फिल्मको मेरुदण्ड हो, पटकथा । तर, पटकथा नै कमजोर भए कस्ता फिल्म बन्लान् ?
काठमाडौँ — एक वर्षयता फिल्म लेखिरहेका अभिनेता एवं पटकथाकार दीपकराज गिरीलाई सधैं लाग्छ, 'फिल्म लेख्ने राम्रो पटकथाकार भइदिए लेखनको भार बिसाइन्थ्यो । 'जात्रा' निर्देशक प्रदीप भट्टराईलाई पनि फिल्म लेख्न बस्दा यस्तै अनुभव हुन्छ । हुन त यसबीच प्रदीपले केही पटकथाकारसँगको सहकार्यमा फिल्म लेख्न खोजे । चित्तबुझ्दो लेखक पाएनन्, त्यसपछि आफैं तातिए ।
अभिनय मात्रै गर्न रुचाइरहने कलाकार दीपकलाई फिल्म लेखकको अभावले नै लेखनमा डोर्याएको हो । यो दीपक र प्रदीपको भोगाइ मात्रै होइन, फिल्म लेखकको खडेरीका कारण अधिकांश नेपाली फिल्मकर्मी आफै कथा लेख्दै फिल्म बनाइरहेका छन् ।
सबैको गुनासो एउटै छ, नेपाली फिल्म क्षेत्रमा राम्रो पटकथाकारको साँच्चै हाहाकार छ !
फिल्मको मेरुदण्ड हो, पटकथा । तर, पटकथा नै कमजोर भए कस्ता फिल्म बन्लान् ? नेपाली फिल्म यही पक्षमा चुकिरहेको छ । हरेक फिल्मका समीक्षाले पटकथाका दुर्बल पक्ष कोट्याइरहेको पनि हुन्छ । आखिर नेपाली फिल्म क्षेत्रले दशकौं पूरा गरिरहँदा पटकथाकारको अभाव किन खट्किइरहन्छ ?
निर्देशक दीपेन्द्र लामा लेखक अभावकै कारण फिल्म क्षेत्रमा भएका एकाध पटकथाकारलाई छोटो समयमा थुप्रो फिल्म लेख्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । साथै, लेखकमाथि गर्नुपर्ने लगानी पनि न्यून रहेकाले लेखिरहेकै लेखकका हकमा पनि उत्साहित हुने वातावरण नभएको लामाले सुनाए ।
खासमा फिल्म लेख्न औसतमा ६ महिना लाग्छ । तर, यहाँ फिल्म बनाउनेहरु सधैं हतारमै हुन्छन् । निर्मातालाई मात्रै होइन कलाकारमा पनि सीमित समयमा फिल्म सिध्याउनुपर्ने बाध्यता देखिन्छ । 'यस्तो दबाबबीच लेखकले लेख्दा सोचेको जस्तो स्क्रिप्ट बन्दैन । अर्को त त्यही स्क्रिप्टमाथि छलफल गर्ने, सच्याउने समय नै हुँदैन, 'निर्देशक लामाले भने, 'विडम्बना यहाँ लेखकलाई अझै पनि उचित पारिश्रमिक दिइँदैन । हिरोलाई ६० लाख दिइसक्यो, निर्देशकलाई ४०/५० लाख । लेखकलाई २/३ लाखमा लेखिदिनु भन्ने फिल्मकर्मीको आसय हुन्छ ।'
दीपेन्द्रले भनेझैं नेपालमा फिल्मका विभिन्न विभागका लागि राम्रै बजेट छुट्याउन थालिएको छ । तर, लेखनका लागि अझै बजेट कम छ । अहिले पनि कतिपय निर्माता लेखकसँग थोरै पैसामै बार्गेनिङ गरिरहेका भेटिन्छन् । ६ महिना ढुक्कले लेख्ने पारिश्रमिक छुट्याइदिँदैनन् । जीवन चलाउने पारिश्रमिक नपाउने लेखक उत्साहित होउन् पनि कसरी ! यस्तो हुँदा, लेखकलाई आफ्नो दैनिकीकै लागि थोरै समयमा धेरै स्क्रिप्ट सकौं भन्ने पनि हुन्छ ।
छोटो समयमा लेखिएका कथा कस्तो बन्ला ? लेखककै सवालमा छिमेकी मुलुक भारत धेरै अगाडि पुगिसकेको अनुभव पटकथाकार सम्पदा मल्लले बटुलेकी छन् । 'भारतलाई नै हेर्ने हो भने लेखक त्यहाँ सुरक्षित छन् । त्यहाँ त लेखकलाई सुरक्षित गर्ने कानुन नै बनेका छन् । तर यहाँ ६ महिनासम्म फिल्म लेखिरहँदा लेखकलाई परिवार पाल्ने पारिश्रमिकसमेत पुग्दैन,' सम्पदा भन्छिन् । 
उनी बल्ल नेपाली फिल्मकर्मी पटकथाप्रति गम्भीर हुन थालेको देख्छिन् । भारतीय फिल्म उद्योगबाट पटकथा ओसार्दै फिल्म बनाउन सुरु गरेको नेपाली फिल्मको इतिहास लामो समय बलिउडको नक्कलमै बित्यो । बल्लतल्ल फिल्मकर्मीले पटकथाको महत्त्व बुझ्न थालेको कुरा साँचो हो । 'खासमा पहिलाको पुस्तालाई त फिल्म लेखनको संरचना नै थाहा थिएन । अहिले बल्ल फिल्मकर्मीलाई पटकथाको संरचनामाथि ज्ञान हुन थालेको छ । अबको पुस्ता त झन् पढेर आउने वालामा छन्,' सम्पदाले भनिन्, 'जे पायो त्यही लेख्ने, विदेशी फिल्मको नक्कल गर्नेभन्दा पनि स्क्रिप्ट राइटिङको आफ्नै ग्रामर हुँदो रहेछ भन्ने बुझाइसम्ममा नेपाली फिल्मकर्मी पुग्न थालेका छन् । यो सकारात्मक पाटो हो ।' अहिलेका पुस्तामा निकै सम्भावना रहेको उनले देखेकी छन् ।
पटकथा लेखनको आधारभूत ज्ञान नभएकाहरु संवेदनशील नभइदिँदा फिल्म क्षेत्रको लेखन बलियो नभएको बताउँछिन्, सम्पदा । 'विज्ञान र कलाको संयोजन हो, स्क्रिप्ट राइटिङ । यसलाई बुझ्ने क्रम भने अहिले बढेको छ,' उनले थपिन् ।
पटकथाका सवालमा नेपाली फिल्म अझै पनि बामे सर्दै गरेको अवस्थामा देख्छन्, निर्देशक प्रदीप भट्टराई । कुशल लेखक भेटिएका भए प्रदीपलाई पनि कलम बन्द गरेर निर्देशन मात्रै गर्ने रहर छ । तर, नेपाली फिल्म क्षेत्रको यही रिक्तताले उनी पनि 'स्क्रिप्ट' लेख्न बाध्य छन् । त्यसैले पटकथा लेखनमा आफू सिक्दै अगाडि बढिरहेको उनी सुनाउँछन् ।
'हाम्रो कथा हामीले नै भन्नुपर्छ भनेर सिक्दै अगाडि बढ्यौं । त्यसैले पनि कुशल लेखकको कमजोरी खट्किरहन्छ,' निर्देशक भट्टराई भन्छन्, 'लेखकको धेरै नै अभाव छ नेपालमा, त्यसैले पनि हामीले कनीकुथी लेखिरहेका छौं ।'
पटकथा लेखन सहज विषय पक्कै होइन । कथा मात्रै पनि पकटथा होइन । साहित्यजसरी यसको कथा सलल बगाउन सकिन्न । कथासँगै प्राविधिक पाटोलाई पनि मध्यनजर गरिनुपर्छ । कथा, पात्र, घटना अनि परिघटना मिसाउनैपर्यो । त्यसलाई पनि फिल्मको व्याकरणमा ढाल्नुपर्यो ।
