कविता र क्यारिकेचरमा रमाइरहेका श्रीकृष्ण शिम्खडा

असार १, २०८२

कान्तिपुर संवाददाता

Srikrishna Shimkhada who indulges in poetry and caricature

काठमाडौँ — कवितामार्फत् सत्तामाथि व्यंग्य गर्ने कवि/कलाकार हुन् श्रीकृष्ण शिम्खडा । विभिन्न व्यक्तिहरूको आवाजलाई क्यारिकेचर गर्न सक्ने कौशलका कारण पनि उनी परिचित छन् । 

पछिल्लो समय पर्दामा खासै नदेखिएका यी कलाकार अचेल के गर्दैछन् भन्ने जिज्ञासा उनलाई चिन्नेहरूलाई लागिरहेको हुन सक्छ । ‘आजकल म स्कुल र कलेजमा व्यंग्य कविता सुनाउँदै हिँड्छु,’ उनले भनेका छन्, ‘विद्यार्थीहरूसँग भेट गर्छु । उनीहरूसँगको अन्तर्क्रियामा रमाउँछु ।’

कहिलेकाहीँ त उनलाई आफ्नै कवितामाथि सन्देह जाग्ने गर्छ । सोच्ने गर्छन्, ‘मैले लेखिरहेका कविता, कविता हुन् त ?’ तर स्रोताहरूले तारिफ गरेपछि फुरुङ्ग हुने गर्छन् । नयाँ पुस्ताहरूसँग भेट हुँदा नवीन ऊर्जा थपिने बताउँछन् । उनी भन्छन्, ‘उनीहरू छिट्टै कुरा बुझ्छन् । कविताको भावलाई चाँडै ग्रहण गर्छन् ।’

कविता त उनले प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहको हलहरूमा पनि सुनाएका छन् । तर त्यहाँ सुन्ने फुर्सद पो कसलाई र ? श्रीकृष्ण कुनै शनिबार डाँडामा घुम्न निस्किएका थिए । एउटा स्कुलका ४ जना विद्यार्थी विरुवा रोपिरहेका थिए । ‘तपाईं अस्ति हाम्रो स्कुलमा कविता सुनाउन आउनुभएको हैन ?’ विद्यार्थीहरूले जिज्ञासु भावमा भने । श्रीकृष्ण छक्क परे । विद्यार्थीहरूलाई सोधे, ‘उसोभए मेरो नाम के भन त ?’

‘श्रीकृष्ण शिम्खडा,’ विद्यार्थीहरूले विश्वासका साथ नाम भनेपछि उनी फुरुङ्ग भए । त्यसपछि उनले ती विद्यार्थीहरूलाई केही कविता सुनाए । पछिल्लो समय श्रीकृष्णले आफूले सम्मान थाप्न छाडेको बताउँछन् । कारण खुलाउँदै भन्छन्, ‘मानिसहरू सम्मानका भोका भए । सम्मानभन्दा पनि आत्मसम्मान हुनुपर्‍यो ।’

श्रीकृष्ण कहिले ढुंगाका पहरालाई कविता सुनाउन पुग्छन्, कहिले झरिरहेको झरनाको सामुन्नेमा कविता भन्दै हिँड्छन् । ढुंगेधारामा पानीको संगीत मिसाउँदै कविताको बिम्ब फुकाउँछन् । रूखमा ब्यानर झुन्ड्याएर जंगललाई सुनाउँछन् । किन त ?

उनी पर्यावरणीय चेतनाका कुरा गर्छन् । ‘यो भनेको ढुंगेधारा जस्ता सम्पदा जोगाउनु हो, रूखहरूको महत्व बुझाउनु हो, मानिसहरूलाई प्रकृतिजस्तै बुझ्ने बनाउनु हो,’ उनको तर्क छ ।

यसरी फरक फरक भूगोललाई साक्षी राखेर कविता सुनाउँदै हिँड्दा श्रीकृष्णलाई लाग्ने गर्छ, ‘खासमा हामीले जसलाई कविता सुनाउनु पर्थ्यो, त्यहीँ चुकेका रहेछौँ ।’ यसरी हिँड्दा कतिले श्रीकृष्णलाई अनौठो नजरले पनि हेरे । तर उनी आफ्नो सोचमा स्पष्ट छन् । ‘कहिलेकाहीँ जति सुनाए पनि नबुझ्ने मान्छेहरूलाई कविता सुनाउँदा खेर जान्छ । म खेर नजाओस् भनेर यस्तो गर्छु, कतिलाई अचम्म लाग्छ,’ उनी भन्छन् ।

