सलाम जिउँदो इतिहासमा यसपटक राजु सिंह 

असार २१, २०८२

कान्तिपुर संवाददाता

Salute to Raju Singh this time in living history

काठमाडौँ — रेडियो कान्तिपुरले 'सलाम जिउँदो इतिहासलाई' कार्यक्रमअन्तर्गत शनिबार वरिष्ठ संगीत साधक राजु सिंहलाई सम्मान गरेको छ। झण्डै ४ दशकयता संगीतमा सक्रिय सिंहलाई रेडियो कान्तिपुरमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो।

रेडियोका स्टेशन म्यानजेर पवन आचार्यले सिंहलाई सम्मान–पत्रसहित  दोसल्ला ओढाएर सम्मान गरे। पिता वरिष्ठ वाद्यवाधक भगत सिंहको प्रभावले संगीतमा प्रवेशका सिंह स्कूल पढ्दाताका गीत गाउँथे । तर, पछि यिनी संगीतकारका रुपमा विख्यात भए।

सिंह भन्छन्,'जुन पेशामा लागे पनि पढ्नुपर्छ भन्ने बुवाको प्रेरणाका कारण मैलेपछि संगीत पनि पढें । शायद त्यसैले अहिले मलाई राजु सिंह बनाएको हो ।'

सिंहको पारिवारिक माहौल नै संगीतमय छ। बहिनी धनुषा सिंह पनि गायिका हुन् भने भाइ कल्याण सिंह युवा पुस्ताका नाम चलेका संगीतकार। सिंहले नेपाली गायक गायिकासँग मात्रै हैन, पाकिस्तानी गुलाम अली र भारतीय आशा भोसले लाई पनि संगीत दिएका छन् ।

उनी गायन रियालिटी शो साउथ इण्डियन म्युजिक सुपर स्टार कार्यक्रमका जज समेत भइसकेका छन्। ३५ भन्दा बढी सोलो एल्बम निकालेका सिंहको संगीतमा १ हजार २ सय बढी गीत रेकर्ड भइसकेका छन् । आफ्नो पुरानो ब्याण्ड प्रतिबिम्वका साथीहरुसँग मिलेर नयाँ सिर्जना श्रोतालाई पस्किने योजनामा सिंह छन्।

भन्छन्, 'जतिबेला प्रतिबिम्व बन्यो त्यतिबेला हामी सबै अल्लारे थियौं । अब सबै परिपक्व भयौं । झन् निखारिएको प्रस्तुति दिनपर्छ भनेर बसन्त बित्यासी थापा, जोन र पुनमसा कुरा हुादैछ छिट्टै केही ल्याउने योजना छ ।' सम्मान कार्यक्रममा राजु सिंहका केही कालजयी गीतहरुलाई नयाँ पुस्ताका गायक कलाकारले प्रस्तुत गरेका थिए ।

छिरिङ भुटियाले रित्तो सडकमा र बादलहरु हो आकाश ढाकी, टीका प्रसाईंले नजरको दोषी बनी र जितेन्द्र चौधरीले काँडा हो माया र बचन तोडें कसम नि तोडें बोलको गीत गाएका थिए । रेडियोले हरेक महिना गीत संगीत, सिनेमा र साहित्यका मुर्धन्य व्यक्तित्वलाई सलाम जिउँदो इतिहासलाई कार्यक्रम गरेर सम्मान गर्दै आएको छ । 

कान्तिपुर

Link copied successfully