काठमाडौँ — चलचित्र विकास बोर्डले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा विगत २५ वर्षमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूची सार्वजनिक गरेको छ । कार्यक्रममै बोर्डले नेपालको पहिलो फिल्म 'आमा'को पोस्टर हुलाक टिकटमा समावेश गरेको घोषणा गरेको छ ।
बोर्डले दिएको सूचीअनुसार पूर्णबहादुरको सारङ्गी ४६ करोडभन्दा बढीको कमाइले सूचीको प्रथम पंक्तिमा छ भने 'कबड्डी ४' ले २१ करोडभन्दा बढी कमाउँदै दोस्रो स्थान ओगटेको छ ।
१२ गाउँ, छक्का पञ्जा ४, जारी, छक्का पञ्जा, महाजात्रालगायत फिल्म क्रमश ३, ४, ५, ६ र ७ औं स्थानको सूची अटाएका छन् । प्रदर्शनरत 'उनको स्वीटर' पनि सार्वाधिक कमाइ गर्ने फिल्मको १२ औं स्थानमा परेको छ ।
अभिनेत्री केकी अधिकारी अभिनित फिल्म 'बोक्सीको घर' १० करोडको कमाइसँगै सूचीको १४ औं स्थानमा परेको छ । यो सूचीको २५औं स्थानमा भने दीपेन्द्र के खनाल निर्देशित 'पशुपति प्रसाद २-भष्मे डन' छ । यो फिल्मले ७ करोडभन्दा बढीको कमाइ गरेको छ ।
पुजार सार्की, प्रेमगीत ३, परदेशी २, अञ्जिलादेखि दिमाग खराब, छ माया छपक्कै, शत्रु गते लगायतका फिल्म पनि सर्वाधिक कमाइ गर्ने फिल्ममा पर्छन् ।
'आमा'को हुलाक टिकट अनावरणमा फिल्मकी अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डीसी, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी उपस्थित थिए । टिकटमा फिल्मको मुख्य अभिनेता र अभिनेत्रीको तस्बिर अंकित छ । नेपाली फिल्मको प्रदर्शनका लागि १० रुपैयाँमा यो टिकट प्रकाशनमा ल्याइएको बोर्डले जनाएको छ ।
