काठमाडौँ — दुई निकै फरक पात्र ! तर, चोटमा समान । उनीहरूभित्रका त्यही चोट र दागले कलिना र दिवसलाई 'सिक रुम' पुर्याउँछ । पीडा र दुखाई बिर्साउने चौतारीमा भेटिएका यी दुई त्यही दुखाईहरूसँगै ठोक्किइरहन्छन्, निरन्तर ! 'सिक रुम' एउटा यस्तो कोठा हो, जहाँ बिरामी आराम गर्न आइपुग्छ । बिरामीका लागि छुट्याइएको यो कोठा, घाउ र चोट निको हुने प्रतीक्षालय पनि हो !
किशोर उमेरका कलिना(नुरु खनाल) र दिवस(अभिषेक खड्का) को पहिलो भेट 'सिक रुम'मै हुन्छ । यहीँ उनी दुईले एक अर्काको घाउबारे कुरा गर्छन् । घाउमा लागेका दाग निशंकोच देखाउँछन् । र, एक अर्काको दुखाईमाथि समानूभूत र सहानुभूति प्रकट गर्छन् ।
पेट दुखेर कलिना विद्यालयको बिरामी कोठामा पुग्छिन् । त्यहाँ राखिएका दुई पलङमध्ये एउटामा लम्पसार पल्टिन्छिन् । पेट सुमसुम्याउँछिन् । दुखेर छटपटिँदा कहिले पलङमाथि उफ्रिन्छिन् त कहिले लम्पसार बन्छिन् ! त्यतिकैमा घुँडा र हात रक्ताम्मे पारेका किशोर कोठाभित्र प्रवेश गर्छन् । आँखाको ठिक तलतिर केही कुराले चट्ट काटेको दाग पनि छ । उट्पट्याङ गरेर त्यहाँ पुगेका दिवससँग कलिनाले 'सिक रुम' आइपुग्नुको कारण सोध्छिन् । स्कुलको कौसीमा साइक्लिङ गरेर शरीरभरि चोट पुर्याएका दिवसको हालत देखेर कलिनाले फेरि सोध्छिन्, 'दुख्छ ?' ।
'कथाघेरा थिएटर'मा मञ्चनरत नाटक 'सिक रुम'मा निर्देशक आकांक्षा कार्कीले यही मसिनो शब्दमार्फत गम्भीर विषय पस्केकी छन् । राजीव जोसेफको नाटक 'ग्रुसम प्लेग्राउन्ड इन्जरिज'को नेपालीमा रूपान्तरित यो नाटकमा यी दुई पात्र उभ्याउँदै जटिल प्रेम सम्बन्ध, मानवीय जटिलता, कमजोरी र नरमपना प्रस्तुत गरिएको छ ।
नाटकको केन्द्रमा छ, आफूलाई क्षति पुर्याउने(सेल्फ हार्म) गर्नेहरू । नाटकमा कलिना र दिवसबीचको सम्बन्ध जटिल छ । उनी दुई मिल्ने साथी होइनन्, आदर्श प्रेमी पनि होइनन् । तर, जति पटक भेटिन्छन्, त्यही घाउकै कारण भेटिन्छन् । अर्थात् दुईको अधिकांश भेट या त अस्पतालमा हुन्छ, या त सिक रुममा । लामो समयको अन्तरालमा भेटिरहँदा उनीहरुबीच गहिरो मित्रता देखिन्छ । दुईले कतै न कतै एकअर्काप्रतिको प्रेम पनि स्विकारिरहेका हुन्छन् ।
तर, यी दुई बेग्लै संसारमा बाँच्छन् । प्रेमकै पनि बेग्ला–बेग्लै बाटो समात्छन् । तर, एकअर्काप्रति उतिकै वास्ता अनि प्रेम प्रकट गरिरहन्छन् । उनी दुईबीचको जटिल सम्बन्धमार्फत प्रेमको फरक आयाम नाटकले आभास गराउँछ । एक अर्काका कमजोरी, समस्या खुलेर देखाउँछन् । आफूले बनाएको घाउमाथि गफिन्छन्, र त्यसका पीडा बाँड्ने कोसिस गर्छन् ।