वर्तमान समयमा त कुनै समुदायको कथा भन्दै गर्दा उनीहरुका भावना, प्रतिनिधित्वमाथि संवेदनशील बन्नुपर्ने सवाल उठिरहेका छन् । दलितको कथा भन्न त्यही समुदायबाट कथावाचक आउनुपर्ने समयको माग छ । अर्कोतिर महिला चरित्र चित्रण उहिलेझैं स्त्रीद्वेषी दृष्टिकोणबाट लेखिनुभएन । फिल्म लेखनसँगै यस्ता गहन विषयलाई फिल्ममार्फत पस्कनु पक्कै एक/दुई दिनको लेखनमा सम्भव छैन । 'यो त भिजुअल राइटिङ हो । सीमित समयभित्र कथासँगै प्राविधिक पाटोलाई पनि मध्यनजर गरेर लेख्नुपर्ने हुन्छ । खासमा अहिले हामी यो लेखनको अभ्यासमा छौं,' लेखक भट्टराईले भने । राज्यले पनि पटकथाको क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता देख्छन् उनी । फिल्मकर्मीले पटकथालाई बलियो बनाउन 'स्क्रिप्ट डक्टर' देखि फरक विकल्पको खोजी गरिरहेका छन् ।
फिल्मकर्मीले नयाँ पटकथाकारलाई विश्वास गर्न नसक्दा पनि यो क्षेत्रको रिक्तता पूर्ति नभएको निर्देशक दीपेन्द्र लामा तर्क गर्छन् । 'निर्माता, निर्देशकले नयाँ लेखक खोज्न नसकेको पनि हो । जजसले फिल्म लेखिरहेको छ, उसैमाथि मात्र विश्वास गर्ने । नयाँ लेखकले लेखेर ल्याएको स्क्रिप्ट राम्रो छ वा छैन भन्ने निर्णय लिन सक्ने क्षमता पनि कति निर्देशकमा छैन,' उनले समीक्षात्मक हुँदै भने, 'उनीहरुमा धेरै फिल्ममा हेरिरहेको, हिन्दी/अंग्रेजी फिल्मकै प्लट राखेको स्क्रिप्ट मन पराउने सम्भावना हुन्छ । त्यसैले सिर्जनात्मक रुपले लेख्ने कति लेखक निरुत्साहित हुने वातावरण पनि छ अहिले ।'
हतारको लेखन
राम्रो फिल्मका लागि बलियो पटकथा चाहिन्छ । तर, नेपालमा पटकथा लेखनमै समयको अभाव धेरै छन् । उदाहरणका लागि नेपालका व्यस्त लेखक हुन्, प्रदीप भारद्वाज । ०८२ सालमा प्रदीपले लेखेका 'वर एन्ड वधु', 'अञ्जिला', 'पिताम्बर' र 'जन्ते बाख्रो' प्रदर्शनमा आए । अहिले 'सिटामोल' र 'रियाल रिंगेट' प्रदर्शनको तयारीमा छ भने छायांकनमा जान बाँकी 'काजी' र 'असर्फी' लेखिरहेका छन् ।
अहिलेसम्म करिब ५०/६० फिल्म लेखिसकेका प्रदीपकहाँ स्क्रिप्ट लेखिदिने अनुरोधसहित आउनेहरु अधिकांश फिल्मकर्मी हतारोमै हुन्छन् ।
फिल्म लेखनमा उदाएका लेखक विकास सुवेदीकहाँ पनि निर्मातादेखि निर्देशक यसरी नै आइपुग्छन् । अधिकांश त फिल्म प्रदर्शनको मिति बोकेरै निश्चित समयसीमाभित्र फिल्म लेखिसक्नुपर्ने सर्त अघि सार्छन् । ती फिल्मकर्मीलाई 'स्क्रिप्ट लक' नहुँदै फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न हतारो हुन्छ ।
प्रदीपकहाँ त निर्देशक/निर्माता फिल्म 'हिट हुनुपर्ने' दबाबसहित आइपुग्छन् । यसरी हतारोमा फिल्म लेखनको आग्रह बोकेर आउनेहरुलाई प्रदीप र विकासले नकार्दै आएका छन् । 
हतारोमै फिल्मको स्क्रिप्ट सक्नुपर्ने बाध्यता किन त ?
