काठमाडौँ — 'तिमी पो हाम्रो बाटोतिर आयौ त', एकदिन बगिरहेको डल्ले खोला टक्क अडिएर बोल्छ । शान्त रुपले एकनास बगिरहेको डल्ले खोलालाई जब गाउँलेले विपत्तिका सबै दोष लगाउँछ, तब खोला गाउँलेसँग नबोली बग्न सक्दैन । हो, डल्ले खोला बोल्न सक्छ, आफूलाई दुखेको कुरा सुनाउन सक्छ ।
डल्ले खोलालाई निरन्तर आफ्नै बाटोमा बगिरहनु छ । कुलोमा बगेर सुख्खा जमिनलाई सिंचित गर्नुछ, अन्न फलाउनु छ अनि फलफूलको केस्राहरुमा भरिनुछ । तर गाउँलेलाई लाग्छ, डल्ले खोला बाटोको तगारो हो, यही खोलाले कति मानवजीवनलाई निलिदियो । तर, के वास्तवमै डल्ले खोला मानव जीवनको भोक खानुमा रमाउँछ ? खासमा डल्ले खोलाको बाटोमा गाउँले आइदिएको हो कि गाउँमा डल्ले खोला ?
शिल्पी थिएटरमा मञ्चनरत नाटक 'डल्ले खोला'ले प्रकृति र मानवबीचको जटिल सम्बन्ध प्रस्तुत गर्दै प्राकृतिक विपत्तिले ल्याउने जोखिमतामाथि सचेत हुन, मानवीय स्वभावप्रति संवेदनशील बन्न लगाउँछ । खोलालाई बोल्न लगाउँदै यो नाटकले प्रकृतिको पीडा, सहँदै आएको मानवीय दोहन र गतिविधि छर्लङ्ग पारिदिन्छ । साथै, प्रकृति र मानवबीचको सुन्दर सम्बन्ध पस्कँदै यो नाटकले भ्रष्ट स्वभाव, सुस्त कर्मचारीतन्त्र, स्रोत र शक्तिमा पहुँच हुनेले गर्दै आइरहेको बेइमानी देखाइदिन्छ । रंगकर्मी वेदना राईको परिकल्पना तथा निर्देशनमा तयार यो नाटक कथाकार परशु प्रधानको कथा 'डल्ले खोला'को नाट्य रुपान्तरण हो । एक थिएटर नेपालको प्रस्तुतिमा तयार यो नाटकको कथा विगतकै भए पनि यसले वर्तमान चिहाउँछ ।
नाटकको कथा, डल्ले खोलामा बस्ने गाउँको कथा हो । खासमा गाउँमा जमिन भिजाउने पानी चाहिएको छ । तर, त्यहाँ उचित सिंचाइ योजना पुग्न सकेको छैन । डल्ले खोलामै पनि पुलको आवश्यकता छ । पानीको बहाव बढ्दा खोला तर्न मुस्किल पर्छ । अनि बर्सेनि डल्ले खोलामा जीवनहरु डुबी सिद्धिन्छ । त्यसैले डल्ले खोला छेवको गाउँमा बस्ने गाउँलाई पुल र सिंचाइको आवश्यकता छ । यही अभाव महसुस गर्दै क्याप्टेन रनबहादुर चाम्लिङ सरकारसँग पुल निर्माणका लागि बजेट माग्न पुग्छ । त्यसैगरी कुलो निर्माण भन्दै शिवबहादुर पनि बजेट माग्न पुग्छ । सोझा, निर्दोष जनताले उनीहरुका योजनामा साथ दिन्छन् । तर, के शिव र रनबहादुरले डल्ले खोला छेउ बस्ने ती गाउँलेका आवश्यकता परिपूर्ति गर्लान् ? 'डल्ले खोला'को कथा यही विषय वरपर घुमेको छ ।
नाटकको कथा गाउँलेकै मात्रै होइन, बगिरहने डल्ले खोलाको हो । डल्ले खोलाको जीवन र भोगाईको कथा हो । डल्ले खोलासँग जोडिएको जीवन, संस्कृति र सम्बन्धहरुको मिठास यसमा समेटिएको छ । कुलो र पुलको आवश्यकतामार्फत नाटकमा कर्मचारीतन्त्रको ढिलासुस्तीलाई व्यंग्य गरिएको छ । जब-जब शिव र रनबहादुर बजेट माग्न वडा कार्यलय पुग्छ, कार्यालयका कर्मचारीको सुस्त गति देखाउन प्रयोग दृश्य शक्तिशाली छ । बजेट माग्न पुग्नेहरु चर्को आवाजमा बोल्छन्, उनीहरु विकासका लागि हतारिन्छन् ।
पुग्दो बजेटको पर्खाईमा देखिन्छन्, त्यसैले सरकारी कार्यालयको आँगनमा घण्टौं उभिरहन सक्छन् । तर, त्यहाँका कर्मचारीहरु उनीहरुको गतिभन्दा ठीक उल्टो देखिन्छन् । उनीहरु हिँड्दा पनि चिप्लेकिरा भन्दा सुस्त गतिमा हिँड्छ । बोल्दा पनि कतिबेला मुखमा झिंगा छिर्ने हो भन्ने शैलीमा बोलिरहेको हुन्छ । शरीर हलचल गर्नसमेत उनीहरुलाई गाह्रो परिरहेको हुन्छ । बजेट माग्न आइपुग्नेहरुलाई उनीहरु एउटै आश्वासन दिइरहेका हुन्छन् । कार्यालय सहयोगीलाई समेत त्यो आश्वासन कण्ठै हुन्छ । गाउँलेले बजेट माग्दा उनी नै हाकिमको मुखपत्र भइदिन्छन् । बजेट माग्न आउनेहरुसँग उनी नै अधिकतम समय बोलिरहेका हुन्छन् । तर, ती सुस्त कर्मचारी कतिबेला जुर्मुराउँछ त ? भन्ने हेर्न भने 'डल्ले खोला' नै हेर्नुपर्ने हुन्छ ।
यस किसिमको कर्मचारीतन्त्रसहित यो नाटकले शक्तिमा पहुँच हुनेहरुले गरिब, निमुखा र सोझा जनतालाई प्रलोभनमा पारेर कसरी आफ्नो स्वार्थ पूरा गरिरहेको छ भन्ने पनि देखाउँछ । रनबहादुर र शिवजस्ता चरित्रमार्फत नेतृत्वमा पुगेकाले कसरी स्रोतको दुरुपयोग गर्दै आइरहेको छ भन्ने देखाउँदै नेपाली समाजको नेतृत्वमाथि प्रश्न गर्छ ।
नाटकमा खोलाकै दृश्य पनि निकै दमदार छ । एक हुल कलाकारको टोली निलो पहिरनमा कहिले स्टेजको दायाँतिरबाट बायाँतिर दगुर्छन् त कहिले माझतिर टक्क अडिन्छन् । उनीहरु सँगसँगै उभिन्छन्, उस्तै किसिमको हाउभाउ गर्छन् । उनीहरुको हाउभाउबाटै प्रस्ट हुन्छ कि, यो समूह डल्ले खोलाको प्रतिनिधि हो । उनीहरु खोलाको तालमै बगिहिँड्छन्, हावाहुरी अनि बताससँगै चलमलाइरहन्छन् । कहिले बाढीको स्वरुपमा देखापर्छन् त कहिले शान्त बगिरहनेको खोलाको रुप बदल्छन् । उनीहरु गीतहरुमार्फत आफ्नो पीडा सुनाउँछन्, बोलेरै आफ्ना कष्टकर अवस्था सुनाइदिन्छन् । डल्ले खोला कतै खुशीले फुरुङ्ग हुँदै नाच्छ त कहिले दुखी हुँदै आँशु बहाउँछ । खोला बन्ने कलाकारको समूहले हाउभाउहरुमार्फत त्यो बहाव, लहर र प्रकृतिको चरम पीडालाई अभिनयमार्फत मञ्चमा उभ्याइदिएका छन् ।
बर्खा लागेसँगै प्राकृतिक विपत्तिले पुर्याएको धनजनको क्षतिका खबरसामु नाटक 'डल्ले खोला' मिल्दो देखिन्छ । अहिले फेरि खोला बाटोहुँदो बग्न थालेको छ । प्रकृतिको यो विभत्स स्वरुपसँग मानव जीवनको संघर्ष सुरु भइसक्यो । त्यसअर्थमा परशुरामद्वारा लिखित कथा वर्तमान परिस्थिति, प्रकृति र मानव संघर्षनजिक छ । निर्देशक राईले पुर्वेली संस्कृति, संगीत र जनजीवनमार्फत 'डल्ले खोला'ले उठाएको यो विषयमाथि फेरि बहस सिर्जना गरिदिएको छ । नाटकको संगीत मिठो छ । प्रकाशमा मिहिनेत देखिन्छ । तर, युवा कलाकारको समूहले अभिनय गरेको यो नाटकमा केही दृश्यमा संगीत र संवादको संयोजन मिलेको देखिँदैन ।
मधुर आवाजमा कलाकारले बोलिदिँदा संगीतको आवाज चर्को सुनिन्छ । कलाकार हिँड्दा, उफ्रँदा हल्लिरहने शिल्पीको दर्शकदीर्घा स्थिर खडा भइदिएको भए, बेलाबखत नाटकबाट ध्यान भड्किन्न थियो !
