नवगायनको विधामा करण परियारदेखि सुवास सुन्दास, सुबोध सागर ढकाल, आरसी रिमाल र निरु बुढामगर मनोनयनमा
काठमाडौँ — बहुप्रतीक्षित अवार्ड कार्यक्रम ‘नेसनल म्युजिक अवार्ड्सस (एनएमए) २०८१’ आज (शनिबार) गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदै छ । रेडियो कान्तिपुरले आयोजना गर्न लागेको यो अवार्ड कार्यक्रममा युवा कलाकार दुर्गेश थापादेखि कुमः सागरको प्रस्तुतिसहितको कन्सर्टका कारण पनि प्रतीक्षित बनेको छ ।
युवा कलाकारको विशेष प्रस्तुतिले मात्रै होइन, संगीतका विभिन्न विधामा दिइने अवार्डका कारण ‘नेसनल म्युजिक अवाडर््स’ सांगीतिक क्षेत्रकै लागि पनि प्रतीक्षित बनेको छ । अवार्डमा मनोनीत हुनेहरूको पर्खाइ त शीर्ष पाँच मनोनयन सूची सार्वजनिक भएदेखि नै सुरु भएको हो । विधागत रूपले हेर्ने हो भने ‘उत्कृष्ट नवगायक’ को विधाले अझ ‘एनएमए’ लाई पर्खेको देखिन्छ ।
आफू मनोनयनमा परेको खबर पाउँदासम्म पनि गायक करण परियारलाई यो अवार्डबारे खासै थाहा थिएन । जब शिव परियारले आफू मनोनीत भएकोमा खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा लेख्न थाले, तब करणलाई एनएमएको महत्त्व थाहा भयो । उनी ‘मोहिनी तिम्रो रूप’ बाट यो विधाका लागि मनोनयनमा परेका हुन् ।
खासमा यो गीत रक्तदानसम्बन्धी गीत गाउन जाँदा करणले पाएका हुन् । संगीतकार अर्जुन पोख्रेलको स्टुडियोमा उनी रक्तदानको गीत गाउन पुगेका थिए । छेउमै भएको अर्को स्टुडियोमा रेकर्डिस्ट तथा गीतकार नारायणकुमार आचार्य थिए । दुईले करणलाई त्यहीं गीत गाउन प्रस्ताव गरे ।
यही गीतमार्फत एनएमएको मनोनयनमा परेका करण आफ्ना लागि नतिजाभन्दा पनि मनोनयन ठूलो विषय रहेको सुनाउँछन् । ‘मेरा लागि त जित्नुभन्दा पनि यो मनोनयनमा पर्नु नै ठूलो कुरा हो,’ करणले थपे, ‘यो गीत अरूभन्दा फरक खालको छ । यो मेरो मनपर्ने गीत पनि हो ।’
करणलगायत अन्य प्रतिभाशाली गायक/गायिकासँग एउटै विधामा मनोनीत हुँदा सुबोध सागर ढकाल पनि दंग छन् । उनी पेसाले डाक्टर हुन् । ‘चेस्ट एन्ड क्रिटिकल केयर’का प्रोफेसर उनका लागि संगीत रुचिको विषय हो । उनी गितार बजाउँछन् । आफैं कम्पोज गर्दै उनी गीत बनाइरहेका हुन्छन् । संगीत आफ्नो रहरको विषय भएकाले उनी रेकर्ड गरेका गीत खासै सार्वजनिक गरिरहेका हुन्थेनन् । परिवारका सदस्यले गीत सार्वजनिक गर्न हौस्याइरहे । त्यसपछि नै हो, सुबोधले गीत सार्वजनिक गरेको । यो पटक यही विधामा ‘अरे अरे’ बोलको गीत सार्वजनिक गरिदिए । यही गीतले सुबोधलाई ‘डेब्यु सिंगर’ विधाको मनोनयनमा पारेको छ ।
‘खासमा म ५२ वर्षको भएँ, पेसाले डाक्टर । म डेब्यु सिंगरको सूचीमा नसुहाउने व्यक्ति नै हुँला,’ सुबोधले भने, ‘परिवारले गर्दा नै मैले गीतहरू बाहिर ल्याउन थालें ।’ धरानमा हुर्केका सुबोधले त्यहीं छँदा साथीसंगतबाट नै संगीत सिकेका हुन् । ‘एमडी’ गर्दा पनि सुबोध गीत गाउँथे । गत वर्ष मात्रै सुबोधले ‘आकाश माथि’ शीर्षकको एल्बम सार्वजनिक गरेका थिए । एकल गीत ‘अरे अरे’को मनोनयनले सुबोधलाई भन्दा उनको परिवारलाई धेरै खुसी दिएको छ । ‘मेरो गीत यसरी मनोनयनमा पर्दा दर्शकलाई मनपरेछ भन्ने भयो । अर्को त मैले गरेको काम ठिकै रहेछ भन्ने पनि लाग्यो,’ सुबोधले भने, ‘मेरा लागि त मनोनयनमा पर्नु नै ठूलो कुरा हो ।’
‘जे हुनुथ्यो भइसक्यो’ बोलको गीतबाट यही विधामा मनोनयनमा परेका गायक हुन्, आरसी रिमाल । आरसी ‘भ्वाइस अफ नेपाल’ मा सहभागी हुँदा गीतकार अम्बिका गुरुङले उनलाई यो गीत गाउनका लागि अफर गरेका थिए । अन्जु पन्तसँगको ‘सिन्की अचार’ बोलको चर्चित गीतका गायकसमेत रहेका आरसी यो विधामा आफूलाई बलियो दाबेदारका रूपमा उल्लेख गर्छन् ।
‘मेरो गीत अलि फरक छ । निर्णायकहरूले कसरी नतिजा निकाल्नुहुन्छ थाहा भएन,’ आरसीले भने, ‘यो विधामा फिल्मी, आधुनिक शैलीका गीत छन्, मेरो गीत क्लासिकल शैलीमा छ । मैले आजसम्म न कुनै अवार्ड पाएको छु, न त मनोनयनमा पनि परेको थिएँ ।’ ‘एनएमए’मा १४ विधामा अवार्ड वितरण गरिनेछ ।
संगीत क्षेत्रमा आफ्नो जीवन नै सुम्पेका व्यक्तित्वलाई दीर्घ साधना सम्मान (लाइफटाइम अचिभमेन्ट) पनि दिइनेछ । कार्यक्रममा कुमः र दुर्गेशसहित युवा गायकहरू स्वप्न सुमन, सुशान्त घिमिरे, वाङ्देन शेर्पा, अस्मिता अधिकारी, एलिना चौहान, पशुपति शर्मा, कार्टुन क्रुका सांगीतिक प्रस्तुतिदेखि सुन्दर खनाल र सुजिता श्रेष्ठको विशेष हास्य प्रस्तुति रहनेछ ।