'अहिले बल्ल लेखकले १० लाख लिन पाए । अलिअलि फिल्म लेख्न थालेकाले ३/४ लाख लिन थालिसके । पहिला त ५०/६० हजारमै सीमित थियो,' अभिनेता दीपकराज गिरी सुनाउँछन् ।
राम्रो 'बजेट' छुट्याए पनि समयको हकमा अझै निर्माताले लेखकलाई निचोर्न खोज्ने उनको भनाइ छ । 'एकै महिनामा स्क्रिप्टमा हातमा पर्नुपर्यो भन्दै निर्माता त्यहाँ पुग्छन् । त्यो लेखकले त्यही दबाबमा लेख्छन्,' उनी भन्छन्, 'एक महिनामा सुटिङमा जानुपर्छ भन्दै त्यस्तो स्क्रिप्ट कलाकारकहाँ आइपुग्छ । यसमा अझै काम गर्नुस् न भनेर कलाकारले सुझाव दिँदा कलाकार नै परिवर्तन भइसक्छन् ।'
फिल्म लेखनको प्रकिया बुझ्न नसक्दा पटकथा कमजोर बनिरहेको धारणा राख्छन्, उनी । 'कथा बुन्न आयो । संरचना पनि बुझ्यौं होला । स्क्रिप्ट डाक्टरले पनि थ्री एक्ट बुझाइदिन्छ होला । कथा भन्ने शैली फरक होलान् । तर जस्तो पटकथाका लागि पनि समय त धेरै चाहिन्छ,' उनी भन्छन्, 'हलिउडमा त एउटै स्क्रिप्टमाथि थुप्रो लेखकबीच मन्थन हुन्छ । हामीकहाँ त त्यसले थाहा पाउला कि भनेर लुकाउने सोच छ ।'
कुनै फिल्म हिट भयो भने त्यस्तै शैलीका फिल्म बन्ने परिपाटीप्रति पनि उनलाई मन परेको छैन । 'सारङ्गीका धुन सुनेर आएका निर्माताले चाँडै धुन सुनाउन खोज्छन् । उनीहरुलाई थाहा हुँदैन कि सारङ्गीको धुन निकाल्न कति गाह्रो हुन्छ,' उनको व्यंग्योक्ति छ, 'खासमा उनीहरु त्यो धुनमा ४६ करोड देखिरहेका हुन्छन् । त्यो धुनमा पैसाको खनखन आवाज सुनेपछि त्यस्तै फिल्म बनाउने हतारोमा लेखककहाँ पुग्छ निर्माता ।'
'प्रकाश', 'पुजार सार्की' प्रदर्शनमा आएलगत्तै विकास सुवेदीकहाँ थुप्रै निर्माता फिल्म लेखिदिनुपर्ने भन्दै आइपुगे । अधिकांशलाई फिल्म तुरुन्तै सकेर प्रदर्शनमा ल्याउने हतार थियो । तर, सामाजिक विषयवस्तु उठाइरहँदा त्यसप्रतिको संवेदनशीलता, गहिराइमा पुग्न समय लाग्ने देखेर विकासले ती निर्मातालाई फर्काइदिए । उनी भन्छन्, 'मैले तुरुन्तै लेखिसक्ने विषयमा फिल्म लेख्दिनँ । लेखन भनेको समय लाग्ने क्षेत्र नै हो । त्यसैले बरु दैनिकीका लागि पैसा नपुगोस् तर ढुक्कले फिल्म लेख्छु भनेर बसेको छु ।'
लेखनमै व्यस्त रहेका प्रदीप भारद्वाज लेखन कमजोर हुनुको अर्को पाटो फिल्ममेकिङ पनि रहेको सुनाउँछन् । उनको शब्दमा भन्नुपर्दा नेपालमा स्क्रिप्टजत्तिको फिल्म बन्दैन । निर्माणको चरणमा फिल्म खस्कन्छ, त्यसको दोष लेखकलाई दिन्छ । जस्तै: निर्माताले लेखकबाट 'लक' भइसकेको पटकथा नै लिएर छायांकनमा जान्छन् । अहिले त छायांकनमा जानुअघि ती स्क्रिप्टमाथि दुई/चार जना लेखक/निर्देशकबाट सल्लाह लिने चलन बढेको छ । अर्को त छायांकनमा गइसकेपछि फिल्म पोस्टप्रोडक्सनको टेबलमा बन्छ । जहाँ, फिल्मको ध्वनि, रङ, सम्पादनदेखि डबिङ लगायतका थुप्रै चरणमा फिल्म पुग्छ ।
