नेपाली समाजमा त नातावाद चल्छ । आफ्नो दाजुभाइलाई खुबीबिना नै टिममा राखिन्छ । तर त्यस्तो हुनु हुँदैन रहेछ । पहिला केही सदस्य त्यसरी नै जोडिएका थिए । त्यतिबेला अप्ठ्यारो भएको थियो ।'

'हतारिँदै बतासिँदै'पछि टिमसँगै सज्जनले काम गर्न थालेका हुन् । गीतमा उनले 'यौनिक अल्पसंख्यक'को प्रेम प्रस्तुत गरेका छन् । उनको टिम सदस्य कसैले आफ्नो क्षेत्रमा डिग्री लिएका छैनन् । स्व-अध्ययनले नै उनीहरूले आ-आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । आफ्नो गीतको पछाडि टिम सदस्यको ठूलो योगदान हुने गरेको उनको भनाई छ ।

'मानिसहरू मेरो नाम मात्र हेर्छन् । मानिसहरू भिडियो हेरेपछि पछाडिको नामहरू पढिरहेका हुँदैनन् । अगाडि त मेरो नाम देख्ने हो । तर पछाडिको नामहरूको योगदान पनि त हुन्छ । सौम्य रातभर काम गरिरहेको हुन्छ । मेरो टिम नभएको भए म कहीँ पनि हुन्न थिएँ । कतिपय बेलामा के लेख्ने नै थाहा हुँदैन । शून्य हुन्छु । तर टिमले नै सल्लाह दिइरहेको हुन्छ,' उनले भने, 'मलाई विश्वविद्यालयको डिग्रीमा विश्वास लाग्दैन । मैले फाइनान्स पढेँ । अहिले सफ्टोवयर इन्जिनियरिङमा छु । यदि कसैले मलाई युनिभर्सिटीमा के गर्ने भनेर सल्लाह माग्छ भने म उनीहरूलाई त्यता जान भन्दिनँ । सर्टिफिकेट चाहिएला तर आफ्नो क्षेत्रमा आफैंले गर्न सकिन्छ । मलाई चाहिँ अब युनिभर्सिटी डिग्रीमा भरोसा लाग्दैन ।'

उनी टिमसहित चाँडै नै नेपालमा सांगितिक शो गर्ने सोचमा छन् ।

प्रकाशित : कार्तिक २७, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?