काठमाडौँ — 'राष्ट्रिय थारू कलाकार मञ्च'ले असार ७ मा काठमाडौंमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागेको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिए ।
'विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला-संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौं,' उनले भने, 'जसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले प्रस्तुति दिनुहुनेछ ।'
अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा मेचीदेखि महाकालीसम्मका ५० भन्दा बढी थारू कलाकारहरूले थारू लोक गीत, मौलिक नाच जस्तै धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्काउने प्रस्तुति दिनेछन् । कार्यक्रमको पहिलो दिन सांस्कृतिक कार्यक्रम र दोस्रो दिन वार्षिक साधारणसभा पनि हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुणकुमार चौधरी कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थिति हुने उनले जनाए ।
कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी पनि हुनेछ । यो कार्यक्रम मनोरञ्जनको माध्यम मात्र नभई थारू पहिचानको संरक्षण र सशक्तीकरणतर्फको सार्थक प्रयास रहेको अध्यक्ष वैद्यले जनाए ।