फिल्म टिमवर्कमा बन्ने हुँदा कति स्क्रिप्ट यिनै चरणमा खुकुलिँदै जाने भारद्वाजको अनुभव छ । 'स्क्रिप्ट एउटा, फिल्म अर्को' बन्ने अवस्थालाई पनि उनले खेपेका छन् । 'लेखेर मात्रै फिल्म बन्दैन, फिल्म त टिमवर्क हो । विदेशमा स्क्रिप्टभन्दा राम्रो फिल्म बन्छ, यहाँ बन्दैन । स्क्रिप्ट फाइनल भइसकेपछि सुटिङ, ध्वनिदेखि पोस्ट प्रोडक्सनको टेबलमा हाम्रो फिल्म खस्किरहेको हुन्छ,' उनी भन्छन्, 'कतिमा स्क्रिप्ट कमजोर होला, मेकिङ पनि कमजोर छैन भन्न मिल्दैन ।'
प्रदीपले निर्देशक मिलन चाम्सका लागि 'लिलिबिली', 'अञ्जिला', 'वर एण्ड वधु' लेखे । 'असर्फी' उनकै लागि लेख्दै छन् । ज्ञानेन्द्र देउजाका लागि 'देवरबाबु', 'हिफाजत' र 'झिंगेदाउ' लेखे । सिमोस सुनुवारका लागि 'झ्यानाकुटी', 'हात्तीछाप' र 'जन्ते बाख्रो' । लक्ष्मण रिजालका लागि 'काजी' । घनश्याम लामिछानेका लागि, 'पञ्चेबाजा', 'लन्डन टू पेरिस' । गुरुप्रसाद मैनालीको कथामा आधारित 'छिमेकी' पनि लेखिदिँदै छन् ।
यसरी नयाँ/पुराना निर्देशकका लागि फिल्म लेखिरहेका प्रदीप समय अभावकै कारण पटकथा बलियो नभएको स्वीकार्छन् । 'निर्माता सुरुमै रिलिज डेट तोकेर हामीकहाँ आइपुग्छन् । कलाकार योयो राख्नुपर्छ भनेर लेखिदिन आग्रह गर्छन् । अनि त्यही कलाकारको समय नमिल्दा स्क्रिप्ट चलाइदिन्छन्,' उनी अनुभव सुनाउँछन्,'स्क्रिप्ट अहिले ८/ १० जनालाई पठाइन्छ । उनीहरुले थपथाप गर्दा, राय दिँदा पनि बिग्रिरहेको छ । निर्माताले चाहिने सल्लाह कोसँग लिने भन्ने पनि बुझ्दैनन् ।'
हिट बनाउनुपर्ने दबाबमा फिल्म निर्माण प्रक्रियामा होमिइरहँदा पटकथाका लागि समय छुट्याउनेतर्फ फिल्मकर्मीको ध्यान नपुगेको भारद्वाज सुनाउँछन् । 'फिल्म हिट बनाउनुपर्छ भन्ने दबाब फिल्मकर्मी छ । त्यसैले पनि त्यो दबाबले फिल्म बिग्रिरहेको छ । फिल्म राम्रो बनाउँछु भन्दा पनि हिट बनाउनुपर्छ भन्दै यो कलाकार राख, यो गीत मिसाऊ भन्दै फिल्मकर्मी आइपुग्छन्,' उनले भने, 'जुन फिल्म हिट बनाउनुपर्छ भन्ने बाध्यताबाट मुक्त थियो, ती फिल्म चलेका छन् ।'
पुराना लेखकले आफूलाई अपडेट गर्दै लैजानुपर्ने सल्लाह दिँदै निर्देशक लामा पटकथा बलियो बनाउन यहाँ ठूला ब्यानर र निर्माताले 'स्क्रिप्ट ल्याब', 'स्क्रिप्ट फ्याक्ट्री' र 'कार्यशाला'मा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । यस्तो प्लेटफर्ममा लेखकलाई फिल्म लेखनका लागि 'मेन्टरसिप' दिइन्छ । उनीहरुले त्यहीँको सिकाइबाट मजबुत पटकथा लेखनमा अगाडि बढ्न सक्छन् । थुप्रै फिल्म महोत्सवले यस्तै 'ल्याब'मार्फत राम्रा पटकथाकार जन्माइरहेका हुन्छन् । त्यही प्लेटफर्मले पटकथाकारलाई फिल्मकर्मीदेखि निर्मातासँग पनि जोडिदिने काम गर्छ ।
