काठमाडौँ — रेडियो कान्तिपुरले आगामी असार २८ मा आम दर्शकलाई समेट्दै प्रतिष्ठित ‘नेसनल म्युजिक अवार्डस्’सँगै कन्सर्टको आयोजना गर्दै छ ।
१४ विधा र लाइफटाइम अचिभमेन्ट अवार्डसहितको यो कन्सर्टमा कुम सागरदेखि दुर्गेश थापासहित १० चर्चित युवा कलाकारको प्रस्तुति रहनेछ । ३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा कुम र दुर्गेशसँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले सांगीतिक प्रस्तुति दिँदा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुतिले मनोरन्जन गराउनेछन् ।
कान्तिपुर टेलिभिजनका सीईओ सुरजसिंह ठकुरीले नेसनल म्युजिक अवार्डस्ले आफ्नो स्तर बढाउँदै यसपटक कन्सर्टसँगै अवार्ड वितरण गर्न लागेको जानकारी गराए । ‘यो वर्षौंदेखि हुँदै आएको कार्यक्रम हो । पुराना व्यक्तित्त्वको योगदान सम्झँदै उहाँहरुलाई दोसल्ला ओढाउँदै सम्मान दिँदै आएका हौं । पहिला हामी पाँचतारे होटलमा कार्यक्रम गर्दै, टेलिभिजनमार्फत दर्शकबीच पुग्दै आएका थियौं । तर, यसपटक दर्शक सँगसँगै बसेर हामी कार्यक्रम गर्दै छौं,’ ठकुरीले भने, 'पाँचतारे होटलबाहिर बसेर दर्शकसँगै यो कार्यक्रम गर्छौं । यो म्युजिकल नाइट्समा युवा कलाकारलाई स्थान दिँदै उहाँहरुको प्रस्तुतिमार्फत हामी सँगै रमाउनेछौं ।'
रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले यसअघि रेडियो कान्तिपुरमा बजेका गीतलाई मात्रै अवार्ड दिइने गरेकामा केही वर्षयताबाट कान्तिपुरबाहेका क्षेत्रमा बजेका गीतलाई पनि अवार्डमा समावेश गराउँदै आएको बताए ।
‘रेडियो कान्तिपुर मात्रै त्यस्तो रेडियो हो, जसले गीत बजाएबापत स्रष्टालाई रोयल्टी दिने गर्थ्यो । त्यही रोयल्टी दिने क्रममा हामी कार्यक्रम आयोजना गर्थ्यौं । तर, अहिले रोयल्टी संकलन समाजले नै रोयल्टी लिन्छ । त्यसैले अहिले हामीले कान्तिपुरमा बजेका मात्रै होइन बाहिर बजेका गीतलाई पनि अवार्डस्मा समेट्छौं,’ आचार्यले भने, 'टिकट किन लिनुभयो भन्नुहोला ? खासमा अपनत्व अनुभव गराउन हामीले टिकट राखेका हौं । संगीतका मुर्धन्य व्यक्तित्त्वलाई उहाँहरुले संगीतमा गर्नुभएको जीवन लगानीको कदरस्वरुप पनि हामीले टिकट राखेका हौं ।'
कार्यक्रम रेड कार्पेटसहित आयोजना हुनेछ ।
