काठमाडौँ — फिल्ममा जब पात्र प्रमुख समस्यामा पर्छन्, तब त्यसबाट उम्कन उसले अनेक उपाय खोज्छ । भेटिएको उपायतर्फ अगाडि बढ्दै जाँदा झनै समस्या थपिँदै जान्छ ।
एकपछि अर्को थुप्रिँदै गएको समस्याको समाधानका विभिन्न बाटोहरु खोज्न सुरु गर्छ, पात्र । कथा वाचनको यही शैलीले दर्शकको ध्यान फिल्ममा तानिरहन्छ । पात्रले सामना गर्ने द्वन्द्वले कथा अगाडि बढाउँदै लैजान्छ । तर, जब पात्रले यस्ता समस्याबाट सहजै बाहिर निस्कन खोज्छ, तब कथाले बाटो बिराउँछ । अनि दर्शकको ध्यान अन्तै मोडिन्छ । दिनेश राउत निर्देशित 'महाभोज'मा भएको यही हो ।
सहकारी पीडितको समस्यालाई केन्द्रमा राखिएको यो फिल्ममा पात्रले समस्या समाधानको सहज बाटो समाउँदा कथाको लय बिग्रिएको छ । जस्तै, मध्यान्तरअघिसम्म फिल्म यथार्थवादी शैलीमा अगाडि बढ्छ । तर, जब पात्रले समस्या समाधानको बाटो पहिल्याउन थाल्छ तब त्यहाँ कथाको तरङ्ग हराउँदै जान्छ । थपिने अन्य उपकथा पनि विश्वासिलो लाग्दैन ।
पात्रलाई समस्याबाट बाहिर निकाल्न क्रान्तिलाई त्यसै जोडिदिएको छ । समस्याबाट उम्किन अचानक पात्रहरु क्रान्तिकारी बाटोमा लाग्छन्, जसलाई विश्वासिलो ढंगले स्थापना गरिएको छैन । सहकारी समस्यामा देखिएको समस्यालाई हल गर्न पात्रले समाएको यो क्रान्ति निकै अपत्यारिलो देखिन्छ । जस्तै नमुना श्री बहुउदेश्यीय सहकारी संस्थाका संचालक सुर्यप्रसाद कोइराला(आर्यन सिग्देल)ले त्यहीँको पैसा दुरुपयोग गर्दै चुनाव जित्छन्, गाउँपालिका अध्यक्ष बन्छन् ।
सहकारीको नवनियुक्त अध्यक्ष चन्द्रकाजी(दयाहाङ)लाई तब मात्र यो सत्यले पोल्न थाल्छ, जब उनकै नामबाट सबै पैसा सहकारीबाट निकालिएको थाहा हुन्छ । विस्तारै गाउँलेलाई बचत रकमको आवश्यकता पर्न थाल्छ । यस्तैमा एकदिन विश्व(खगेन्द्र लामिछाने) पत्नी (अञ्जना बराइली)सँगै बचत रकम निकाल्न शहरबाट गाउँ पुग्छन् । त्यतिकैमा उनीहरुलाई थाहा हुन्छ, सहकारी रित्तो छ ।
अध्यक्ष सुर्यप्रसादले सहकारीको सबै पैसा दुरुपयोग गरेका छन् । अब चन्द्रकाजी, विश्वले नमुना श्री बहुउदेश्यीय सहकारीका कारण आफूहरुले भोगेको समस्याको समाधान खोज्न थाल्छ । तर, पात्रले उक्त समस्याबाट निस्किन खासै संघर्ष गर्नै पर्दैन । प्रमुख पात्रले आफ्नो उदेश्य पूरा गर्न कुनै संघर्ष नै गर्नु परेन भने के हुन्छ ? त्यो पात्रप्रति समानूभुती र सहानूभुती हुन्न ।
सहकारी समस्यालाई मूल विषय बनाउँदै यो मुद्दाको गहिराईलाई बहसमा ल्याउनु, 'महाभोज'ले चालेको बलियो कदम हो । व्यवसायिक फिल्म बनाइरहेका निर्देशक दिनेशको आँखा नेपाली समाजमा रहेका यस्ता समस्यामाथि पुग्नु सकरात्मक पाटो हो ।
हजारौं बचतकर्ताले भोग्दै आएको यस किसिमको गम्भीर विषय मूलधारे फिल्ममार्फत उठाउनु फिल्मको सबल पाटो हो । खासमा मूलधारे फिल्ममा यस किसिमको मुद्दा कमै उठाइन्छ । यस्तो कथामा जोखिम मोल्ने थोरै हुन्छन् । तर, महाभोजले यो जोखिम उठाउँदै भूइँमान्छेको पीडालाई फिल्ममार्फत प्रस्तुत गर्नुका साथै सम्बन्धित निकायको ध्यान तान्ने कोसिस गरेको छ ।
सहकारी वृत्तमा देखिएको यस्तो मुद्दामा फिल्म बनाइरहँदा निर्देशक राउतले कथालाई भूइँमान्छेको दृष्टिकोणमार्फत भनिदिएको भए, फिल्मले सिर्जना गर्ने बहसको स्वरुप बृहत्तर बन्ने थियो ।
खासमा सहकारी समस्या यो फिल्मको केन्द्रिय मुद्दा हो । तर, यो विषय उठाउँदै गर्दा फिल्मले सत्ता र शक्तिमा हुनेहरुले गर्ने दमनलाई प्रस्तुत गरेको छ । मार्क्सवादी दृष्टिकोणले हेर्ने हो भने शक्तिमा भएकाले सँधै कमजोर वर्गलाई दबाउने गर्छ । यो फिल्ममा पनि सत्तामा भएका अध्यक्ष सुर्यप्रसादले चन्द्र मात्रै होइन, आफूभन्दा कमजोर गाउँलेमाथि दमन गरेको छ ।
सूर्यप्रसाद विदेशबाट फर्किए, त्यताबाट ल्याएको पुँजीले सहकारी खोले । त्यही सहकारीमार्फत सुर्यले 'हुँदा खाने' वर्गमाथि शोषण गरेको देखाइएको छ । शक्ति र सत्ताको आडमा पुग्नेहरुले शक्तिहिन, आवाजविहिनलाई कसरी दबाउन खोज्छ ? फिल्मले व्यंग्य गर्छ ।
गरिबको लासमाथि टेकेर कसरी नेपाली समाजमै पनि शक्तिशालीले गरिब, निमुखा जनतालाई पीडामा पारिदिएको छ भन्ने गजब्बको उदाहरण हो, सहकारी समस्या । पानीपुरी बेच्ने, फोहोर व्यवस्थापन गर्ने अनि सौचालय सफा गर्ने जस्ता काम गरेर गरिब सर्वसाधरणले सहकारीमा आफ्नो जीवनको सबै आयआर्जन राखे । उनीहरुले वास्तवमा आफ्नो जीवनभरको कमाई मात्रै होइन, जीवन नै सहकारीलाई दिए । तर, त्यही शक्तिमा भएका, सक्रिय राजनीतिमा भएका अनुहारहरुले नै उनीहरुका बचत अपचलन गरिदिए ।
अर्बौं बचतमाथि मोज गरेका कति राजनीतिज्ञलाई कठघरामा उभ्याउन सकिरहेको छैन । कतिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । दैनिकी चलाउनकै लागि बचत रकम फिर्ता पाउने आशमा भएका बचतकर्ता न्यायको पर्खाईमा देखिन्छन् । उनीहरु आफूले बचत गरेको आफ्नै पैसाका लागि सडकमा छन्, आँशुको धारा बगाइरहेछन् । तर, शक्तिशालीले अझै पनि यो मुद्दालाई दबाउने कोसिस गरिरहेको छ ।
बचत रकम हिनामिना गर्ने केही त पक्राउ पनि परे । तर, उनीहरु पक्रँदैमा के खाई नखाई बचत गरेका सर्वसाधरणले आफ्नो पैसा फिर्ता पाए त ? यहाँ शक्तिहिनले न्याय पाउने कसरी ? सहकारी बन्द भएदेखि ती सर्वसाधरण भोगेको मानशिक तनावको हिसाब खोइ ? ब्याजको त कुरा छाडौं, जम्मा गरेको रकम नै उनीहरुले कहिले पाउने ? फिल्मले यस्ता महत्त्वपूर्ण प्रश्न उठाइदिएको छ ।
महिला चरित्र चित्रणका सवालमा भने 'महाभोज' निकै कमजोर देखिन्छ । खासमा यो फिल्ममा अधिकांश महिला चर्को बोल्ने, उनीहरुको बोलीमा लगाम नभएको देखाइएको छ । जस्तै, अधिकांश दृश्यमा विश्वले पत्नीको मुखमा लगाम लगाउन खोज्दै, 'भोल्युम सानो' भनिरहन्छन् ।
फिल्ममा उनकी पत्नी मात्रै होइन, अन्य महिलाका हकमा पनि यस्तै चित्रण देखिन्छ । हरेक पटक 'भोल्युम सानो' भन्ने संवादमार्फत दर्शक हसाइरहन खोज्दा, त्यसले महिला अनावश्यक विषयमा बोलिरहन्छन् भन्ने चित्रण गर्न खोजिएको छ । यी दृश्यमा उनीहरुले अभिव्यक्त गर्ने विचारमै पुरुष नियन्त्रण देखिन्छ । सहकारी समस्याजस्तो संवेदनशिल मुद्दा उठाइरहँदा महिलाका विषयमा पनि सजक भइदिएको भए 'महाभोज'को चरित्र चित्रण अझै मजबुत बन्ने थियो ।
