वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य

असार २९, २०८२

कान्तिपुर संवाददाता

Nepathia repeats history after 12 years at Wembley

काठमाडौँ — नेपथ्य ब्यान्डले १२ वर्षपछि पुन: वेम्बलीमा सांगीतिक प्रस्तुति दिने भएको छ ।  आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ नेपथ्य । यो त्यही मञ्च हो, जहाँ सन् २०१३ अगस्टकै ३ तारिखमा ब्यान्डले ऐतिहासिक प्रस्तुति दिएको थियो । 

त्यो एउटा ब्यान्डको कन्सर्टमा मात्र सीमित नरही नेपाली गीत-संगीतलाई पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सम्मानित मञ्चमा उत्तिकै भव्यताका साथ उपस्थित गराइएको क्षण पनि बन्न पुगेको थियो । त्यति बेला सात हजारभन्दा बढी दर्शक उपस्थित थिए । नेपथ्यले आजसम्मै बन्द सभागृहभित्र पाएको त्यो सबैभन्दा भव्य दर्शक उपस्थिति हो ।

‘वेम्बलीको प्रभाव यस्तरी विस्तार भइदियो कि त्यसपछि हामीलाई विश्वका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्यान्ड उभिएका मञ्चहरू पाउन थप सहज हुन थाल्यो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ।

१२ वर्षअघि वेम्बलीको अनुभव सम्झँदा ब्यान्डका मुख्य गायक अमृत गुरुङ अहिले पनि भावुक हुन्छन् । ‘हामीलाई पहिले पनि श्रोता-दर्शकले उत्तिकै माया गर्दै आउनुभएको हो,’ उनी भन्छन्, ‘तर वेम्बलीको प्रस्तुतिपछि हामीले अर्कै उचाइ महसुस गर्दै आएका छौँ ।’

Nepathia repeats history after 12 years at Wembleyत्यति बेलाको माहोल अमृतको आँखामा झलझली छ । ‘त्यत्रो विशाल दर्शकदीर्घाबाट आएको आवाज, ताली, हल्लिएका हात र जताततै बलिरहेको मोबाइलको उज्यालोले मेरा खुट्टालाई यस्तरी लुलो बनाइदिएका थिए कि सोझो अडियोस् भन्नकै खातिर बल लगाएर टेक्नुपरिरहेको थियो,’ उनी थप्छन्, ‘त्यो क्षण मेरो जीवनकै एउटा चुनौतीजस्तो बनेर सामुन्ने उभिएको थियो र हिम्मत जुट्नासाथ आफूलाई पूर्ण रूपले दर्शकमा समाहित गरिदिएको थिएँ ।’ नेपथ्यको यस पटकको वेम्बली यात्रालाई बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले संयोजन गर्दै छन् ।

बेलायतको यात्रामा नेपालबाट ब्यान्डका छ सदस्य र आठ प्राविधिक एवं व्यवस्थापक गरेर १४ सदस्यीय समूह हुनेछ । मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् । पछिल्ला तीन महिनाभित्र नेपथ्यले अस्ट्रेलिया र अमेरिकाको शृङ्खलाबद्ध यात्रा गरिसकेको छ ।

‘नेपथ्यको आगामी कन्सर्टले बेलायतमा नेपाली सङ्गीतको अर्को इतिहास रचना गर्दै छ,’ स्थानीय आयोजक टोलीका दीपेन्द्र लामा भन्छन्, ‘सात हजार टिकट अहिले नै बिक्री भइसकेको छ भने ठूलो सङ्ख्यामा दर्शकको इनक्वाइरीको ओइरो लाग्न थालेको छ ।’ दीपेन्द्रका अनुसार लन्डनबाहिर बसोबास गर्ने दर्शकलाई पनि उपस्थितिका लागि अनुकूल बनाउन भरमग्दुर प्रयत्न भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully