नेसनल म्युजिक अवार्ड्स यसपालि कन्सर्टसहित, दुर्गेश थापादेखि कुम सागरसम्मको प्रस्तुति

असार २०, २०८२

रीना मोक्तान

National Music Awards this year with concerts, performances from Durgesh Thapa to Kum Sagar

काठमाडौँ — संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘नेसनल म्युजिक अवार्ड्स २०८१’ (एनएमए) ले पहिलो पटक दर्शकलाई समेत समावेश गराउँदै अवार्डसहित सांगीतिक कन्सर्ट आयोजना गर्दै छ । रेडियो कान्तिपुरले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रममा यसपालि युवा पुस्ताका चर्चित १० कलाकारले एउटै मञ्चमा प्रस्तुति दिँदै छन् । 

गोदावरी सनराइज सम्मेलन केन्द्रमा २८ असारमा हुने कार्यक्रममा पहिलो पटक कुम सागर र दुर्गेश थापाले एकसाथ प्रस्तुति दिँदै छन् । आकर्षणको केन्द्रमा रहेका यी दुईको प्रस्तुतिसँगै युवा गायकहरू स्वप्न सुमन, सुशान्त घिमिरे, वाङ्देन शेर्पा, अस्मिता अधिकारी, एलिना चौहान र पशुपति शर्माका साथै कार्टुन क्रु, सुन्दर खनाल र सुजिता श्रेष्ठको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागी हुन इच्छुक दर्शकले ईसेवाबाट टिकट खरिद गर्न सक्नेछन् । 

कार्यक्रममा ३ हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको आयोजकको भनाइ छ । सहभागी हुन सर्वसाधारणका लागि १५ सय र भीआईपीका लागि ५ हजार रुपैयाँका टिकट छन् । कार्यक्रममा १४ विधामा अवार्ड वितरण गरिनेछ । यस्तै दीर्घ साधना सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) बाट संगीत क्षेत्रमा जीवनभर लामो समयसम्म योगदान दिएका कलाकारलाई पुरस्कृत गरिनेछ । गत वर्ष पपसम्राट ओमविक्रम विष्टलाई यो सम्मान दिइएको थियो । ओमले आफ्ना कालजयी गीतमार्फत दर्शक झुमाएका थिए । 

रेडियो कान्तिपुर संगीतको विकासमा क्रियाशील भएकाले संगीत क्षेत्रको प्रवर्द्धन गर्न नेसनल म्युजिक अवार्ड्स गर्दै आइरहेको हो । रेडियो कान्तिपुरले शुक्रबार पत्रकार सम्मेलन गरी शीर्ष पाँच मनोनयन सार्वजनिक गर्दै छ । वर्षभरि प्रदर्शनमा आएका गीतबाट विभिन्न विधामा मनोनयन सार्वजनिक गर्ने बताइएको छ । 

रेड कार्पेटसहितको भव्य सांगीतिक कार्यक्रम पहिलो पटक आमदर्शकका लागि समेत आयोजना गरिएको कान्तिपुर पब्लिकेशन्स्की कर्पोरेट म्यानेजर सिम्रन श्रेष्ठले बताइन् । ‘नेपालमा संगीत क्षेत्रमा योगदान दिएका कलाकारलाई सम्मान गर्ने अनि युवा पुस्तालाई समेट्ने यस किसिमको प्रतिष्ठित अवार्ड कार्यक्रम छैन, त्यसैले रेडियो कान्तिपुरले यो क्षेत्रमा योगदान दिएका कलाकारलाई समेट्दै उनीहरूलाई सम्मान गर्ने कार्यक्रम गर्न आवश्यक ठान्दै एनएमए सुरु गरेको हो,’ श्रेष्ठ भन्छिन्, ‘यसपालिको अवार्ड कार्यक्रम हामीले आमदर्शकको सहभागितामा आयोजना गर्दै छौं । दुर्गेश थापादेखि कुम सागरसम्मलाई एउटै मञ्चमा उभ्याउँदै छौं । सबै दर्शकलाई यो भव्य कार्यक्रममा सहभागी भइदिन हुन अनुरोध गर्दछु ।’

रेडियो कान्तिपुरले स्थापनादेखि नै संगीत क्षेत्रका कलाकारलाई रोयल्टी वितरण गर्दै आइरहेकामा ८ वर्षयता भने ‘नेसनल म्युजिक अवार्ड्स’ गरिरहेको छ । यसअघि स्रष्टालाई रोयल्टी दिन आयोजना हुँदै आएको यो कार्यक्रम समयसँगै बृहत् अवार्ड कार्यक्रमको आवश्यक महसुस गरेर एनएमए सुरु गरेको रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्य बताउँछन् ।

 ‘स्थापना कालदेखि हामीले रेडियो कान्तिपुरको वार्षिकोत्सवमा स्रष्टालाई रोयल्टी दिने मात्र गर्थ्यौं, त्यतिबेला शीर्ष १० गीत छान्दै रोयल्टी दिन्थ्यौं, अहिले रोयल्टी त रोयल्टी समाजलाई एकमुष्टमा बुझाउँछौं,’ आचार्य भन्छन्, ‘हामीले ०६५ बाट अर्नस भनेर कार्यक्रम गर्‍यौं, ०७१/७२ बाट नेसनल अवार्ड वितरण गर्न थाल्यौं । पहिला रेडियोमा मात्र बजेको गीतलाई अवार्ड दिन्थ्यौं । अहिले चाहिँ दुई तहका निर्णायक राखेर रेडियोबाहेकका क्षेत्रमा सार्वजनिक भएका गीतलाई पनि अवार्ड दिन्छौं ।’

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully