‘फर्की फर्की’ र अनमोलविरुद्ध मुद्दा दर्ता गर्दै नरेन्द्रबहादुर श्रेष्ठले भने- मेरो नम्बर दुरुपयोग भयो

असार ९, २०८२

कान्तिपुर संवाददाता

Narendra Bahadur Shrestha, while registering a case against 'Farki Farki' and Anmol, said - My number was misused

काठमाडौँ — अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध आफ्नो मोबाइल  नम्बर दुरुपयोग गरेको भन्दै कलाकार तथा साहित्यकार नरेन्द्र बहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

आफूले पटक पटक उक्त नम्बर फिल्मबाट हटाउन आग्रह गर्दा पनि नहटाएपछि मुद्दा दायर गरेको श्रेष्ठले बताए। ‘०८१ जेठमा फिल्म फर्की फर्की रिलिज भयो । फिल्ममा अभिनेता अनमोल केसीले अभिनेत्रीलाई आफ्नो भनेर दिएको नम्बर मेरो रहेछ। फिल्म हेर्नेहरूले १३ महिनादेखि मलाई अनमोल केसीको नम्बर भनेर लगातार कल गरेर दु:ख दिइरहेका छन्,’ श्रेष्ठले भने ।

उनले आफू केही महिनायता यही कारण तनाबमा गएको गुनासो गरे । श्रेष्ठले अभिनेता केसीसहित फिल्मका निर्देशक सुयोग गुरुङ, सेन्सर बोर्ड, निर्माता रोहित अधकारी लगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । 

‘अहिले १५ दिनदेखि प्रोमोमा पनि त्यही नम्बर छ । अब यो नम्बर संसारभरि फैलियो । मिनेट मिनेटमा फोन आइरहेको छ । म ७८ वर्षको मान्छे यो अनावश्यक तनाबमा छु । यो त क्राइम नै हो,’ उनले भने ।

आफूले भुवन केसी र फिल्म निर्माण टिमलाई यसबारे पटक पटक जानकारी गराउँदा पनि कुनै कारबाही नभएको गुनासो गरे ।

‘मैले भुवन केसीलाई उनी बोर्ड अध्यक्ष हुँदा भनेँ । उनले यसमा म संलग्न छैन भनेर टारे । सेन्सर बोर्डलाई पनि भनेँ । सुनुवाइ भएन । मैले यो सुरुदेखि नै लिएको नम्बर हो । बदल्ल पनि मिल्दैन । यो कुरामा फर्कीफर्की टिम संवेदनशील हुनुपर्ने हो । मेरो त मानहानी भयो नि । सार्वजनिकम जीवनमा असर पर्यो,’ उनले गुनासो गरे । 

श्रेष्ठले आवश्यक कारबाही र क्षतिपूर्तिसमेत माग गरेका छन् ।  

कान्तिपुर

Link copied successfully