फिल्म निर्माता–निर्देशकका लागि महत्त्वाकांक्षी प्रोजेक्ट हुन्छ । करोडौंको लगानी भएको हुन्छ । तर छायांकन गर्दागर्दैको फिल्म रोकिँदा अनि सुटिङ सकिएको फिल्म हलमा नलागे उनीहरुको हालत के होला ?
काठमाडौँ — १६ असोज, २०६९ मा कान्तिपुर दैनिकमा ‘वनफूल फुलाउँदै’ शीर्षकमा एक रिपोर्ट छापिएको थियो ।
कान्तिपुरकर्मी सुशील पौडेलको त्यो रिपोर्ट धादिङको आरुघाटमा छायांकन भइरहेको फिल्म ‘वनफूल’माथि थियो । मौलिक कथालाई दृश्यमा उन्दै रमाइरहेका निर्देशक र कलाकारसँग छुट्टै उत्साह थियो ।
त्यतिबेलासम्म पनि सपाट जिउ र गुड लुकिङ हिरोको खोजी गरिरहने दर्शकका निम्ति सुटिङस्थलमा प्रमुख भूमिका निर्वाह गरिरहेका रंगकर्मी सुनिल पोखरेललाई हिरो देख्दा उनीहरू पत्याइरहेका थिएनन् । पोखरेलले भनेका थिए, ‘हामीकहाँ मुख्य पात्रका रूपमा हिरो, हिरोइन नै खोज्ने दर्शक छन् । म बुढोलाई कसले पो पत्याउला र !’
निर्देशक नवराज बुढाथोकी ‘वनफूल’ फूलाउन दत्तचित्त भइ लागिरेका थिए । भव्यताका साथ फिल्मको सुटिङ सकियो । महिना बित्यो, वर्ष बित्यो । दशक नै बित्यो । तर आजसम्म फिल्मका पर्दामा ‘वनफूल’ फुलेको दर्शकले हेर्न पाएका छैनन् ।
भर्खरै अर्गानिक कथा भन्न सुरु गरिरहेको नेपाली रजतपटमा यो फिल्म पनि एउटा महत्त्वपूर्ण हिस्सा हुन सक्थ्यो । यो १३ वर्षमा थुप्रै फिल्म बने, फरक स्वाद भित्रिए ।
तर ठूलो सपना बोकेर निर्माण गरेको यो फिल्मलाई सूचीमा उपस्थित गराउन नसक्दा अहिले पनि थकथकी लागिरहन्छ निर्देशक नवराज बुढाथोकीलाई । फिल्मको सुटिङ मात्र हैन, पोस्ट प्रोडक्सनको काम पनि सकिइसकेको थियो । तर अहिलेसम्म रिलिज किन भएन ? ‘म केवल निर्देशक थिएँ । मसँग यसको अधिकार थिएन,’ नवराज कारण खुलाउँछन् ।
मदन बराल र जीवनसाथी फिल्म प्रोडक्सन फिल्मका निर्माता थिए । ‘उहाँहरूले अन्तराल र श्री पाँच अम्बरे भन्ने फिल्म लगालग बनाउनुभयो । अन्तरालको रिलिजपछि वनफूल रिलिज गर्ने कुरा थियो । तर उहाँहरूले त्यसलाई स्किप गरेर श्री पाँच अम्बरे लगाउनुभयो । अनि यो यत्तिकै रोकियो, नवराज थप्छन्, ‘मैले कति जोड गरेँ । तर आफूसँग अधिकार पनि त थिएन ।’ अहिले त निर्माताहरू सम्पर्कबाहिर छन् नवराजको । ‘वनफूल’पछि उनले फिल्म ‘भुइँमान्छे’ निर्देशन गरे ।
त्यो ०७४ सालमा रिलिज पनि भयो । अहिले पनि त्यो फिल्मको याद आइरहन्छ उनलाई । लाग्छ, ‘अझै पनि रिलिज गर्न पाए त ।’ साथी शुभेच्छक पटक पटक त्यो फिल्मलाई लिएर चिन्ता प्रकट गरिरहन्छन् । ‘जतिबेला त्यो फिल्म बनायौँ अहिले जस्तो सामाजिक कथामा फिल्म बन्ने ठावैं थिएन । रिलिज हुन पाएको भए फिल्मले बेग्लै प्रभाव पार्थ्यो कि,’ नवराज कथाका झझल्कोसहित भन्छन् ।
एउटा फिल्म घोषणा गरेर छायांकनस्थलमा जाँदा निर्देशक निर्माता मात्र हैन, कलाकारसहित थुप्रै व्यक्तिको सपना र करिअर जोडिएको हुन्छ । त्यो फिल्मको छायांकन पूरा नहुँदा वा रिलिजमा अड्कँदा कतिसम्म असर पर्छ भन्ने कुराको उदाहरण धेरै फिल्मकर्मीसँग छ ।
थाहा अभियन्ता रुपचन्द्र विष्टको जीवनमा आधारित फिल्म ‘रुदाने : विद्रोहको नेपाली नाम’का लागि अभिनेता दिव्यदेवले के के मात्र गरेनन् ? ‘रुदाने’बन्न रुपचन्द्रको आवरण, लवज र हाउभाउमा उनले थुप्रै दिन र महिना खर्चिए । काठमाडौंको आकाशे पुलमा रुदाने आवरणमा भाषण गरे । कविता लेखिएका पर्चा बनाएर बेचे ।
तर फिल्म छायांकन हुँदाहुँदै रोकिएको पनि ८ वर्ष बितिसक्यो । रुदानेको १८औं स्मृति दिवसका दिन फिल्मको घोषणा गरिएको थियो । ०७४ सालकै अन्तिममा रिलिज गर्ने दाबी पनि थियो निर्माण टिमको । चार वर्षअघि टिमले टिजर सार्वजनिक गर्यो ।
टिजर हेरेर दिव्यदेवको कामबाट थुप्रै प्रभावित भए । अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेको फिल्मलाई जागृत रायमाझीले निर्माण गरेका थिए । फिल्मको मुख्य चरित्रमा दिव्यदेवका साथै नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका एक सयभन्दा बढी कलाकारको अभिनय थियो ।
फिल्मको सुटिङ आर्थिक अभावले रोकिए पनि निर्माता जागृत रायमाझीले यो कुरा कहिल्यै स्वीकारेनन् । 'लगातार ५५ दिन सुटिङ गर्यौं । चेपाङ बस्तीमा गएर १५ दिन बस्दा ह्याङ भएको थियो । रेस्ट गर्न रोकेका थियौं । त्यसपछि कोभिड सुरु भयो,' जागृतले भनेका थिए ।
तीन वर्षअघि फिल्मको विषयमा कुरा गर्दा पनि रायमाझीले सोही वर्ष बाँकी छायांकन सकाएर ०८० सालसम्म रिलिज गर्ने दाबी गरेका थिए ।
तर फिल्मको बाँकी काम नसकिँदा सपना नै टुक्रिएको अनुभूत गरेका थिए दिव्यदेवले । ‘लामो समयसम्म रुदानेले असर गर्यो । पहिला जति इमोस्नल्ली प्रभावित थिएँ अहिले त्यतिचाहिँ छैन । तर पनि एक खालको निराशा भइरह्यो,’ उनी भन्छन् । यदि ‘रुदाने’ समयमै आइदिएको थियो त उनको फिल्मी करिअरका लागि महत्त्वपूर्ण खुड्किलो हुन सक्थ्यो । तिनै कुराले पनि होला, उनी आफैं पनि पछिल्लो समय आफूले गर्न खोजेको कामसँग सन्तुष्ट छैनन् ।
यद्यपि फिल्मसँग झिनो आशा बाँकीचाहिँ छ दिव्यदेवमा । रुदानेको सम्मानका लागि पनि त्यो फिल्म पूरा गर्नुपर्ने उनको आशय छ ।
निर्माता रायमाझी यो वर्ष फिल्मको बाँकी छायांकन सकाउने बताउँछन् । ‘लाइनअप सबै सकिसकेको छ । १० देखि १५ दिन जतिको सुट बाँकी थियो । त्यसैको फाइनल तयारी भइरहेको छ । बर्खा सकिनासाथ हामी सुटिङमा जान्छौँ,’ उनी भन्छन् ।
दिव्यदेव अब छायांकनमै गएपनि सक्नकै लागि मात्र गर्न नहुने बताउँछन् । '८ वर्षअघि र अहिलेको दर्शकमा फरक भइसक्यो । धेरै अपेक्षा भएकाले फिल्मलाई त्यति नै जिम्मेवारीपूर्ण तरिकाले गर्नुपर्छ,’ उनी भन्छन् । उनी अझैपनि सबै ठीक एकठाउँमा आएर जिम्मेवारीपूर्वक काम गर्ने हो भने आफू तयार भएको बताउँछन् ।
