काठमाडौँ — जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘आँखा’ले इटालीको प्रतिष्ठित २९औँ अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (आईपीएएएफ) मा उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्रीको विधामा अवार्ड जितेको छ।
निर्देशक योञ्जनका अनुसार आयोजकले इमेलमार्फत अवार्डको जानकारी दिँदै समारोहमा सहभागी हुन निमन्त्रणा पनि पठाएको छ । फिल्मकी मुख्य पात्र अभिनेत्री स्मिता लामिछानेले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि यो उपलब्धिलाई टिमको कठिन परिश्रमको परिणाम भनेकी छन् । 'यो फिल्मका लागि म र हाम्रो टिमले गरेको कठिन मिहिनेतको परिणाम मिलेको छ,' उनले प्रतिक्रिया दिएकी छन् ।
आईपीएएएफ अवार्ड समारोह आगामी १४ सेप्टेम्बरमा इटालीको बिर्गामो सहरमा आयोजना हुने बताइएको छ।
यसअघि ‘आँखा’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा राष्ट्रिय फिल्म प्रतिस्पर्धाको अन्तर्गत उत्कृष्ट कथानकसहित तीन विधामा अवार्ड जितेको थियो ।
फिल्म ‘आँखा’ गत वर्ष असोज ११ गते प्रदर्शनमा आएको थियो । तर त्यही समयमा नेपालका विभिन्न भागमा आएको बाढी तथा पहिरोका कारण जनधनको क्षति भएको र त्यसले फिल्मको प्रदर्शनमा असर पारेको निर्देशक योञ्जनले बताएका छन् ।
निर्देशक जौन योञ्जनको अर्को फिल्म ‘म राजेश हमाल’ हाल रिलिजको तयारीमा रहेको छ । उक्त फिल्ममा पनि अभिनेत्री स्मिता लामिछानेको मुख्य भूमिका रहेको छ । त्यस्तै, ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरेको सेभेन सिज सिनेमा ब्यानर अन्तर्गत निर्देशक योञ्जनले नयाँ फिल्म ‘रोल नम्बर वान’ को निर्देशन गरिरहेका छन् ।