कलिना र दिवस दुवैले आफूलाई चोट पुर्याइरहेका हुन्छन् । कलिनाले कहिले चक्कुले तिघ्रामा घाउ पार्छिन्, त कहिले बिजुलीको खम्बामा चढिरहन्छन् दिवस । तर, यी दुईले आफैंलाई किन चोट दिइरहेका हुन्छन् त ? 'सिक रुम'ले खासै बलियो कारण दिँदैन । दिवस त्यही चोटमार्फत कलिनासँग नजिक हुन चाहन्छन् ।
दिवसको विश्वास छ, कलिनाले चोट छुने बित्तिकै उनी निको हुन्छन् । त्यसैले आफ्नो चोट निको हुने आसमा कलिनाको नजिक परिरहन्छन् । तर, के दिवस कलिनाप्रतिको प्रेमकै कारण बारम्बार चोट बोकेर उनीकहाँ पुगिरहेका त हुँदैनन् ? कुन अन्तर्द्वन्द्वले गर्दा कलिना आफूलाई रक्ताम्मे पारिरहेकी हुन्छिन् ?
नाटक दुई पात्रको आन्तरिक द्वन्द्वमाथि अझै खुलेको भए, मनोविज्ञान, तनाव र जटिलतामाथि नाटकको बहस बृहत्तर हुने थियो । तर, यो कथा उठाउँदै गर्दा निर्देशक आकांक्षाले बाल्यकालका तनाव, जीवनका जटिलता र पीडाबीच बाँचिरहेकालाई बारम्बार सोधेकी छन्, 'घाउ दुख्छ?' यो प्रश्न, साहस हो, जीवन जिउने प्रेरणा र उत्साह हो । सहँदै आएको दुखाई, चोट र घाउलाई भुलाइदिने 'पेनकिलर' पनि ! दुखिरहँदा कसैले 'दुख्छ ?' भनेर सहानुभूत गर्नु नै पनि त ठूलो राहत हो ।
यो नाटकमा दर्शकलाई जोडिरहने एउटा गज्जबको शैली छ । त्यो हो, नाटकमा प्रयोग 'नन-लिनियर' शैली ! जस्तै, मञ्चमा कहिले कलिना र दिवसको किशोर अवस्था देखिन्छ त कहिले युवा अवतार । जिज्ञासा, नौला प्रयोग, पहिलो अनुभव किशोर अवस्थालाई जीवन्त बनाइदिने दृश्य हुन् ।
यी दृश्यमा अधिकांश समय कलिना र दिवसमा नौला प्रयोगको जिज्ञासा धेरै भेटिन्छ । प्रेम, यौन अनि भविष्यका अधिकांश विषय यसमा पाइन्छ । तर, युवा हुँदाका दृश्यहरूमा सम्बन्ध, जीवन भोगाई अनि अनुभूति केन्द्रमा छन् । साथै, यसमा उनीहरूका विगत र सम्झनाका सुन्दर प्रसंग भेटिन्छन् ।
यी दुईको जीवनको आरोह–अवरोहलाई एउटै मञ्चमा जीवन्त प्रस्तुत गर्न निर्देशक आकांक्षाले समातेको यो शैली निकै सुन्दर देखिन्छ । एउटा दृश्यमा दिवस र कलिनाको विगत अनि वर्तमानलाई एउटै मञ्चमा उभ्याउँदै ती पात्रलाई सम्मिलित गराइएको छ । जब वर्तमानका दिवस(सुदाम सिके)ले विगतकी कलिना(नुर खनाल)सँग सवाल-जवाफ गर्छिन्, तब वर्तमानकी कलिना(आकांक्षा कार्की)ले विगतको दिवस(अभिषेक खड्का)सँग सञ्चार गर्छिन् । मञ्चमा गरिएको यस किसिमको प्रयोग नै 'सिक रुम'लाई परम्परागत कथ्य शैलीबीच दर्शकसामु नयाँ प्रयोग पस्कन्छ।
एउटै सिलसिला दोहोरिरहँदा भने नाटक लामो लाग्छ । अधिकांश समय दिवस र कलिनाको भेट सिक रुम, अस्पतालमा भइरहेको हुन्छ । किशोरदेखि युवा अवस्थाका उही एकैनासका घटनाले नाटक लम्बेतान बनाइदिएको छ । दोहोरिइरहने केही दृश्य हटाइएको भए, 'सिक रुम' को कथा रोचक र प्रयोग झनै सटिक हुने थियो ।
यो नाटकमार्फत निर्देशक कार्कीले दुई सशक्त प्रतिभालाई चिनाइदिएकी छन् । अभिषेक खड्काले दिवसको उट्पट्याङ स्वभाव, जिज्ञासा र कोमल स्वभावलाई मञ्चमा उभ्याउँदै अभिनयको दुनियाँमा आफ्ना लागि फराकिलो स्थान बनाउन सफल छन् । त्यस्तै, नुरु खनालले पनि कलिनामार्फत आफूलाई चिनाएकी छन् । सुदाम र आकांक्षाको परिपक्व अभिनयको साक्षी बन्न भने, 'सिक रुम' नै हेर्नुस् ।
नाटकमा संवादको प्रयोग निकै सिपालु ढंगले प्रयोग गरिएको छ । कलिना र दिवस बारम्बार अंग्रेजी शब्द मिसाएर बोलिरहेका हुन्छन् । यसको अर्थ नाटक अंग्रेजी भाषामा छ भन्ने होइन । तर, नाटकले जुन वर्गको कथा बोकेको छ त्यही अनुरूपको भाषा पक्रेको छ । कलाकार समय र परिस्थिति सुहाउँदो तरिकाले नेपाली र अंग्रेजी भाषामा बोल्छन् । किशोर, किशोरीले बोल्ने केही 'स्ल्याङ' को प्रयोगले दर्शक हँसाइरहन्छ ।
त्यस्तै, सेट डिजाइनले घनश्याम श्रेष्ठको कला झल्काएको छ । नाटकमा प्रयोग सेटमा अन्तहीन चित्रकलाको प्रयोग छ । सिधा रेखाहरूको यो रेखांकन अंकित कलाको अन्त देखिन्न । यसले कलिना र दिवसको अन्तहीन दुखाई र सम्बन्ध बोलिदिन्छ । उनीहरूको सम्बन्धले कहिल्यै गन्तव्य भेट्दैन । मसिना प्रप्सहरुले कहिले मञ्च अस्पतालजस्तो देखाएको छ त कहिले उनीहरूका व्यक्तिगत कोठाजस्तो !
खासमा 'सिक रुम'ले एउटा यस्तो सुरक्षित स्थान(सेफ स्पेस)को कुरा गर्छ, जहाँ पीडा सुनाउन सकिन्छ । दुखाईहरूमा खुलेर रुन सकिन्छ । जहाँ दुखाई र पीडा सुनिदिने कोही नजिक भइदिन्छन् । कलिना र दिवसका लागि एक अर्का नै त्यो सुरक्षित ठाउँ हो । उनीहरू जब-जब पीडामा पर्छन्, वर्षौंपछि पनि एक अर्काको आमुन्नेसामुन्ने देखा पर्छन् । बारम्बार एक अर्कालाई सोध्छन्,'दुख्छ ?' सायद, पीडा सुनिदिनेकै उपस्थिति पनि चोट निको हुने मल्हम हो ।
अब सोचौँ, के तपाईँको जीवनमा त्यस्तो कुनै 'सिक रुम' छ ? जहाँ दुखेका घाउ र रक्ताम्मे चोट देखाउन सकिन्छ ?