फिल्म निर्देशक निर्शचल बस्नेतलगायत केही स्थापित फिल्मकर्मीलाई निर्देशक नवीन सुब्बाको फिल्म ‘गुडबाई काठमाडौं’ पाठशाला जस्तो थियो ।
उनीहरूले फिल्म निर्माणको क्रममा प्रोडक्सनमा बसेर काम गरेका थिए । त्यसपछि ‘लुट’ बनाएका निश्चल फिल्म क्षेत्रमै ट्रेन्ड सेटरका रुपमा स्थापिए । उनले अरु थुप्रै फिल्ममा निर्देशक, कलाकार र निर्माताका रुपमा काम गरिसके । तर उनले सिकाइ अनुभवका रुपमा काम गरेको फिल्म ‘गुडबाई काठमाडौं’ आजसम्म हलमा रिलिज भएन ।
यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा त पुग्यो । तर नेपाली हलमा कहिल्यै रिलिज भएन । बरु त्यसपछि सुब्बाको ‘गाउँ आएको बाटो’ अघिल्लो वर्ष नेपालमा रिलिज भयो । धेरैले अपेक्षा गरेको फिल्म ‘गुडबाई काठमाडौं’ले दर्शकलाई ‘बाईबाई’ गरिरह्यो । यो आजसम्म किन रिलिज भएन त ? निर्देशक सुब्बाको जवाफ छ, ‘रिलिजै गर्न मन लागेन ।’ यसको ठोस कारण भने बाहिर आएको छैन । उनलाई चित्त नबुझेका कारण फिल्म रिलिज नगरेको धेरैको ठम्याइ छ । सुब्बा अहिले दुई नयाँ फिल्मको तयारीमा जुटिरहेका छन् ।
छिटो छिटो गतिमा फिल्म बनाइरहने निर्देशक दीपेन्द्र के खनाललाई ‘मेयर’का कारण भने ठेस लागेझैं भएको छ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथिको बायोपिक ‘मेयर’को छायांकन गत वर्ष वैशाखमा ५१ दिन लगाएर सकेका थिए ।
दीपेन्द्रका अरु फिल्मको घोषणा हुँदा नै रिलिज मिति तय हुन्थे । र तोकिएको मितिमै रिलिज हुन्थे । तर ‘मेयर’को हकमा भने त्यस्तो भएन । कारण जसको जीवनमाथि उनीहरूले फिल्म बनाएका थिए, उनै मेयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्यो ।
उनीमाथि अवैध क्रसर उद्योग चलाएको, कुटपिट र हत्याका आरोप लागे । यही कारण फिल्मको थप काम अगाडि बढ्न नसकेको नसकेको चर्चा छ । यसबारे निर्देशक खनाललाई सोध्दा उनी भन्छन्, ‘त्यसको खिच्ने काम नै अधकल्चो छ । प्राविधिक काम धेरै रोकियो ।खर्च पनि मिलाउन सकिएको छैन ।’
फिल्मको भविष्यबारे खनाल अनिश्चित छन् । बरु उनले लगत्तै निर्देशन गरेको ‘के घर के डेरा : घर नं २’ रिलिज भइसक्यो । ‘हरिबहादुरको जुत्ता’ रिलिजका लागि तयारी भइरहेको छ । उनी अब नयाँ फिल्मको सुटिङको तयारीमा समेत जुटिरहेका छन् । ‘अरु कुनै फिल्म त्यसरी रोकिएका थिएनन् । यो फिल्म यस्तै भयो,’ उनी भन्छन् ।
निर्देशकहरूका लागि फिल्म महत्त्वाकांक्षी प्रोजेक्ट हो । फिल्ममा करोड करोडका बजेट लगानी भइसकेका छन् । तर छायांकन हुँदाहुँदै दुर्घटनाबस फिल्म रोकियो । र त्यो फिल्म कहिल्यै नबन्ने भयो । त्यस्तो बेला निर्देशक/निर्माताको मनोदशा के हुन्छ ?
निर्देशक राजीव गुरुङलाई हरेक दिन फिल्म ‘ह्यास्ट्याग माया’को स्मृतिदंशले सताइरहन्छ । २ वर्षअघि छायांकनकै क्रममा फिल्मका मुख्य पात्र अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि प्रोजेक्ट नै अलपत्र पर्यो । गुरुङका अनुसार त्यतिन्जेल बजेट नै चार करोड खर्च भइसकेको थियो ।
अन्तत: केही फुटेजहरू संयोजन गर्दै सारुकको नाममा समर्पित एउटा भिडियो बनाउँदै निर्देशक गुरुङले फिल्म नबन्ने घोषणा गरे । अहिले गुरुङ नयाँ सानो बजेटको नयाँ फिल्मका लागि प्रि–प्रोडक्सनमा व्यस्त छन् । ‘तर असफल प्रोजेक्ट सम्झेर बेलाबेला उदास भइँदो रहेछ । अहिले ती फुटेजहरू हेर्न पनि नपरोस् जस्तो लाग्छ,’ उनी भन्छन् । असफल प्रोजेक्टले राजीवलाई एउटा महत्त्वपूर्ण कुराचाहिँ सिकायो । ‘मान्छेहरूसँग प्रि–प्रोडक्सनअघि नै कसरी डिल गर्ने भन्ने कुरा सिकायो । कसरी असफल भइँदो रहेछ भन्ने कुरा पनि सिकायो,’ उनी भन्छन् ।
थन्किएका कामले जहिल्यै पनि बेचैन महसुस गराइरहन्छन् । निर्देशक जौन योञ्जनलाई फिल्म ‘म राजेश हमाल’को पोस्ट प्रोडक्सनको थन्किएको कामले यस्तै अनुभूत गरायो ।
'चार वर्षअघि यो फिल्म खिच्दा उनमा निकै ऊर्जा थियो । तर जब फिल्म खिचेर आइयो, निर्मातासँग पैसाको अभाव भयो । खिचेको फिल्म पोस्टमै रोकियो,' उनले भने । त्यतिबेलासम्म फिल्मको खर्च १ करोड २० लाखभन्दा माथि भइसकेको थियो ।उनले थपे, ‘पहिला एक वर्षसम्म रोकिँदा खासै फरक परेन । जब एक वर्ष कट्यो, मानसिक तनाव सुरु हुन थाल्यो । फिल्म कहिले आउँछ भनेर सोध्नेहरू धेरै हुन्थे । तर मसँग जवाफ थिएन,’ जौन भन्छन् ।
जौनलाई मात्र हैन, त्यही फिल्मबाट आफ्नो करिअरको उचाइ कल्पेकी अभिनेत्री स्मिता लामिछानेलाई धेरै समयसम्म चिन्तित तुल्यायो । ‘त्यो फिल्म समयमा बनेर रिलिज भएको भए मेरो करिअरका लागि धेरै राम्रो हुन्थ्यो । फिल्म रोकिनाले आफूलाई पनि पछि परेको अनुभूत भयो,’ उनी भन्छिन् ।
जौनको निर्देशन र स्मिताकै प्रमुख अभिनय रहेको फिल्म ‘आँखा’ गतवर्ष असोजमा रिलिज भयो । बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित बनेको फिल्म बक्स अफिसमा सफल हुन सकेन । तर विभिन्न फेस्टिभलहरूमा फिल्मको उपस्थिति बलियो छ ।
जौन अब नयाँ फिल्म ‘रोल नम्बर वान’को निर्देशनको तयारीमा छन् । नयाँ फिल्मको तयारी तीव्र भएपनि थन्किएको प्रोजेक्टलाई बेवास्ता गर्न भने सकिरहेका छैनन् जौनले । मंगलबार उनले एउटा खुसी साटे, ‘म राजेश हमाल अब छिट्टै आउँदैछ । अहिले पोस्टको काम भइरहेको छ ।’ निर्माताले लगानी जुटाएर अहिले फिल्मको काम धमाधम अगाडि बढाइरहेका छन् । ‘तर जुन एक्साइटमेन्ट सुरुमा हुन्थ्यो त्योचाहिँ छैन । रिलिज मात्र गर्न पाए पनि हुन्थ्यो भन्ने लाग्दो रहेछ,’ जौन सुनाउँछन् ।
यसरी हार्डड्राइभमा कुनै फिल्म अनिश्चित भविष्य बाँचिरहेका छन् त कुनै अझ पनि आशाको त्यान्द्रो समातेर पार लाग्ने बाटो खोजिरहेका छन् । कुनै भने निर्देशकको सम्झनामा मात्र बाँचिरहेका छन् । त्यसरी पोस्टर र टिजर आएर पनि पर्दामा नआएको फिल्म हो ‘रानीमहल’ ।
निकिता चन्दकको पहिलो फिल्म भनिए पनि यो छायांकनको क्रममा रोकियो । बरु त्यसपछि काम गरेका निकिताका अरू फिल्म आए । यो फिल्मले पूर्णता पाएन । यो फिल्म निर्देशन गरिरहेका हिमाल न्यौपाने आगामी फिल्म ‘जनै हराएको मान्छे’ निर्देशन गरेका हुन् । कोभिडताका छायांकन गरेको सत्यराज चौलागाईंको फिल्म ‘विच्छेद’ पनि आजसम्म रिलिज भएको छैन ।
त्यसैगरी एक दशकअगाडि खिचिएका मातृभूमि, ए फर अमेरिका, हारजित, तुलसी, शून्य, कार्तिक, च्यालेन्ज, डेस्टिनेसन काठमाडौँ, हे युवा, जनता जिन्दावाद लगायत फिल्म कहिल्यै दर्शकसामु पुग्न सकेनन् ।