श्रीकृष्णले कहिल्यै राजनीतिज्ञहरूको मात्र क्यारिकेचर गरेनन् । फरक फरक क्षेत्रका व्यक्तित्वहरूको पनि गर्थे । जस्तै दाहाल यज्ञनिधि, दुर्गानाथ शर्मा, प्रवीण गिरी । नेताहरूमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवाहरूको धेरैपटक क्यारिकेचर गरेका छन् । एक पटक शेरबहादुरको क्यारिकेचर गर्दा उनी (शेरबहादुर) ले आफ्नो निवासमा नै बोलाएको बताउँछन् श्रीकृष्ण ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको रोचक प्रसंग पनि उनी सुनाउँछन्, ‘एउटा कार्यक्रममा मैले उहाँको क्यारिकेचर गरेको थिएँ । त्यसपछि उहाँले भन्नुभयो— मैले बोल्नेजति कुरा सबै शिम्खडा जीले बोलिसक्नुभयो । म के बोलूँ ?’

उनको क्यारिकेचर यात्राले मूर्त रूप २०४६ सालपछि पाएको हो । त्यसअघि उनी बेला–बेला कृष्णप्रसाद भट्टराईको क्यारिकेचर साथीभाइहरू माझ गर्थे । २०४६ पछि भने विभिन्न नेताहरूसँगै तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रको पनि क्यारिकेचर गरे । विभिन्न सडक नाटक र रेडियो नाटक हुँदै उनले आफ्नो यात्रालाई अगाडि बढाएका छन् ।

श्रीकृष्ण बेला–बेला नवीन अभियानहरू पनि चलाइरहेका हुन्छन् । एकपटक उनले सडकमा ‘जुत्ता पालिस अभियान’ चलाए । बुझाउनु थियो रे, ‘जुत्ता पालिस गर्नेहरूलाई सधैं भुईँमा नराख ।’ उनी रिङरोड सफा गर्न पनि निस्किए ।

कहिलेकाहीँ त उनी रिङरोडमा कुचो लगाइरहेको समेत भेटिन्थे । ‘मलाई केही गरिरहुँ भन्ने हुटहुटी छ,’ उनी भन्छन्, ‘तर पोलिटिक्सबाहेक ।’ एक्लै अभियानहरूमा रमाइरहने श्रीकृष्णको यो बाल्यकालदेखिकै स्वभाव रहेछ । बाल्यकालमा बारीको मकै हेर्न बा–आमाले अह्राउँथे । उनी मकै हेर्न छाडेर पौडी खेल्न निस्कन्थे ।

बारीमा आइपुग्दासम्म मकै बाँदरको सिकार भइसकेका हुन्थे । त्यसपछि त उनी बा–आमाको गाली खाइने डरले टाप कस्ने गर्थे । ‘त्यसरी भागेर कहाँ–कहाँ पुग्थेँ । कहिले कतै भाँडा माझिरहेको भेटिन्थेँ, कहिले ट्रकको हुटमा सुतेर यात्रा गरिरहेको हुन्थेँ,’ उनी भन्छन् । कहिले कसैको बारीमा मल बोकिरहेको हुन्थे । कहिले चर्खा चलाएर थोरै रकम जम्मा गर्थे । कपडा मैलो भइसकेपछि बागमतीको तीरमा ढुंगाले घोटेर धुन्थे । अनि सुकाएपछि त्यही लगाएर हिँड्थे ।

१६ वर्ष लाग्दै गर्दा उनी पोर्टर भएर हिमालका बाटाहरू उक्लेका थिए । औंलामा पारेको हिउँको असरले उनलाई १५ वर्षसम्म पछ्याइरह्यो । ‘तर यदि मैले यी सबै काम नगरेको भए आज कलाकार हुन्न थिएँ होला,’ उनी भन्छन् । निकै समयपछि घर पुग्दा उनी आमाको खुट्टा ढोग्थे । आमा भन्थिन्, ‘यसले खेतीपाती कहिल्यै गर्दैन । यो आउँदा एक गाँस दूधभात पेटभरि खुवाउनु ।’

बाल्यकालमा उनले गरेका यात्रा र अनुभूतिले उनको कलाकर्ममा असर पारेको देखिन्छ । अहिले श्रीकृष्ण आफ्ना गीत र कवितालाई विरुवासँग जोड्ने अभियानमा छन् ।

‘जसरी एउटा विरुवामा फल लाग्छ, त्यसैगरी मेरो कला, साहित्य, संगीत पनि फक्रियोस् भनेर क्याम्पसहरूमा गएर फलफूलको विरुवा रोपेँ,’ उनी सुनाउँछन्, ‘र मलाई यिनै सिर्जनशील कामहरूमा रमाइरहन मन छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully