बेलायतमा रहेका नेपालीको फिल्म प्रदर्शन

असार १५, २०८२

कान्तिपुर संवाददाता

Film screenings of Nepalis in the UK

काठमाडौँ — ब्रिटिस काउन्सिलसँगको सहकार्यमा धौलागिरी फिल्म्सले बेलायतमा रहेका नेपाली फिल्मकर्मीको फिल्म नेपालमा प्रदर्शन गरेको छ ।

लैनचौरस्थित काउन्सिलभित्रै फिल्मकर्मीहरु तारा मानन्धर, स्वेक राई, सुसन्न कदा लिम्बू, म्याक्सिमस लिम्बू र श्रीष गुरुङका फिल्म देखाइएका हुन् । 'रिल कनेक्सन्स'शीर्षकमा आयोजना भएको यो कार्यक्रममा अस्मिता श्रीषको फिल्म पनि देखाइएको थियो । 

नेपालका लागि बेलायती राजदूत रोब फेनको उपस्थितिमा कार्यक्रमको उत्घाटन गरिएको थियो । बेलायतमै बनेका यी फिल्मले निर्माण गरेका भाष्यबाट आफू सिक्न चाहेको कुरा उद्घाटन समारोहमा बेनले सुनाए । प्रदर्शन गरिएका फिल्मले बेलायतमा रहेका नेपालीले ब्रिटिश गुर्खाबाहेक पनि फिल्मकर्ममा कसरी आफ्नो पहिचान स्थापित गराउँदै छन् भन्ने देखायो ।

स्वेकको फिल्म 'द पिपुल क्लोजेट टू हेभन टेक्स'ले बेलायतमा भएका नेपालीले पहिचानको सवालमा कसरी प्रश्न गरिरहेका छन् भन्ने विषय समेटिएको थियो । तारा मानन्धरको 'टप टेन लन्डन'ले आप्रवासीहरुको फरक संस्कृति समेटेको थियो भने अस्मिता श्रीषकै फिल्ममा महिलाको फरक विषय समावेश थियो । 

फिल्मको प्रदर्शनपश्चात् ती फिल्ममाथि अन्तरक्रिया आयोजना गरिएको थियो । काउन्सिलको कला प्रमुख न्हुज तुलाधरले फरक क्षेत्रका नेपाली यो कार्यक्रममा सहभागी हुँदा खुसी व्यक्त गरे । काउन्सिलले बेलायत र नेपाललाई जोड्न यो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बेलायतमा बनेका ६ फिल्म देखाइएका थिए ।

कान्तिपुर

Link copied successfully