डकुमेन्ट्रीमेकर सारा मनीको 'मास्टरक्लास'

असार ४, २०८२

कान्तिपुर संवाददाता

Documentary Maker Sarah Money's 'Masterclass'

काठमाडौँ — प्रतिष्ठित अफगानी-बेलायती डकुमेन्ट्रीमेकर सारा मनीले अस्कर इन्टरनेस्नल कलेजका फिल्म विद्यार्थीलाई 'मास्टरक्लास' दिएकी छन् । धौलागिरी फिल्म्सको सहयोगमा आयोजना भएको यो मास्टरक्लासमा साराले अफगानिस्तानका महिलामाथि बनाएको डकुमेन्ट्रीमाथि आफ्नो अनुभव, डकुमेन्ट्री निर्माणका अप्ठ्यारादेखि महिला भएकै कारण आफूले फिल्म निर्माणमा सहँदै आएको दु:खमाथि अनुभूति सुनाइन् । 

सन् २०१८ मा बनाएको 'अ थाउजेन्ड गर्ल्स लाइक मी'शीर्षकको डकुमेन्ट्री देखाउँदै साराले अफगानिस्तानमा बलात्कारमा परेका महिलाले भोग्दै आएको संघर्ष र त्यस किसिमका कथा उधिन्न फिल्मकर्मीका हिसाबले गरेको विभिन्न डकुमेन्ट्री निर्माणका पक्षमा रहेर विद्यार्थीबीच अनुभव सुनाइन् ।

यो डकुमेन्ट्रीमा आफ्नै बुवाबाट बलात्कार भएकी खतेरा नामकी महिलाले न्यायका लागि चालेको साहसिक कदम, आफन्तबाट भाग्दै बाँच्नुपरेको जीवनमाथि आधारित छ । 'कुनै पनि समाज पूर्ण छैन । सबै समाजमा कुनै न कुनै समस्या हुन्छन् । फिल्मकर्मीका हिसाबले ती समस्या हामीले देख्न सक्नुपर्छ र त्यसको समाधानको बाटो पनि खोज्नुपर्छ,'साराले विद्यार्थीलाई भनिन् । खासमा सारा पहिला काबुलको एउटा भवनमाथि डकुमेन्ट्री बनाउने योजनामा थिइन् । तर, एकदिन राष्ट्रिय टेलिभिजनबाट एक अफगानी महिलाले आफूमाथि भएको बलात्कारबारे कसैले सहयोग नगरेको भन्दै बोलेको भिडियो उनले देखिन् । त्यसपछि सहयोगका लागि उक्त पात्रसामू पुग्दा साराले 'अ थाउजेन्ड गर्ल्स लाइक मी' निर्माण गरिन् ।

यो डकुमेन्ट्री बनाउन उनलाई ३ वर्ष लागेको रहेछ । यो डकुमेन्ट्रीमा साराले बलात्कारजस्तो जघन्य अपराधमा अफगानिस्तानको न्यायलयले कसरी काम गरिरहेको छ ? उत्पीडित महिलाले न्यायका लागि गरेको संघर्ष देखाउँदै त्यहाँको समाज देखाउन खोजेकी छन् । साराको 'मास्टरक्लास'मा अस्करका विद्यार्थीसँगै केही फिल्मकर्मी पनि सहभागी थिए ।  

कान्तिपुर

Link copied successfully