सर्वाधिक कमाउने मात्रै होइन महोत्सव पुग्ने फिल्मलाई पनि सम्मान गर !
काठमाडौँ — अभिनेत्री केकी अधिकारीले लामो समय बक्स अफिस हिट फिल्म पर्खिन् । कारण, अब्बल अभिनेत्रीको पहिचान बनाएकी उनका फिल्म धेरै समयसम्म बक्स अफिसमा हिटै भएनन् । कतिले केकीलाई ‘असफल फिल्मकी सफल कलाकार’ भनेर ट्याग भिर्याइ दिए ।
केकीका लागि त्यो ट्याग गह्रौँ भयो । तर, दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ले अधिकारीलाई व्यावसायिक हिटको स्वाद पहिलो पटक चखायो । उनकै निर्माणमा बनेको ‘बोक्सीको घर’ले त ट्याग बिर्साइदियो । त्यसैले अहिले कतिले केकीलाई सोध्ने गर्छन्, ‘बोक्सीको घर’ कसरी चल्यो ?
तर, केकी आफूसँग फिल्म चलाउने ‘फर्मुला’ नभएको बताउँछिन् । ‘पैसा कमाउने फिल्मको फर्मूला बोक्सीको घरबाट भेटेजस्तो त लाग्दैन । हो, मलाई बोक्सीको घरले सफलताको स्वाद चखायो । तर, त्यसअघिसम्म मलाई असफल फिल्मको सफल कलाकार भन्ने ट्याग दिइन्थ्यो,’ काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘चलचित्र सभा’मा केकीले कथावस्तु, गीत र प्रचारका विभिन्न नीतिले ‘बोक्सीको घर’ले घरेलु बजारमा राम्रो व्यापार गरेको सुनाइन् ।
सुरुवातमा यो फिल्मको विषयवस्तु दर्शकबीच पुर्याउन निर्माण टिमलाई हम्मेहम्मे पर्यो । झट्ट हेर्दा फिल्मले उठाएको विषयवस्तु नौलो थियो । ‘बोक्सीको घर आर्ट खालको फिल्म थियो । तर, हलमा फिल्म चलाउनु थियो हामीलाई । त्यसैले धेरै दर्शकबीच पुग्न थुप्रै ब्रान्डसँग सहकार्य गर्यौं,’ केकीले दर्शकदीर्घातर्फ हेर्दै अनुभव साटिन् ।
'महोत्सव फिल्म भर्सेस घरेलु बजार'शीर्षकमा भएको अन्तरक्रियात्मक कार्यक्रममा 'पूर्णबहादुरको सारङ्गी'का निर्माता विनोद पौडेलले पनि फिल्मले व्यावसायिक तहल्का मच्चाउनुको खास कारण खुलाए । इमानदार भएर कथा भन्दै गर्दा ‘पूर्णबहादुरको सारङ्गी’ बक्स अफिसमा हिट भएको विनोदको अनुभव छ ।
‘बजार हेरेर यो कलाकार लिउँ भन्ने दबाब थिएन । तर कथाले मागेको कलाकारलाई अनुबन्धित गर्यौं, विजय बराल त्यसरी जोडिए । मुख्य कुरा त फिल्मले उठाएको विषयवस्तु नै हुँदो रहेछ,’ विनोदले भने ।
अहिलेसम्म सर्वाधिक कमाइ गर्ने 'पूर्णबहादुरको सारङ्गी' हलमा चलिरहँदा निर्माण टिमले १२ लाखको टिकट बिक्री गरेको हल्ला चल्यो । निर्माता पौडेल टिकट किन्नुपर्ने बाध्यता हलवालाले गर्दा भएको र त्यो हल्ला सत्य रहेको सुनाए । पौडेलको अनुभवले केही क्षण अन्तरक्रियामा उपस्थित छक्क परे !
‘एक हप्तासम्म हलमा सो बचाइराख्न हामीले टिकेट किनेरै भए पनि पूर्णबहादुरको सारङ्गी चलायौं । त्यसैले मलाई लाग्छ, हलले एक हप्तासम्म नेपाली फिल्मलाई विश्वास गरिदिनुपर्छ । तर, यहाँ त्यसरी सो दिइँदैन । तर, सो जोगाउन टिकट किन्नुपर्ने बाध्यता अझै छ यहाँ,’ विनोदले सुनाए ।
हल मालिकले फिल्म बुझ्न नसक्दा नेपाली फिल्मले अहिलेसम्म प्रदर्शनका लागि यस किसिमको संघर्ष गरिरहनु परेको निर्देशक दीपेन्द्र लामाले थपे । फिल्ममा चलेका अनुहार नराखेसम्म हलले सो दिन अन्कनाउने गरेको पनि सुनाए । ‘खासमा हलमा नातावाद कृपावाद चल्ने होइन । नेपालको हल मालिक अझै पनि नेपाली फिल्मलाई बुझ्दैनन्,’ लामाले भने, ‘दयाहाङ राई, प्रदीप खड्काजस्ता चलेका अनुहार राखेको फिल्मलाई मात्रै हलले सो दिँदै आएको छ । त्यसैले चलेको अनुहार नराखी सुखै छैन ।निर्माता पौडेलले लामाको भनाइमा सहमत हुँदै थपिदिए, ‘हल मालिकले नेपाली फिल्मको दाँजोमा विदेशी फिल्मलाई धेरै सो दिनुहुन्छ । नेपाली फिल्मले अझै पनि सोका लागि संघर्ष गर्नु परिरहेको छ ।'
केकीले पनि हलसँगको आफ्नो अनुभव सुनाइहालिन् । उनका अनुसार ‘बोक्सीको घर’ हलमा लगाउनुभन्दा अगाडि कतिले फिल्ममा हिरो खोजे । तर, यो फिल्म महिला केन्द्रित विषयवस्तुमा आधारित थियो । प्रमुख भूमिकामा केकी आफै छन् । महिलाको चलेकै अनुहारलाई पनि बक्स अफिसले स्विकार्न खोज्दैन भन्ने कुरा सभाबीच केकीले सुनाइन् । ‘हिरोको अनुहार नहुँदा चुनौती थियो, हिरो को छ त भन्ने खालको कुरा आयो, हाम्रो फिल्म चलाउँदा । तर, हामीले कन्टेन्टमा जोखिम लियौं,’ अधिकारीले भनिन्, ‘कोहोलपुर एक्सप्रेसमा प्रियंका कार्की, रिचा शर्मा र रिमा विश्वकर्माजस्ता अभिनेत्रीहरू थिइन् । तर, यहाँ अहिले पनि हिरोकै खोजी हुन्छ ।’
महोत्सव पुगेका नेपाली फिल्मको हकमा पनि हलमा सो पाउनकै लागि संघर्ष छ । त्यसो त महोत्सव पुगेका फिल्म बक्स अफिसमा चल्दैनन् भन्ने भाष्य पनि यसबीच सिर्जना भए । तर, यसबीच 'गाउँ आएको बाटो' र 'शाम्बाला' यो भाष्य चिर्दै अपवाद बने । तर, अधिकांशको हकमा महोत्सव पुगेका फिल्म बक्स अफिसमा कमजोर भएका छन् । तर, विश्व बजार पुगेका यी फिल्मको गुणस्तरलाई बक्स अफिसको अंक अनुसार मापन गर्न नहुने लामाको भनाइ छ । महोत्सव लक्षित गरिएका फिल्मको स्वाद घरेलु दर्शकको स्वादसँग नमिलेकै कारण पनि महोत्सव पुगेका फिल्मले घरेलु बजारमा बलियो उपस्थिति जनाउन नसकेको निर्देशक लामा तर्क गर्छन् ।
‘फिल्म आर्टिस्टिक हुनु र व्यापार गर्नु फरक कुरा हो । व्यापारकै आधारमा यो फिल्म राम्रो र नराम्रो भन्नुचाहिँ गलत हो,’ दीपेन्द्रले भने, ‘अहिले न्युयोर्क टाइम्सले निकालेको फिल्मको सूचीको पहिलो स्थानमा प्यारासाइट पर्यो । तर अहिलेसम्ममा व्यावसायिक हिसाबले धेरै राम्रो गरेको फिल्म त अवतार हो नि । त्यसैले फिल्मको व्यापार राम्रो हुनु एउटा पाटो हो, फिल्म महोत्सवमा पुग्नु अर्को पाटो हो ।’
निर्देशक सुवर्ण थापा चलचित्र विकास बोर्डले सर्वाधिक कमाउने फिल्मलाई मात्रै नभई महोत्सव पुगेका फिल्मलाई पनि सम्मान गर्नुपर्ने धारणा गर्छन् । सुवर्णको कुरामा सहमत हुँदै निर्देशक लामाले थपे,’विकास बोर्डले सार्वजनिक गरेको सर्वाधिक कमाउने २५ फिल्मको सूचीमा मेरो लागि सबैभन्दा धेरै राम्रो लागेको फिल्म शाम्बाला हो । शाम्बालाले कम पैसा कमायो भन्दैमा त्यो नराम्रो फिल्म हो भन्न मिल्दैन ।'
उनी महोत्सव जाने फिल्मले अन्तर्राष्ट्रिय बजारमा देशकै प्रतिनिधित्व गर्ने हुँदा यसको योगदान भुल्न नहुने बताउँछन् । 'फिल्म महोत्सवमा जानु देशको परिचय त्यो प्लेटफर्ममा पुर्याउनु हो । त्यहाँका दर्शकलाई यहाँको संस्कृतिदेखि विभिन्न विषय चिनाउनु हो । बोर्डले सार्वजनिक गरेको २५ फिल्मले के अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ त ?,' प्रश्न गर्दै सुवर्णले भने,'शाम्बाला र गाउँ आएको बाटोले विश्व बजारदेखि घरेलु बजारमा राम्रो गर्यो । तर, के त्यो सूचीमा भएका बाँकीका फिल्मले त्यसै किसिमको उपस्थिति त्यता जनाउला सक्ला त ?'
