सुदूरपश्चिमको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

असार १, २०८२

अर्जुन शाह

Emphasis on promoting the arts, culture and tourism of the Far West

धनगढी — धनगढीमा आयोजित संवाद कार्यक्रममार्फत चलचित्रकर्मीहरूले सुदूरपश्चिम चलचित्रका लागि कथावस्तु र छायांकनका लागि उर्वर क्षेत्र भएको औँल्याएका छन् । चलचित्रका माध्यमबाट स्थानीय कला, संस्कृतिको उजागर गर्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि चलचित्र क्षेत्रले योगदान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

विभिन्न शीर्षकमा केन्द्रित रहेर गरिएको विषयगत संवाद कार्यक्रममा सिनेकर्मीहरूले सुदूरपश्चिम चलचित्रका लागि कथावस्तु र छायांकनको दृष्टिले सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरेका थिए । सुदूरपश्चिमका कला–संस्कृतिलाई समेटेर चलचित्र निर्माण हुनुपर्ने, यहाँका पर्यटकीय स्थलहरूलाई सिनेमामार्फत प्रचार–प्रसार गर्नुपर्ने विषयमा उनीहरूले जोड दिएका थिए ।

चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, स्थानीय पर्यटन, बजारका चुनौती र सिनेमा–समाजको सम्बन्धबारे छलफल गरिएको थियो । विभिन्न सत्रमा सञ्चालन गरिएको संवाद कार्यक्रमको पहिलो सत्र ‘नेपाली सिनेमामा नवीन पुस्ता, नवीन दृष्टिकोण’ विषयमा केन्द्रित थियो । उक्त सत्रमा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी वक्ताका रूपमा सहभागी थिए । सहभागीहरूले पछिल्लो समय नेपाली चलचित्रमा देखा परेका नयाँ पुस्ताको अवसर, चुनौती र बदलिंदो प्रविधिको प्रभावबारे विमर्श गरेका थिए ।

दोस्रो सत्र ‘सिनेमामा सुदूरपश्चिम इतिहास र संस्कृति’ विषयमा केन्द्रित थियो । सत्रमा सुदूरपश्चिम क्षेत्रको कला–संस्कृतिका जानकार साहित्यकार हेमन्त विवश, चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्का वक्ताका रूपमा सहभागी थिए । उनीहरूले सुदूरपश्चिमको मौलिक विषयवस्तुमा आधारित भएर यहाँका स्थलहरूमा छायांकन गर्ने गरी नयाँ चलचित्र निर्माण गर्ने घोषणा पनि गरेका थिए ।

तेस्रो सत्र ‘डोटेली भाषा–सिनेमा र संगीत’ विषयमा केन्द्रित थियो । उक्त सत्रमा गीतकार हर्क साउँद, वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी र पत्रकार उमेद बाग्चन वक्ताका रूपमा सहभागी थिए । उनीहरूले देउडा गीत–संगीत र त्यसको मौलिकताका पक्षमा विमर्श गरेका थिए ।

चौथो सत्र ‘सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमाको भूमिका’ विषयमा केन्द्रित थियो । सत्रमा कलाकार सरस्वती खड्का, पहिलो डोटेली चलचित्र ‘गौरी’का निर्माता खड्गबहादुर मल्ल र थारु चलचित्रका अभिनेता प्रेम चौधरी वक्ताका रूपमा सहभागी थिए । उनीहरूले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमाले दिन सक्ने योगदान र नेपाली सिनेमामा समेट्न सकिने पर्यटकीय स्थलहरूबारे चर्चा गरेका थिए ।

दोधारा चाँदनी, अपि हिमाल, साइपाल हिमाल, खप्तड, बडीमालिका लगायत स्थलहरूलाई सिनेमामा समेट्दा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा उनीहरूले जोड दिएका थिए । उक्त संवाद कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल, कैलाली र जेडी एसोसिएट्सले संयुक्त रूपमा शनिबार आयोजना गरेका थिए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully