एनएमएमा शम्भुजितलाई दीर्घ साधना सम्मान, १४ विधामा अवार्डसहित थुप्रै सांगीतिक प्रस्तुति

असार २८, २०८२

रीना मोक्तान

Shambhujit received a long Sadhana Samman at NMA, many musical performances with awards in 14 categories

काठमाडौँ — नेपाली संगीत क्षेत्रका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान(लाइफटाइम अचिभमेन्ट) बाट सम्मान गर्दै ‘नेसनल म्युजिक अवार्ड्(एनएमए) २०८१’ सम्पन्न भएको छ । रेडियो कान्तिपुरले शनिबार गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको एनएमएमा १४ विधामा अवार्ड वितरणसँगै कन्सर्ट सम्पन्न भयो । 

चलचित्रका ३ सय ७५ र २ हजार बढी गीतमा संगीत भरिसकेका शम्भुजितलाई संगीत सम्राटको उपनाम दिँदै नगद एक लाखसहित सम्मान गरिएको हो ।

‘साँढे पाँच दशक संगीतमा अनवरत लाग्नु भएका संगीत सम्राट सम्भुजित बास्कोटालाई हामीले दीर्घ साधना सम्मान प्रदान गरेका छौं,’ रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले भने । सम्मानपछि संगीतकार बास्कोटाले नेपाली संगीतले देशलाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्ने बताए ।

‘नेपाली संगीत, कला र साहित्य विश्वको त्यो चुलीमा पुग्नेछ । देशलाई चिनाउन ठूलो भूमिका संगीतले नै गर्नेछ । संगीत मेरो जीवनको लामो यात्रा हो, उकाली, ओराली हो । लाइफटाइम अचिभमेन्टका लागि धन्यवाद । अनुशासनमा बसेर गरिएको संगीत विश्वमा पुग्नेछ,’ शम्भुजितले भने ।

गायिका अस्मिता अधिकारी र सुरेश लामाले शम्भुजितलाई ‘यो जीन्दगीले’, ‘म त अब रिसाउँछु’, ‘सुनकोशी सुसेलेको’, ‘तिम्रो मन त चक्कु छुरी’ गाउँदै ‘ट्रिब्युट’ गरे । 

Shambhujit received a long Sadhana Samman at NMA, many musical performances with awards in 14 categories

अवार्डतर्फ गायक आरसी रिमालले ‘उत्कृष्ट डेब्यु सिंगर’को विधामा जित हासिल गरे । यो विधामा उनीसहित सुवोध ढकाल, सुवास सुन्दास, नीरु बुढामगर, करण परियार मनोनयनमा परेका थिए ।

त्यस्तै, 'उत्कृष्ट लोकदोहोरी गायिका' को अवार्ड शान्ति श्री परियारले जितिन् । यो विधामा उनीसहित रीता थापामगर, अन्जु विश्वकर्मा, पूर्णकला बिसी र देवी घर्ती मनोनित थिए ।

त्यस्तै ‘उत्कृष्ट लोकदोहोरी गायक‘को अवार्ड भने गायक प्रकाश दुतराजले जिते । यो विधामा शिरिष देवकोटा, मौषम गुरुङ, खेम सेञ्चुरी र विश्व दोङ मनोनयनमा थिए ।

Shambhujit received a long Sadhana Samman at NMA, many musical performances with awards in 14 categories

तस्बिरहरु : दीपेन श्रेष्ठ/कान्तिपुर

‘उत्कृष्ट गीतकार’को अवार्ड भने भूषण खरेलले जिते । यो विधामा उनीसहित डा. शम्भू जम्कटेल, डा. दामोदर रेग्मी, होमनाथ न्यौपाने र अविरल थापा मनोनित थिए । ‘उत्कृष्ट आधुनिक गायिका’को अवार्ड ‘ए जिन्दगी’बोलको गीतबाट गायिका टिका प्रसाईंले जितिन् । यो विधामा उनीसँगै ‘अनायसै आँधी चल्यो’बाट रचना रिमाल, ‘एकान्तमा आँशु बनी’बाट लबोनी चक्रवर्ती, ‘एउटा सानो घर होला’बाट बबिना भट्टराई र समीक्षा अधिकारी ‘तिम्रो र मेरो संसार बेग्लै’बाट मनोनयनमा परेका थिए ।

‘उत्कृष्ट आधुनिक गायक’को अवार्ड गायक शिव परियार ‘चुपचाप’बोलको गीतबाट जिते । यो विधामा उनीसित गायकहरु सत्यराज आचार्य, प्रवीन बेडवाल, विश्व नेपाली र शशि गुरुङले प्रतिस्पर्धा गरेका थिए । 

Shambhujit received a long Sadhana Samman at NMA, many musical performances with awards in 14 categories

‘उत्कृष्ट पार्श्व गायक’को अवार्ड भने ‘रुकुम मैकोट’बाट एसडी योगीले जिते । यो विधामा योगीसँगै रोमन आचार्य, सनुप पौडेल, आशिष अविरल र निशान भट्टराई मनोनयनमा परेका थिए । ‘उत्कृष्ट पार्श्व गायिका’को अवार्ड समीक्षा अधिकारीले ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’बाट जितेकी छन् । ‘झ्यालको’बाट झूमा लिम्बू, ’राई माइला’बाट सुनिता थेगिम, ‘रुकुम मैकोट’बाट शान्ति श्री परियार र ‘सारी लगाइदेउ’बाट सलिना विक मनोनित थिए । 

Shambhujit received a long Sadhana Samman at NMA, many musical performances with awards in 14 categories

कार्यक्रममा सन्जीव बराइली ‘उत्कृष्ट संगीतकार’ घोषित भए । ‘चुपचाप’बोलको गीतबाट उनले यो विधामा अवार्ड जितेका हुन् । यो गीतले एनएमएमा दुई अवार्ड जित्यो । ‘उत्कृष्ट संगीतकार’को विधामा सुनिल मास्के, सुरज पण्डित, कृति न्यौपाने र बीबी अनुरागी मनोनयनमा परेका थिए ।

‘कुम: सागर एण्ड ख्वप’ ब्यान्ड’ एनएमएमा ‘उत्कृष्ट ब्यान्ड’ घोषित भयो । ‘ए माइ रे’ गीतबाट ब्यान्ड यो विधामा मनोनयनमा परेका थियो । यो विधामा स्वर फिचरिङ जोन चाम्लिङ राईको ‘बादलसरी’, ‘रकहेड्स’को ‘भावना’, अभया एण्ड दि स्टिभ इन्जिन्सको ‘सधैँभरि’, ‘पूर्ण राई एण्ड दाजुभाइहरु’को ‘स्पर्श संगीत’बोलको गीत मनोनयनमा थियो । यो वर्षबाट थप गरेको ‘हिपहप, आर एण्ड बी’ विधामा ब्रिजेश श्रेष्ठले ‘मुटुमै बसेछ’ बोलको गीतबाट अवार्ड जिते । यो विधामा र्‍यापर ओएमजी, भेक र जेम्सी, यावेश र बिजेन अनि दिमितृ मनोनित थिए ।

Shambhujit received a long Sadhana Samman at NMA, many musical performances with awards in 14 categories

गायिका त्रिशला गुरुङ कार्यक्रममा ‘उत्कृष्ट पप गायिका’ घोषित भइन् । आस्था तामाङ मास्के, रचना दाहाल, समृद्धि राई र सज्जा चौलागाईं ‘उत्कृष्ट पप गायिका’को विधामा उनीसित शीर्ष पाँचको मनोनयनमा परेका थिए ।

गायक सुशान्त केसीले ‘बार्दली’बाट ‘उत्कृष्ट पप गायक’को अवार्ड जिते । यो विधामा  सुशान्तसँगै सुजन चापागाईं, सज्जनराज वैद्य, जोन चाम्लिङ राई र स्वप्न सुमन शीर्ष पाँचको मनोनयनमा परेका थिए ।  ‘बार्दली’को प्रभाव भारतसम्म यसको हिन्दी रिमेकले पुर्‍याएको छ । 

Shambhujit received a long Sadhana Samman at NMA, many musical performances with awards in 14 categories

यही गीतबाट सुशान्तले ‘पिपुल च्वाइस अवार्ड’ पनि जिते । यो विधामा ‘ए माइ रे’बाट ‘कुम: सागर एण्ड ख्वप ब्यान्ड’, ‘दुश्मन हेरेको हेर्यै’बाट दुर्गेश थापा, ‘ढलेँढलेँ’बाट शान्ता रानी परियार, ’ रुकुम मैकोट’बाट एसडी योगी र शान्तिश्री परियार मनोनयनमा परेका थिए । यो विधाको विजेता दर्शकको भोटले निर्धारण गरेको हो ।

Shambhujit received a long Sadhana Samman at NMA, many musical performances with awards in 14 categories

कार्यक्रमबीच माहोल तब तातियो जब युवा गायक दुर्गेश थापाले ‘दुश्मन हेरेको हेर्यै’ माथि दर्शक झुमाउने नृत्यसहितको प्रस्तुति दिए । डान्सिङ समूहसहित दुर्गेशले ‘दुश्मन हेरेको हेर्यै’सहित ‘बमबम भोले’ र ‘जाने भए जाम माया’ बोलको गीतमाथि गायन प्रस्तुति दिए ।

उनको प्रस्तुतिमा केही दर्शकले आफ्नो स्थानमा उभिएर नाचे । ‘ठूलोलाई सम्मान सानोलाई माया गर्नुपर्छ । म अहिले पनि अग्रजलाई भेट्दा उहाँहरुलाई आदर गर्छु । गाउँबाट आउँदाको दुर्गेशजस्तो थियो, अहिले पनि त्यस्तै छ । त्यसैले त दुर्गेश थापा नाम होइन, ब्रान्ड हो,’ प्रस्तुतिपछि दुर्गेशले दर्शकदीर्घातर्फ हेर्दै भने । कार्यक्रममै ‘रेडबुल इनर्जेटिक पर्फमेन्स’बाट दुर्गेश सम्मानित भए । 

एनएमएको सुरुवातमा गायक स्वप्न सुमनले ब्यान्डसहित ‘उपहार’ र ‘राधा’बोलको गीतमाथि प्रस्तुति दिएका थिए । कार्यक्रममा थुप्रै गायक/गायिकाले गायन प्रस्तुति दिए । गायक पशुपति शर्माले ‘झोले त तैँ, झोले त मैँ’बोलको गीतमाथि प्रस्तुति दिए ।

युवा गायक सुशान्त घिमिरेले आफ्ना नयाँ गीत ‘फेरि फेरि’, ‘मनचरी’ बाट प्रस्तुति दिए । वाङ्देन शेर्पाले ‘मायालु’बोलको गीतमाथि प्रस्तुति दिए भने, उनी र सुशान्तले मिलेर ‘जुन नहेरी’बोलको गीतमाथि युगल प्रस्तुति दिए । यो गीतमाथि उनी दुईले प्रस्तुति दिइरहँदा दर्शकदीर्घाले पनि उनीहरुसँगै गाएका थिए ।

कार्यक्रममा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्यव्यंग्य प्रस्तुत गरे । सञ्चारकर्मी प्रकाश सुवेदी र गायक दुर्गेश थापाको अवतारमा यी दुईले उपस्थित दर्शक हँसाए । कार्यक्रमको समापन भने ‘कुम: सागर एण्ड ख्वप’ ब्यान्डको प्रस्तुतिसँगै भयो ।

ब्यान्डले अवार्ड पाउँदा कुम: दंग परे । ‘अवार्डमा मेरो मात्र हात छैन । यसमा मेरो ब्यान्ड सदस्य सबैको हात छ,’ कुम:ले अवार्ड पाउँदाको खुशी साटे । ब्यान्ड सदस्य रोजमान महर्जनले दर्शकको मायाभन्दा ठूलो अवार्ड नहुने बताउँदै ‘ए माइ रे’, ‘फुरफुरी’, ‘चमेली फूल’लगायतका चर्चित गीतहरुमाथि प्रस्तुति दिए । उनीहरुको प्रस्तुति सुन्न कार्यक्रममा उपस्थित दर्शक एनएमएको अन्त्यसम्ममै सनराइज कन्भेन्सनमा बसिरहे ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully